टबिनीता छेत्री बिनीता छेत्री बिनीता छेत्री बिनीता छेत्री
“अमृताको छोरा भयो रे” यो खबरले झसङ्ग भएँ म।
हुन चाहिँ अमृता बिनोदसँग भागेको खबरले म यसरी नै तर्सिएकी थिएँ र त्यो मेरो निम्ति नसोचेको घटना थियो त्यतिखेर पनि ।
“हेर त्यसरी अर्काले बोलायो भन्दैमा एक्लै नजाऊ है जाँ पायो तिं ” अलिक झर्केर मैले भने “त्यै त त्यो पनि मधिसे” रुवि दिदीले थपी। तर अँह हाम्रो सुझावले उसलाई अलिकति पनि छोएन। उनी अर्कै दुनियाँको सपना देख्नमा मस्त थिई।
अमृता जाने नै भइ हरियाणा । काम गर्न गएकी भनी घरमा ढाँटेर।
“ट्रु लभ होलाऊ नत्र टिकट काटी-काटी कसले बोलाउँछ अहिलेको जमानामा।”
उसलाई एअरपोर्ट पुराएर फर्किन्दा बाटोमा रुवि दिदीले भनेकी थिई। बिनोद चुपचाप गाडी चलाइरह्यो ।त्यो समय उसको मनको अवस्था उसको अनुहार हेरेरै बताउनु सक्थे म ।एक किसिमको माया पनि लागेर आयो।
“के गर्छौ केटा समयमा मुख खोल्नु सकेनौँ” अचानक मेरो मुखबाट निस्केको वाक्यले आफैलाई खल्लो लाग्यो पछि।
“बिहा गर्दैनस् बुडो भैइस् त अब” एकदिन हामीहरू ग्रुपै बसेर बेनिजमा चिया पिउँदै गर्दा यसरी जिस्काएको थियो आशिष भेनाजुले बिनोदलाई । फोनमा मस्त च्याट गरिरहेकी अमृतापट्टि पुलुक्क हेरिपठाउँदा उसको दुवै कान रातो भएको देखेर मलाई शंका लागेको थियो। त्यसपछि उसको र मेरो आँखाहरू जुध्यो।
नभन्दै घर नपुगी वाट्सएपमा मेसेज देखेँ…
“मेघा साथी, म अमृतालाई पूरा मन पराउँछु तर भन्नु आँट नै आउँदैन प्लिज हेल्प मि ल डियर।”
अर्को बिस्वादको कुरा के भने मलाई थाहा थियो अमृताको कुनै हिन्दी बोल्ने प्रेमी छ भनेर । किनकी उ फोनमा बातै पिछे “हाँ जी,हाँ जी ” गरिबस्थ्यो।
उल्टा र पाल्टी हिन्दी बोल्दै इत्रिएको देख्दा घरी घरी दिक्क मान्थ्यौँ हामी । तर मलाई लाग्थ्यो अमृताले त्यो कुन देशको चिन्नु न जान्न्नुको फेसबुकेलाई भन्दा बिनोदलाई नै माया गर्नु नि।मैले कत्तिपल्ट उससँग नजानिन्दो पाराले कुरा पनि गरे भने एकदिन त बिनोदको नाम नै लिएर जिस्काए।
“छ्या त्यो ड्राइभर ? ह्या…त्यस्तो सस्तो सोंचेको तिमीले मलाई ?” भनिसकेपछि उ खिसी गरेर हाँसेकी देख्दा अल्लमल्ल पर्नु परेको थियो। फेरिफेरि त्यो कुरा मैले उसँग दोहोऱ्याइन । प्रेम चोखो हुनुपर्छ भाग्यले आफै जुराउँछ जस्तो फिलोसफिकल मेसेजहरू सान्त्वनाको स्वरुप बिनोदलाई पठाईरहेँ।
बिनोद, रुवि दिदी, आशिष भिनाज्यू, म र अमृता खुब मिल्थौँ हामी। रुवि दिदी अनि म भिन्नभिन्नै ठाउँमा बसे पनि एउटै सपिङ मलमा काम गर्ने भएकोले हामी मिल्ने साथी थियौँ । अमृता र रुवि दी एउटै बिल्डिङ्को तल्लो तला अनि माथिलो तला बस्थ्यो। रुवि दिदीको श्रीमान आशिष भिनाज्यू बल्क अफिसको बिडियो थियो र बिनोद उनको ड्राभर । सोझो कम्ती बोल्ने तर विश्वासीलो बिनोद अनि आमा सानैमा खसेर सानीमासँग तालमेल नमिलेपछि रुवि दिदीको घर भाडामा बस्ने अमृतासँग मेरो चिनजान पनि रुवि दिदी कै माध्यमबाट भएको।
“अमृताको जिन्दगी पनि घुम्टो मै बित्ने भो ”
एकदिन गम्भीर भएर भनेकी थिई दिदीले ।तर त्यसको ठिक उल्टा भयो।
आँखा वरिपरि कालो घेरा बोकेर निक्कै दुब्लाएर एकमहिनै नभई फर्केर आई छ अमृता। आए देखि एकपटक उसलाई देखेदेखि यता मेरो उसँग भेट भएन।
दिन, हप्ता, महिना गर्दौ समय बित्दै गयो। सबै आफ्नो आफ्नो दैनिक रुटिनमै व्यस्त थियौँ। दसैँको सिजन आज अलिक ढिलो भयो रुम जानू। यसैले दिदीले आज मलाई उनको घरमै बस्ने आग्रह गरिन मैले स्वीकारे।
रातको यस्तै एघार, साढे – एघार तिर हुनुपर्छ कसैले वाकवाक गर्दै उल्टि गरेको अवाजले बिउँझेपछि मेरो निन्द्रा बिथोलियो। तर मलाई थाहा भयो उनी अमृता थिइन। पक्कै पनि यो केटीलाई ग्याँस भएको हुनुपर्छ सोच्दै निदाउने कोसिस गरे तर सकिन।बीचबीचमा गुनगुन गर्दै कुनै लोग्ने मान्छे बोल्दै गरेको जस्तो सुनें। आवाज अस्पष्ट भए पनि कुन्नि किन परिचीत लागीरह्यो मलाई। उज्यालो भइन्जेल कम्तीमा पनि उनले चार पाँचपल्ट उल्टि गरिन् ।
त्यसकै ठिक तीन दिनमा त हो बिनोदले अमृतालाई भगाएको खबर रुवि दिदीले सुनाएको मलाई ।
त्यति खेर म खुसीले तर्सिएको थिएँ बिनोदको अमृताप्रतिको प्रेम सम्झेर। आज भने अचम्मले तर्सेकी छु कारण अमृता हरियाणाबाट फर्किएकी मुस्किलले आठ नौं महिना पुग्दैहोला, त्यही हिसाबले बिनोदले उसलाई भगाएको छ महिना पुग्यो।
म यतिबेला साँच्चै छक्क परिरहेको छु बिनोदको प्रेम, उद्धारता र समर्पणलाई सम्झेर।
लेखक परिचय
दार्जिलिङका बिनीता छेत्री कथा र कविता लेख्नुहुन्छ ।
मार्किक कथा । यथार्थपरक ।