एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । नेपाली लोककथा
त्यसै गाउँमा एउटा तुलसी नाम गरेको अधबैँसे किसान बस्थे ।
उसको परिवारमा उसका बाबुआमा र एउटी स्वास्नी थिई । ऊ आफ्नो स्वास्नीलाई धेरै माया गर्थ्यो ।
भर्खरभखरै गाउँलेहरू आफ्नो खेतीपाती सिध्याएर आराम गर्न लागेका थिए । यस कारण सबैले एक दिन सिकार खेल्न जाने प्रस्ताव राखे । नेपाली लोककथा
तुलसी पनि त्यसमा सामेल थियो । जानुभन्दा पहिले उसले
आफ्नी प्रिय पत्नीसँग भन्यो कि जबसम्म ऊ फर्केर आउँदैन, उसलाई त्यसले पर्खोस् र ऊ (तुलसी) फर्कँदा उसका लागि स्वादिष्ट मासु सिकारबाट लिएर आउने छ ।
यति भनेर गाउँका मानिसहरू बथानबथान गरेर सिकारतर्फ निस्के । अभाग्यवश तिनीहरूले दिनभरि जङ्गलका कुनाकुना घुम्दा पनि सिकार प्राप्त गर्न सकेनन् । एक त बिहान सबेरै भोकै हिँडेका थिए, त्यसमा पनि सिकारको दौडधुपले गर्दा साह्रै नै भोक र थकाइले चुर भएका थिए ।
केही सीप नलागेर उनीहरू थकाइ मेट्नका लागि एउटा वृक्षमुनि बसे । तिनीहरू भोक र थकाइ तथा तृष्णाले गर्दा व्याकुल भई त्यसै बसिरहेका थिए ।
अकस्मात् एउटा अजनबी मानिस त्यहाँ देखा पर्यो । भोकले
आकुलव्याकुल भएकाले तिनीहरूले त्यस अजनबीलाई जबर्जस्ती समातेर मारे र त्यसको मासुले आआफ्नो भोक मेटे, तर तिनीहरूले सल्लाह गरे कि यो कुरा तिनीहरूले कसैसँग पनि भन्ने छैनन् । नेपाली लोककथा
मासु खाँदाखाँदै तुलसीलाई एकाएक आफ्नी प्रिय पत्नीको सम्झना आयो ।
उसले मनमनै सोच्यो- ओहो, ऊ भोकभोकै मेरो बाटो हेरिरहेकी होली ! अनि उसले एक टुक्रा मासु नङको कापमा लुकायो । यो कुरा कसैलाई पनि थाहा दिएन ।
बेलुकीपख सबै जना गाउँतिर फर्किए। तुलसीले आफ्नो घरमा आएर आफूले ल्याएको मासुको टुक्रा आफ्नी स्वास्नीलाई खान दियो र सारा हालवृत्तान्त सुनायो ।
झमक्क रात पर्यो । सारा गाउँलेहरू निद्रामा पौडी खेलिरहेका थिए । त्यस्तै बेलामा तुलसीकी स्वास्नीका आँखामा निद्राको नाम पनि थिएन ।
ऊ मनमनै सोचिरहेकी थिई- ओहो, मानिसको मासु कति मीठो हुँदो रहेछ ! अब फेरि कहिले खान पाइएला ? उसले राम्रोनराम्रोको ख्यालै नगरी सुतिरहेको आफ्नो लोग्ने तुलसीलाई खुकुरीले काटेर मारी उसैको मासु बलिरहेको बत्तीमा झोस्दै खान थाली ।
रातको समयमा पनि बुहारीको कोठामा खत्र्याकखुत्रुक आवाज र बत्ती बलिरहेको देख्दा तुलसीको बाबुलाई आश्चर्य लाग्यो । ऊ सुटुक्क गएर कोठामा ढोकाको प्वालबाट चियाएर हेर्यो ।
भित्रको दृश्य देख्दा ऊ एकदम डरले कराउन थाल्यो । एकैछिनमा मानिसहरू जम्मा भए ।
अब एकाएक तुलसीकी स्वास्नी कोठाबाट बडो वेगले निस्किई र एक दिशातिर दगुर्न थाली । मानिसहरू पनि उसको पछिपछि लागे । अन्त्यमा ऊ जङ्गलमा पुगेर हराई ।
मानिसहरू भन्छन्- त्यस बेलादेखि नै जङ्गलमा भालु पाइन थाल्यो । त्यही स्वास्नीमानिस नै सृष्टिको प्रथम भालु हो । बत्तीमा अझसम्म पनि मासु पोलेको गन्ध आउँछ । संकलन: करुणाकर वैद्य
लेखक परिचय
करुणाकर वैद्य (वि. सं. १९७१-२०४६) नेपाली लोकसाहित्यको क्षेत्रमा एक कुशल अध्येता र सोधकर्ताका रूपमा चिनिन्छन् । उनले पहिलोपटक वि.सं. २०१४ मा मृत्तिका उद्योग नामक पुस्तकका लागि र वि.सं. २०३६ मा संयुक्त रूपमा छविलाल गजुरेलसँग नेपालको परम्परागत प्रविधि नामक पुस्तकका लागि दोस्रोपटक मदन पुरस्कार प्राप्त गरेका छन् । यीबाहेक वैद्यका नेपालको लोककथा सङ्ग्रह, नेपाली दन्त्यकथा सङ्ग्रह, विश्व लोककथा सङ्ग्रह, आञ्चलिक नेपाली लोककथा, विश्व लोककथा संङ्ग्रह आदि कृतिहरू प्रकाशित छन् ।