सन्ध्या आचार्य सन्ध्या आचार्य सन्ध्या आचार्य
“जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता ।
“आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’
म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु ।
“म केही हदसम्म उसको अतितसँग परिचित छु नि त ।’-
भनिरही।
“को हो उ ?”- मैले सोधेको !
“च्याटको मान्छे !” – उसले भनी ।
“कस्तो नाम हौ फेरि ?” – सोध्छु।
“हाहा” मात्रै उत्तर उसको ।
•
मन नपराएको होइन मैले उसलाई । अझै पनि मन परिरहन्छ । हरेक दिन नै झनझन मनपर्दै जान्छ। यो मायाको रङ त हरेक दिन गाडा पो बन्छ कि क्या हो ?मनभित्र कते डर लागिरहन्छ त्यो च्याटको मान्छे उसको मनकै मान्छे बन्यो भने ? या त जीवनकै मान्छे पो भइदेला कि ? हिजोआज म साँच्चै एउटा अघोषित युद्ध लड्दैछु- लाग्छ। वास्तवमै यो एउटा अघोषित युद्ध हो या स्वघोषित युद् ? बुझ्नै सकेको छैन मैले। बुझ्ने कोशिश पनि कहाँ गरिरहन्छु उसो त । लाग्छ – जित निश्चित भएको युद्ध त हरेकले लडछन् नि । अनिश्चित युद्ध लड्ने पो लड्ने ।
अहिलेलाई म च्याटकै मान्छे भइदिउँ कि? लालसा जाग्छ। हेर्छ अनामिका नाममा हरियै बत्ती छ म्यासेन्जरमा ।
‘के गर्दैछौ? – लेख्छु ।
‘केही हैन। उसले लेखी ।
‘अन्त के पर्खेर बसेको ? – म ।
‘स्ट्रेन्जर को टेक्स्ट’ – भनी ।
‘को स्ट्रेन्जर ? – फेरि सोधे ।
‘स्ट्रेन्जर मिन्स स्ट्रेन्जर। चिनेको भए के स्ट्रेन्जर भन्थें म ।’
हाँस्नु हाँस्नु खोजेको स्माइलीसँग उत्तर आयो!
‘धन् न! म त रिसायौजस्तै लागेको नि !’ -म लेख्दैछु।
‘किनम् पो रिसाउनु ? – ऊ लेख्छे ।
‘होशियार हुनु है स्ट्रेन्जर त Strange नै पो हुन्छन् नि’ – म लेख्छु ।
‘तपाई नजिकैको पनि कहाँकै चिरपरिचितजस्तो !’
पढेर खुशी भएँ म। त्यसपछि केहि लेखिनँ । मज्जा लागिरह्यो ।
उसको यत्ति कुरा मात्रैले पनि केही दिनलाई रमाउन पुग्यो । लाग्यो
– मनपरेका मान्छेहरू यत्तिका प्रिय किन हुन्छन् ? मनले सोधिरहो आफैलाई ।
•
‘च्याटको मान्छेको खबर के छ?” – एकदिन म सोध्छु ।
‘ठिकै छ नि ।’ – उसले लेखी।
‘मन परेरै बात गरेको अँ ?”- कुन्नि किन म सोध्छु ।
उत्तर आएन उताबाट । फेरि लेख्छु ।
‘प्राइभेट कुराहरू किन भन्नू ?” – उतैबाट प्रश्न आयो ।
‘ठिकै छ।’ – म लेख्छु र सम्झिरहन्छु। प्राइभेसीसम्ममा दखल दिन थालेछ अब च्याटको मान्छेले ।
‘ए अँ उसको अतीत थाहा छ भन्थ्यौ नि तिमी ?
सोधिरहन्छु।
‘अलिलि थाहा छ’ – उसले लेखी।
‘नचिनेकोहरूसँग धेरै नबोल्नू।’ – म भनिदिन्छु ।
‘बरू तपाईंसँग नबोलुँला म । – यति लेखिवरी अफलाइन भई ऊ । सायद रीस उठेको हुनसक्छ।
•
आज कता कता पछुतो लागिरह्यो । पछुतो पनि यस्तो कि मन र मस्तिष्कसँग जम्मै इच्छा, चाहना र भावना मिलेर कोस्नसम्म कोसे मलाई । आफू अप्ठ्यारोमा पर्दा यिनीहरूको जुगलबन्दी देखेर छक्क परिरहें म। मानौं यिनीहरू भन्दैछन् – ‘राम्रो काम गर। मान्छेको भावनासँग नखेल।’
आईडी डिएक्टिभेट गरूँ कि ? सम्झिरहँदा नै निदाएछु ।
•
बिहानै म्यासेज आयो । ऊ नै थिई । अर्थात् अनामिका ।
गुडमर्निङ म्यासेज थियो, च्याटको मान्छेलाई !
उत्तर नलेखेर मेरो रियल आईडीबाट ‘गुडमर्निङ!’ पठाएँ। उत्तर आएन ।
“च्याटको मान्छे उठ्नु भा’छैन ?” – फेरि लेखी ।
यता उत्तर नलेखिकनै आफ्नै आईडीबाट लेखेँ – “उठ्यौ अनामिका?”
उत्तर आएन । बारम्बार म्यासेज आइरह्यो च्याटको मान्छेलाई ।
जम्मा दस बाह्रवटा म्यासेजको उत्तर नआएपछि अन्तमा उसैले लेखी र गई – “व्यस्त हुनुहुन्छ, थाहा भयो। सी यु सुन !”
आफ्नो आईडीबाट पठाइएको एउटै पनि म्यासेजको उत्तर आएन ।
•
अहिले उसैको घरनजिक छु म। ऊ फूल स्याहार्दैछ। नजिक पुग्छु ।
“ठुकै छौ ?” – सोध्छु म ।
“अहिलेसम्म त ।” – ऊ भन्छे।
खबर के छ स्ट्रेन्जरको ? टेक्स्ट कत्तिको आउँदैछ ?” – म सोध्छु।
जिस्काएको मैले ? अहँ खुट्याउनै सकिन ।
हाँसी मात्रै उ।
“भन न ।” – म भनिदिन्छु ।
“सायद केही समस्यामा हुनुहुन्छ या त बिसन्चो ।” ऊ भन्छे ।
यस्तो कोमल र नाजुक मनसँग मैले किन खेलें ? असहा भयो यतिबेला मलाई । लाग्यो अहिले नै भनिदिउँ – त्यो च्याटको मान्छे म नै हुँ । तर सक्दै सकिनँ ।
“बेगुनिया हैन? – उसको हातको फूलबारे म सोध्छु। भरखर रोपेकी होला उसले ।
“हो त ! साह्रो कुहिएर झर्छ हौ ।” – उसले भनी ।
‘फूल त हो, कुनै कुहिएर झर्छ, कुनै झरेर कुहिन्छ । – मैले भनिसक्दा नसक्दा उसले छक्क परेर हेरी ।
म लागेँ उकालै उकालो !
राती उसको म्यासेज आयो -“आजको तपाईंको कुरा त नि: “अँ, भन न ।” – मैले लेखेँ ।
“च्याटको मान्छेको जस्तै लाग्यो ।” – उसले भनी । म झस्किएँ, कुनैदिन फूलबारे मैले यसै भनेको थिएँ उसलाई स्ट्रेन्जर भएर ।
डर लाग्यो कुन्नि किन तर पनि लेख्नु थियो- “अझै सम्झिन्छौ?”
“यति छिटो बिर्सियो भने त… ” – उसले लेखी ।
“कहिल्यै फर्किएन भने नि ?” – म लेख्छु ।
“मलाई उ फर्कन्दैन जस्तो लाग्दैन।” – उसले लेखी ।
“उसको मन फेरिएको हो भने ?” – म लेख्छु फेरि ।
“फेरिन्दैन । ऊ भन्छ मनलाई जिनु सक्नुपर्छ ! हुनुम् आफ्नै मनलाई जित्ने पो जित्ने। – सँगै – च्याटमा हरियो बत्ती बलिरह्यो। सायद च्याटको मान्छेको प्रतीक्षा थियो उसलाई ।
एकचोटी म्यासेज लेखिदिउँ कि ? सम्झिएँ। अहँ अबोप्रान्त म उसको भावनासँग खेल्दिनँ नै ।
आईडी डिएक्टिभ गरिदिएँ। गरिसकेपछि लाग्यो – मभित्रको भावनात्मक एउटा मान्छे मरिसकेको छ। म फगत म छु एउटा स्वार्थी र मतलबी मान्छे जोसँग न त मन छ न त सहानुभूति न समवेदनशीलता ! च्याटको मान्छेसँगै म पनि मरेको छु आज। मेरो मृत्यु भएको छ ।
हिजोआज उसलाई च्याटमा समेत हेर्नसक्ने स्थितिमा छैन म ।
ऊ आउँछे, म गइदिन्छु।
फेरि पनि ऊ आउँछे म उसरी नै गइदिन्छु ।
•
“तपाईँले ठिकै भन्नुभएको रहेछ।” – उसले लेखिराखिछ – “नचिनेको मान्छेलाई विश्वास गर्नु मेरै गल्ती थियो। म तपाईँसँग रिसाएँ त्यसबेला। माफ गरिदिनू । च्याटको मान्छे अल्पियो ।”
मैले जवाफमा केही लेख्नै सकिनँ ।
आज धेरै दिनपछि यसरी लेखिदिएँ – “अनामिका, चिनेको मान्छे पनि सप्पै ठिक हुँदैनन्, चिनेकैहरूलाई पनि विश्वास पटक्क नगर्नु है ।
सन्ध्या आचार्य
लेखक परिचय
नेपाली मूलकी भारतीय लेखीका, सन्ध्या आचार्य, खर्साङ, दार्जीलिङकी हुन् । नब्बेको दशकको अन्त्यतिरबाट लेखन् प्रारम्भ गरेकी आचार्यको अहिलेसम्म कथा कतिपय (सन् २०१८), पराकम्पन (सन् २०२०) गरि दुईटा कथा सङ्ग्रह प्रकाशित छन् ।
सन्ध्या आचार्यको लेखहरु रोचक लाग्छ। उहाँका कथा कविता म एकट्क लागेर पड्ने गर्छु ।
येस्तै लेखहरुको पर्खाइमा छु ।
उपकार नेचाली