टि. एस. इलियट
मिस्ताह कर्टज् – ऊ मरिसक्यो
एक पैसा त्यो बूढो मान्छेको लागि
१
हामी खोक्रा मानिस हौँ
हामी भरिएका मानिस हौँ
सँगसँगै ढल्किरहेका
पराल खाँदिएको टाउको, हरे !
हाम्रा भास्सिएका आवाजहरू, जब
हामी साउती गर्छौँ एकसाथ
मूक र अर्थहिन छन्
झ्यासमाथिको बतासजस्तो
अथवा फुटेको सिसामाथि मुसाहरूको पाइलाजस्तो
उष्ण छिँडीमा ।
स्वरूपबिनाको आकार
रङबिनाको रोगन
पक्षघातग्रस्त ताकत, हलचलबिनाको हाउभाउ ।
ती जसले तरेका छन्
आँखा खोलेरै कालको अर्को राज्यमा
हामीलाई सम्झिनु, सम्झी हालेमा,
हराएका हिंस्रक आत्माहरू हैन, तर मात्रै
खोक्रा मानिस,
भरिएका मानिसका रूपमा सम्झिनु ।
२
आँखाहरू जसलाई म सपनामा पनि हेर्ने आँट गर्दिन
कालको स्वप्न राज्यमा
यिनीहरू देखा पर्दैनन्:
त्यहाँ, आँखाहरू
भाँचिएको खम्बामाथि सूर्यको प्रकाश हुन्
त्यहाँ, रूख छ झुलिरहेको
र आवाजहरू हावाको गीतमा छन्
अस्ताइरहेका ताराभन्दा
धेरै टाढा र धेरै गम्भिर ।
नजिक आउन नपरोस्
कालको स्वप्न राज्यमा
म पनि लगाईराखूँ
त्यस्तो परिकल्पित छद्म भेष
मुसाको कोट, कागको छाला, बुख्याँचा
खेतमा
हावाजस्तै बत्तिँदै
नपरोस् नजिक-
गोधूलि संराज्यमा
त्यो अन्तिम भेट ।
३
यो मृतभूमि हो
यो सिउँडीको भूमि हो
यहाँ ढुङ्गाका मुर्तीहरू
उठाइएका छन्
यहाँ उनीहरू मृत मान्छेको हातबाट
याचना ग्रहण गर्छन्
खसिरहेको ताराको जगमगमुनि ।
के कालको
अर्को राज्यमा पनि यस्तै हुन्छ
एक्लै हिँड्दै
त्यस्तो घडीमा जब हामी
काँपीरहेका हुन्छौँ कोमलतासँग
ओठहरू जो चुम्दछन्
प्राथनादेखि फुटेको ढुङ्गासम्म ।
४
आँखाहरू छैनन् यहाँ
यहाँ आँखाहरू छैनन्
ताराहरू मरिरहेको यो उपत्यकामा
यो हाम्रो पराजित राज्यको भाँचिएको जबडामा
भेटघाटको यो अन्तिम स्थलमा
हामी सँगसँगै भौतारिँदै छौँ
संवाद नगरी
सुन्निएको नदीको यो बगरमा भेला भएर ।
दृष्टिहिन, जबसम्म
आँखाहरू पुन: देखा पर्दैनन्
नित्य ताराजस्तो
पत्रैपत्र भएको गुलाफ
मृत्युको गोँधुली राज्य
एक मात्र आशा
खोक्रा मानिसहरूको ।
५
यति यति पानी गंगा रानी
यति यति पानी गंगा रानी
यताबाट जान्छु, ‘जानै दिन्न!!!’
यति यति पानी गंगा रानी
विचार
र वास्तविकताबीच
हलचल
र क्रियाबीच
खस्छ छाँया
किनकि यो राज्य तिम्रै हो
परिकल्पना
र सृजनाबीच
मनोभाव
र प्रतिक्रियाबीच
खस्छ छाँया
जीवन लामो छ
अभिप्सा
र लहडबीच
सम्भावना
र अस्तित्वबीच
सार
र उत्पत्तिबीच
खस्छ छाँया
किनकि यो राज्य तिम्रै हो
किनकि तिम्रै हो
जीवन
किनकि तिम्रै हो
यसरी रहेछ संसारको कल्पान्त हुने
यसरी रहेछ संसारको कल्पान्त हुने
यसरी रहेछ संसारको कल्पान्त हुने
ड्याङ्…ग! हैन, फुस्स टी एस एलियट
टि. एस. इलियट
(अङ्ग्रेजी कवि टि. एस. इलियटद्वारा रचित कविता The Hollow Men को भावानुवाद)
लेखक परिचय
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका लावती अङ्ग्रेजी र नेपाली दुवै भाषामा कलम चलाउछन् । विशेष गरी कविता र कथा लेखनमा सक्रिय लावती अनुवादमा पनि उत्तिकै दख्खल राख्छन् । उनका सिर्जनाहरू नेपालका प्रमुख राष्ट्रिय दैनिक साथै अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा समेत प्रकाशित भइसकेका छन्। लावती बाजा नामक एक लोक-सांगीतिक समुहमा पनि आबद्ध छन्।