नेपाली कथा नेपाली कथा
आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ।
सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । वर्षायाम भएकाले अलमल नगरी आफ्नो घर चाबेलतिर जाने बसमा चढ्यो । बस गुड्यो, बस बाहिर राम्रैसँग पानी पर्न थाल्यो । बसभित्र ऊ सोच्न थाल्यो- आज आफूले सुनाएको कविता र स्रोताहरूले दिएको प्रतिक्रिया। प्रतिक्रिया प्रायः राम्रै थिए । ठाउँठाउँमा रोक्दै यात्रुहरूलाई ओराल्दै, चढाउँदै बस चाबेल चोकमा आइपुग्यो र रोकियो । ऊ ओर्लियो ।
मैले भन्नै बिर्सेको (सायद म पनि भुलक्कड) ऊ अर्थात् कवि परिवेश । अझ खासमा उसको पूरा नाम त अक्षयराम प्रसाद शर्मा हो । साहित्यतिर लाग्न थालेपछि उसलाई सोध्न थालियो, “तपाईँ केलाई आधार बनाएर लेख्नुहुन्छ ?” ऊ उत्तर दिनेगर्थ्यो, “म आफूले देखेको, पढेको भोगेको परिवेशबाट प्रेरित भएर रचना रच्ने गर्दछु ।” अनि एक दिन कुनै बुजुक विद्वान्ले सल्लाह दिँदै भने, “त्यसो भए तपाईँ आफ्नो उपनाम परिवेश’ राख्नुहोस् ।” उसले मनन गयो र ठिक ठान्यो । त्यसपछि उसले नाम छोट्याएर उपनाम राख्यो र लेख्न थाल्यो- अक्षय परिवेश। अचेल ऊ स्थापित स्रष्टा र चर्चित कवि भइरहेको छ। अझ सम्बोधन गर्दा त ‘कवि परिवेश’ हुन थालेको छ।
कवि परिवेशले यसो चारैतिर हेर्यो। सडक जाम छ ।
मोटर जाम भएर ? होइन । ढल जाम भएर पानी जाम भयो । पानी जाम भएर सडक जाम भयो । गाडीहरू त तै विशेष हुत्तिएर भए पनि गुडेकै छन् तर मोटरसाइकल, साइकल र पैदलयात्रीहरूको बिजोग छ।
घुमाउरो भए पनि पानी नजमेको बाटो रोज्यो कवि परिवेशले र फटाफट लम्क्यो, पानी थामिएको छैन । ऊ जतिजति अगाडि बढ्दै गयो, दायाँबायाँ किनारका पसलमा ओत लागेका मानिसहरू उसलाई हेरेर हाँस्दै छन् । ऊ निश्रुक्क भिजे पनि लगातार हिँडिरह्यो । मानिसहरू उसलाई पुलुपुलु हेरेर एक आपसमा खासखास खुसखुस गर्दै हाँसिरहेछन् । ऊ अन्योलमा पर्यो, “उसलाई हेरेर किन हाँस्छन् ?” यसो सोच्यो, “कतै मैले पाइन्टको फस्नर पो लगाइनँ कि ?” छाम्यो फस्नर । लगाएकै छ फस्नर र आ जेसुकै होस् भनेर फेरि अगाडि बढ्यो । पानी रोकिने छाँटै छैन । अलिपर पुगेपछि एक जना उसको मिल्ने मित्रले बोलायो, “ए कवि परिवेश । यता आऊ त ।” आफ्नै मित्रले बोलाएको हुँदा ऊ नगिच गयो । मित्रले भने, “के हो तिम्रो ताल ? पानी परिरहेको हातमा छ यसरी भिजेर हिँड्ने हो ?” परिवेशले भन्यो, “के गर्नु त कविता फुरिरहेको छ, चाँडै घर पुगेर लेखिहालौँ भनेर नरोकिएको।” मित्रले भने, “नरोकिए पनि छाता ओढ्नुपर्दैन त ?” परिवेशले भन्यो, “छाता भए पो ओढ्नु ।” मित्रले हाँसेर भने, “धत् कवि त्यो तिम्रो के त ?” परिवेशले आफ्नो हातमा हेयो । लाज माने मैं मुन्टो निहुऱ्याउँदै भन्यो- “आच्या ! हो त छाता रहेछ, माफ गर है, तिमीलाई धेरैधेरै धन्यवाद छ ! तर अगिदेखि मलाई हेरेर मानिसहरू किन हाँस्छन् भन्ने ठानेको त कारण यो पो रहेछ । ल मैले त बिर्सेछु । यिनीहरू हाँस्नुको सट्टा भनिदिएको भए म भिज्थें ? मैले बिर्से, यिनीहरूले भन्न भुले, कस्ता भुलक्कडहरू !” भन्दै छाता उघारेर ओढ्दै कवि परिवेश आफ्नो बाटो लाग्यो । मित्रले सोचे- “हो त नि !”
लेखक परिचय
चाबहिल, काठमाडौँका कणाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । प्रकाशनका हिसाबले प्रेमा पत्रिकाको वि.स.२०३० जेष्ठ अंकमा प्रकाशित 'लामो नशाको प्याला' शिर्षकको कविता उनको प्रथम कृति भएतापनि वि.स.२०२२/२३ ताका नै 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको पहिलो कविता उनले लेखिसकेका थिए । गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।