विभिन्न परिस्थितिजन्य कारणहरूले गर्दा थुप्रै मानिसहरू इतिहासको गर्तभित्र हराईरहेका हुन्छन् । दुर्भाग्य ! कोही स्मृतिकै गर्भमा सदासदाका लागि विलिन भएर जान्छन् कोही समयको आवश्यकता र युगबोधताले पुन: स्मरणमा पुर्नताजगी भएर आइपुग्छन् । लिम्बुवानको यस्तै ऐतिहासिक पात्र हुन् देउमान आङदेम्बे । उनी अझै समयको पथाङ्ले छोपिएर गुमनाम रहेका छन् । लिम्बुवानको गाउँ बस्तिमा देउमान आङदेम्बेको कथा किंवदन्ती नसुनेका मान्छेहरू शायदै होलान् । तर इतिहासले उनको सच्चा श्रद्वा र सम्मानमा कञ्जुस्याइँ गर्दा मिथकमा मात्र सीमित हुन पुगेका छन् ।
देउमान आङदेम्बे पापोहाङका सन्तान हुन् । अहिले पापोहाङभित्र आङदेम्बे, लाओती, शेर्मा, तुम्बापो, इङवा र कुगेनाम्बा लगायतका थरीहरू पर्दछन् । सर्वप्रथम पाँचथरमा आगमन भएको एउटा मार्मिक मुन्धुमी आख्यान छ । लिम्बुको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली, (२०६६), र पापोहाङ लाओती वंशावली, (२०७६), मा अम्बिका प्रसाद आङदेम्बे र लक्ष्मण लाओतीले आफ्नो पूर्खाहरूको पाँचथर जिल्लामा आगमन भएको इतिहास उल्लेख गरेका छन् । पापोहाङ वंशभित्रका जानकारहरूले पनि उहीं कथा नै बताउने गर्छन् । उहिले पापोहाङहरूको पूर्खा तेह्थुम आठराईको खेक्लेसोबुङ भन्ने ठाउँमा बस्थे । उनीहरूसँग एउटा बढेमानको सुँगुरको साँढ पनि थियो । सुँगुरको साँढ जहिले दिनभरि चर्न गएर रातो माटो जिउभरि दलिएर खोरमा आइपुग्थ्यो । एकदिन थाम्लासो पापोले सुँगुर पछ्याउँदैपछ्याउँदै आए । सुँगुरले खेक्लेसोबुङ ओरालो झरेर तमोर खोला नाँघ्यो । तमोर वारी तरेपछि करेङकरेङ बाटो हिँडेर सुँगुर पान्थरको गढीमा आइपुग्यो । थाम्लासो पापोहाङ पनि आफ्नो साँढको गोहो पछ्याएर फेदेन आइपुग्यो । फेदेनको समथर ठाउँ देखेपछि थाम्लासो पापोहाङ पनि आफ्नो परिवारसँग यतै बसोबास गर्न थाले । त्यसपछि उनका सन्तानहरू फेदेनदेखि यासक, आङसराङ र अम्लाबुङतिर छरिन थाले । वंशहरू छरिएर बस्ने क्रममा सुत्केरी हुँदा आमाले आङ (सल्ला) को बोट समातेर जन्माएकाहरू आङदेम्बे भए भनिन्छ । अम्लाबुङ बस्ने ८२ बर्षिय बृद्व लिलाध्वज आङदेम्बे र ऐजनऐजन बस्ने ७४ बर्षिय टिकाध्वज आङदेम्बेका अनुसार यस ठाउँमा अम्लारी फूङ (सुनाखरी फूल) प्रसस्त मात्रामा पाइने भएकोले अम्लाफूङ भएको र अहिले अपभ्रंस भएर उम्लाबुङ भएको हो ।
देउमान आङदेम्बे यहीँ अम्लाबुङको माटोमा बुबा करनध्वज आङदेम्बे र आमा तुम्रोक्माको पुत्ररत्नको रुपमा पदार्पण गरेका हुन् । उनी १९६० साल असोज ४ गते विहानीको सूर्योदय हुँदै गर्दा जन्मिएका थिए । उनको निधन भने २०४२ सालमा आफनै निजी निवास अम्लाबुङमा नै भएको थियो । उनी जन्मिएको बेला १०४ बर्षे निरङकुश राणा शासनको दबदबा थियो देशमा । आफ्ना परिवार कृषि पेशामा नै आबद्व भएकाले उनको बाल्यकाल पनि घाँस दाउरा र मेलापात गर्नमा नै वित्यो । उनी सानै उमेरदेखि नै निडर र जाँगरिला मानिस थिए । शारीरिक रुपमा रुपमा सुगठिला र तागतिला थिए । यसरी आफ्नै अम्लाबुङको गाउँबस्ती, डाँडा पाखा र भञ्याङहरूमा रमाउँदै लाठे पुगे । सामान्य लेखपढ गर्न सक्ने आङदेम्बेले उतिबेला ताप्लेजुङको गौडामा लामो समयसम्म बैदारको जागिर पनि खाए । त्यस समय लिम्बुवानमा सुब्बा सभाङगीको व्यापक चलन भएकोले उनी पनि सुब्बा हुन पुगे । सुब्बा भएपछि रातारात उनको राप तापले लिम्बुवानभरि प्रसिद्वि कमायो र सबैको चर्चाको पात्र हुन पुगे । सबैले आदर्श र सम्मानित पात्रको रुपमा लिन थाले । “आफ्नो घोडासँग गाउँघर डुल्दा सबैले ताँत लागेर हेर्ने गर्थे । आफ्नो बाबुको अनुहार ठाडो हेर्न पनि नसकिने र लरतरको मान्छे उनको छेउ पर्न पनि नसक्ने, उनले चर्को स्वरमा बोल्दा मान्छेको मुटु नै हल्लिन्थ्यो भन्छन्” उनका कान्छा छोरा पूर्व प्रधानपञ्च घनेन्द्रराज आङदेम्बे । उनको प्रवृत्ति खाँटी लिम्बुको जस्तो थियो । अलिक ठाडो भाषामा बोल्ने । अनुशासन एकदम कडा थियो । नाम बोलाइसक्दा जस्तो अवस्थामा भए पनि उनको अगाडि हाजिर हुनपर्थ्यो । उनका छोरीहरू माग्न आउने कुटुम्बहरूलाई ठाडै हप्काएर टाँकीको बोट सोध्थे । टाँकीको बोट थियो भने मात्र छोरी दिन तयार हुन्थे । किनभने पहिलेको समयमा साह् ैभोकमारी चल्दा लिम्बुवानमा टाँकीको मुना खाएर छाक टार्नुपथ्यो । हरेक पटक बोल्दा केम्मान इक्त्र भन्ने थेगो थियो भन्छन् उनका समकालीन बुढापाकाहरू । देउमान आङदेम्बेका जम्मा ४ भाई छोरा र चार बहिनी छोरीहरू थिए । जेठा छोरा हरीराज, माइला छोरा प्रेमराज, साहिंला लिलाराज, काइँला कृष्णराज र कान्छा घनेन्द्रराज आङदेम्बे हुन् । उनका सबै छोराहरू पनि आआफ्ना ठाउँमा समाजका स्थापति व्यक्तित्वहरू थिए । अहिले भने कान्छा छोरा घनेन्द्रराज बाहेक सबै पिंडालु रोप्न गइसकेका छन् । माइला छोरा प्रेमराज आङदेम्बे नेपाली काँग्रेसका चर्चित नेता हुन् । बि.पि. कोइरालाका अभिन्न मित्र थिए प्रेमराज आङदेम्बे । उनको बारेमा आफ्ना पुस्तकहरूमा थुप्रै ठाउँ उल्लेख गरेका छन् कोइरालाले । उनी पछि २०१६ सालमा दुई पटकसम्म उपमन्त्री भएका थिए । आफ्ना कान्छा छोरापटिका नाती भिष्मराज आङदेम्बे नेपाली काँग्रेसका केन्द्रीय नेता हुन् । अहिले काँग्रेसको आसन्न महाधिबेसनको सहमहामनत्रीको उम्मेद्वार बनेका छन् । उनी पनि सभासद भइसकेका छन् । उनको काइँला छोराकोमा नाती चन्द्रराज आङदेम्बे संघीय लिम्बुवान मञ्चका पाँचथर जिल्ला अध्यक्ष छन् । उनीहरू आफ्ना बाजेको प्रेरणाले नै राजनैतिक मार्गमा हिंडेका बताउँछन् । अहिले उनका नातीनातीनाहरू पनि आ आफ्नै ठाउँमा चम्किरहेका छन् ।
उमेर पुगेर राजनीति बुझ्न थालेपछि आङदेम्बे विस्तारै लिम्बुवान प्रतिनिधि मण्डलमा आबद्व भए । २०१३ सालको लिम्बुवान प्रतिनिधि मण्डलमा इमानसिं चेम्जोङ, ललित बहादुर तुम्बाहाङफे, बृजहाङपति जबेगू, प्रेमराज आङदेम्बे, गणेश बहादुर थाम्सुहाङ लगायत सक्रिय थिए । उनीहरू तत्कालीन रुपमा पुन ः लिम्बवान राज्य प्राप्त गर्ने र आफ्ना गुमेका अधिकारहरू फिर्ता पाउनुपर्ने उद्देश्यले गोलबद्व भएका थिए । पटकपटक राजाहरू कहाँ विन्ति पत्र चढाउन जान्थे । उतिबेला महेन्द्र वीर विक्रम शाहदेव राजा र प्रधानमन्त्री टंकप्रसाद आचार्य थिए । लिम्बुवान प्रतिनिधि मण्डलबाट एक जना मन्त्री मण्डलमा सहभागी हुनुपर्ने आदेश भयो राजाबाट । तब लिम्बुवान प्रतिनिधि मण्डलले आफ्नो तर्फबाट कुल बहादुर लिम्बुलाई मन्त्री बनाउनुपर्ने सिफारिस गरिसकेका थिए । फेरी पुर्नविचार गरेर काडमाण्डौको पुतली सडक छेउमा लिम्बुवान प्रतिनिधि मण्डलको अन्तिम बैठक बस्यो । यस अघिको बैठकले कुल बहादुर लिम्बुलाई सिफारिस गरिसकेता पनि देउमान आङदेम्बेलाई नै मन्त्री बनाउनुपर्ने प्रस्ताव पास गरे ।
उनीहरूको निष्कर्ष थियो : यदि देउमान आङदेम्बेलाई मन्त्री बनाइएन भने लिम्बुवानमा हाम्रो खैरात छैन् । उनको रापतापले हामीलाई टिकिखान दिंदैन । उसको छेउमा हाम्रो केही जोर चल्दैन भनेर देउमान आङदेम्बेको नाम मन्त्रीमा सिफारिस गर्यो । यो सम्पूर्ण काया कैरन यता देउमान आङदेम्बेलाई केही पनि थाहा थिएन । उनी काडमाडौमा बसेको लिम्बुवान प्रतिनिधि मण्डलको बैठकमा पनि सहभागी थिएनन् । यता आफ्नै गाउँ अम्लाबुङको जङ्गलमा गाईबस्तु चराउँदै थिए । उतिबेलाको समयमा अहिलेको जस्तो कुनै सूचनाका माध्यमहरू पनि थिएन । तर जता पनि रेडियो नेपाल सुन्ने चलन थियो । देउमान आङदेम्बले आफ्नै घरमा बेलुकी सात बजेको समचार सुन्न रेडियो खोल्यो । अचानक “लिम्बुवान प्रतिनिधि मण्डलको तर्फबाट देउमान आङदेम्बेलाई मालपोत उपमन्त्रीमा नियुत्त गरिएको छ” । भन्ने समाचार सुन्दा उनी आफै तीनछक्क भए । सपनामा पो छु कि विपनामा पो छुजस्तो भ्रम भयो रे ।
एकै छिनमा गाउँभरि मन्त्री भएको हल्ला खरबारीको आगो भएर फैलियो । “त्यसको ठीक तीन दिन पछाडि धनकुटा गौडाबाट प्रहरीहरू आइपुगेर घरमा सलामी दिई घोडामा चढाएर लगे । घोडाबाट करिब २० दिनको निरन्तर यात्रापछि काठमाडौँ पुर्याए” भन्नुहुन्छ उनका कान्छा पुत्र घनेन्द्रराज आङदेम्बे । यसरी उनलाई लिम्बुहरूमा जेठा मन्त्री हुने सौभाग्य मिल्यो । त्यसपछि आफ्नो पहिचान फेरियो सबैले देउमान मन्त्री भन्न थाले । टाढाटाढाका मान्छेहरूलाई पनि देउमान मन्त्री भन्ने नाम ओठमा झुन्डिन थाल्यो । सिंगो परिवारको नाम पनि मन्त्री खलक भनेर सम्बोधन गर्न थालियो । राजा महाराजहरूले पनि लिम्बुवानको लिम्बू भन्दा देउमानको नाम लिन थाले । पछि उनी स्थायी राज सभा सदस्य बने । गाउँघरमा थुप्रैवटा विद्यालयहरू खोल्ने काम गरे । लिम्बू समुदायको मिङसो ताङसो थामिदिए ।
डब्बल सुब्बा देउमान आङदेम्बेको सम्धी पर्थ्यो । उतिबेलाका धनाढ्य भनेर नाम कहलिएका डब्बल सुब्बा र देउमान आङदेम्बेको डाइलग चल्ने गर्थ्यो रे भन्छन् अम्लाबुङगेहरू । देउमान आङदेम्बेले आफ्नो सम्धी डब्बल सुब्बालाई मेरो सम्धीले डालोमा पैसा जोखेर दिन्छ भने म थुन्चेमा जोखेर दिन्छु भनेर डाइलग मार्थे अरे उतिबेला । अम्लाबुङका बुढापाकाहरू भन्छन् “उनको घरमा छ हजार मुरी धानको थाक थियो । ढुँडी पर्छ भनेर आँगनभरि नाङलोमा पैसा सुकाएको हुन्थ्यो । ९०१०० मुरी दाल । चार पाँच वटा घोढाहरू र तीस चालिस वटा लाइना गाई र छ सात हल गोरुहरू थिए । ठूलाठूला चारवटा झिंगुटीका घरहरू थिए । चौविसै घण्टा घरमा मान्छेहरूको बजार हुन्थ्यो” । टाढाटाढाका मान्छेहरूले समेत देउमान आङदेम्बेको घरबाट धान नलगी चेत बैशाखमा धानको भात खानै पाउँदैन थ्यो । उनी पचिसा र अठाईसा धान दिने गर्थे । पचिसा भनेको असार महिनामा एक मुरी धान पैचो लगे बापत मंसिरमा पचिस पाथी तिर्नुपर्ने हुन्छ । पाँच पाथी चाहिँ त्यसको व्याज स्वरुप बुझाउनुपर्ने । अठ्ठाइस पाथी पैचो लगेको खण्डमा आठ पाथी तिर्नुपर्ने हुन्थ्यो । त्यसलाई नै पचिसा र अठ्ठाईसा भन्ने गरिन्थ्यो भन्छिन् विष्णुमाया आङदेम्बे । उनले धानका ढुकुटीहरू थुप्रै ठाउँ राखेका थिए । २०० मुरी जति धान तमोर खोलाको किनार माझिटारमा राखेको थियो । माझिटारको धान यतैतिर याङवारक, भारापा, सुभाङ र याङनामतिरकालाई पचिसामा बाँडिदिन्थे । अर्को ढुकुटी चिलिङदेनमा राखेका थिए । त्यहाँ ४०० मुरी जति धान हुन्थ्यो त्यो धान उतै हेल्लाङ, चिलङदेन, फाक्तेपतिरकालाई पचिसा र अठठईसा लगाईदिन्थे । अर्को ढुकुटी चाहिँ अम्लाबुङ पुच्छर सखेवामुनि राखेका थिए त्यहाँ लगभग ३०० मुरी जति थियो थ्यो त्यो धान उतातिरकालाई लगानी गर्थ्यो र मुल ढुकुटी चाहिँ आफ्नै घरमा राखेका हुन्थे । उनको खेतबारी भनेको महिनौं दिनसम्म डुल्दा पनि डुलिसकिन्न्थ्यो भन्छन् अम्लाबुङ निवासी टिकाध्वज आङदेम्बे ।
वास्तवमा मेरो बाजे देउमान आङदेम्बे ठूला समाजसेवी थिए । तर केही पक्षकाहरूले उनका बारेमा एकोहोरो नकारात्मक मात्र टिप्पणी गरेको सुन्दा दु:ख लाग्छ मलाई । गाउँघरमा मान्छेहरूको लास बेर्न समेत आफूले बेर्ने गरेको सेतो कपडा काटेर दिने मान्छे कसरी सामन्त हुन सक्छ ? कति भोका मान्छेहरूलाई घरमा निशुल्क खाना ख्वाएर पठाउँथे । धान पैचो दिएर सबैको खाँचो टारिदिने मान्छे हुन् मेरो बाजे । सबैको आपत्त विपत्तमा देउमान आङदेम्बेले सहयोग पुर्याउँथे । दशै तिहारमा लोकल धानको चामल दिएर कतिको भान्सा उज्यालो बनाइदिने मान्छे कसरी शोषक हुन सक्छ ? बरु एकदम उद्वार दिलको हुनुहुन्थ्यो भन्छन् उनका नाती चन्द्रराज आङदेम्बे । आफ्ना छोरा नातीहरूलाई सधै समाजसेवी हुनु र राजनीति बुझ्नु । राजनीति बुझिएन भने निम्छरो भइन्छ । र जीवनमा डरपोक नहुनु बरु हक्कि बोल्नु नडराउनु । भनेर अर्ति दिने काम गर्थे रे उनी । त्यही राजनैतिक अर्ति ग्रहण गर्दा छोरा प्रेमराज मन्त्री भए नाती भिष्मराज संसद बने भन्छन् चन्द्रराज । हामीले राजनीति गर्नुपर्छ भन्ने दिव्य ज्ञान बाजेबाट नै पाएका हौं भन्छन् चन्द्रराज आङदेम्बे ।
“इतिहासमा एकै पटक सबै पात्रहरूको चर्चा हुँदैन । समयले कुनै दिन आफै खोजेर प्रस्तुत गर्छ । म उहाँकै गोहोहरू पछ्याउँदै यहाँसम्म आइपुगेको हुँ भन्नुहुन्छ” नाती भिष्मराज आङदेम्बे । आज उनको वंशज र सम्बन्धित क्षेत्रकाहरूले पनि पूरै विस्मरण गरिसकेका छन् आङदेम्बेलाई । उनको सम्झना र सम्मानमा केही पनि भएको छैन अहिलेसम्म । बरु आफ्नो चेप्चु बाजेको इतिहास सुनेर उनको सम्झनामा चाढै केही गर्ने सोचमा छिन् पनातिनी तागेरा आङदेम्बे ।
हरेक नेताहरू युगअनुसार जन्मिन्छन् । जंग बहादुर राणालाई पनि युगले मागेको नेता मानिन्छ । पृथ्वीमा आफ्नै उर्जानुसार ‘टाइम एण्ड स्पेस’मा मानिसहरूले सचेतन प्रयत्नहरू गरेर जान्छन् । जुन कर्महरू कालान्तरमा सहि नदरिन पनि सक्छन् । इतिहासमा जस्तो टिप्पणीहरू गरिएता पनि उतिबेला देउमान आङदेम्बेले बाँचेको परवेश आजभन्दा धेरै पृथक थियो ।
उसो त लिम्बुहरूले आफ््््ना पितृहरूलाई अत्यन्तै सत्कार र सम्मान गर्ने गर्छन् । आफ्ना पितृहरूलाई नै माङ साम्माङ सम्झेर थान थपना दिई मान मनितो गरिबस्छन् । भनिन्छ, यदि आफ्ना पितृहरूलाई मान मनितो गरिएन भने पिराउने दु:ख दिने काम गर्छन् ।
लेखक परिचय
मधुराज केरुङ अहिलेको समयका शक्तिशाली लेखक हुन् । उनका फक्ताङलुङको फेदिबाट गजल संग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजल संग्रह २०७२, मारोतिका थुँगाहरु संयुक्त कविता संग्रह (संकलन÷सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु जस्ता कृतिहरु प्रकाशित छन् । औपचारिक शिक्षा–एम.एड.(नेपाली) त्रिभूवन विश्वविद्यालय र एम.फिल.नेपाल खुला विश्वविद्यालयबाट गरेका उनी हाल पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
आमाको जेठा तुम्बा मेरो माउली बाजे रापिलो तापिलो हुनुहुन्थ्योरे खुशी लाग्यो बाजेको जीवनि पड्न पाउँदा खोज अनुसन्धान गर्नुहुने खोज अनुसन्धानकर्ता मधुराज मामालाइ विशेष धन्यवाद अझै लिम्बुवान भुमिमा नाम निसाना मेटाइएका अस्तित्व बिहिन बनाइएका महान ब्याक्तीहरुको पनि तपाईंको आवस्यकता छ ।मामा तपाइँको पाइलाहरु नरोकियोस आगामी दिनहरुमा धेरै धेरै सुभकामना