अध्यात्म र नेतृत्ववर्गलाई विहंगम रूपमा हेर्दा नितान्त फरक जस्ता देखिएपनि मिहिन रूपमा भने सन्निकटता पाइन्छ । अध्यात्म एक जाग्ने र जगाउने प्रक्रिया हो, जसले सांसारिक वस्तुहरूलाई हेर्न, सुन्न बुझ्न र अनुभूत गर्नुपूर्व स्वयमलाई नै त्यसको गुण, धर्म (साम्प्रदायिक पन्थ होइन), उदेश्य र महत्त्वका दृष्टिले बोध गर्न सिकाउँछ । त्यसै गरी नेतृत्ववर्ग त्यो वर्ग हो, जसले जनमानसको मनोभावना र उत्तेजनालाई बुझी उनीहरूलाई सत्मार्गमा डोर्याउने सामर्थ्य राख्दछ ।
मानिस प्रकृतिको उच्च सृष्टि भएतापनि शताब्दीकै घनघोर राम्रो सभ्यतामा पुगेर संकिर्णता हट्न सकेको छैन । त्यसै कारण, होला आज मानवजाति विभिन्न वाद, सिद्धान्त र साम्प्रदायिक आस्थाको परिबन्दबाट माथि उठ्न सकेको छैन । सम्भवतः संसारमा जबसम्म यस्तो एकोहोरो वाद, सिद्धान्त र साम्प्रदायिक आस्थाको बन्दि रहन्छ शान्ति हुनै सक्दैन । जहिले पनि एउटाले अर्कोलाई भौतिक बलले दबाउनमै आफ्नो श्रेय ठान्दछ भने, कसलाई कहिले शान्ति मिल्नु! यो सबको एउटै कारण हो, अध्यात्मलाई वेवास्ता गरिनु । जसरी हाम्रा प्राचीन ऋषिमुनि र सन्तमहात्माहरूले जुन पद्धति अनुरूप समाज चलाएका थिए, त्यही अनुरुप समाज चल्न सकेको भए सायद आज संसारमा यस्तो बिधी अशान्ति हुने थिएन । यसो भनिरहँदा यदाकदा त्यतिबेला पनि अशान्तिका घटनाहरू नभएका भने होइनन, तर के कुरामा समभाव पाइन्छ भने, “आफू पनि जिउ अरूलाई पनि जिउन दिऊँ” भन्ने पवित्र उदेश्य रहेको थियो। त्यसकारण त्यसबेलाको मानव समाज आजको वैज्ञानिक समाजभन्दा कम श्रेष्ठ थिएन भन्ने कुरामा दुईमत छैन ।
आजको मानवजाति सभ्य, विकसित र सर्वश्रेष्ठ भनिरहँदा व्यवहारिकतामा भने ढुङ्गेयुगको जस्तो जर्जर मानसिकताले दीक्षित देखिन्छ। परिणाम संसारमा आज मानवसभ्यता विकासको अग्रपंक्तिमा भइरहँदा पनि हत्या, हिंसा, अशान्ति, विकृति र विसंगति जस्ता पश्चगामी तत्वहरू विश्व समाजमा विद्यमान रहनु आफैंमा दुःखद पक्ष हो । अझ भनौं सशक्त र सक्रिय रूपमा जगेर्ना गर्न वकालत हुँदै आएको पाइन्छ । यसकारण आज विश्व मानवजाति नै अधोगतिको दलदलको चपेटामा रुमलिएको छ । यसो भनिरहँदा, यसको जिम्मेवार को ? किन मानवजाति यो दुरावस्था झेल्न बाध्य छ ? के यी सबै कारणहरूको कारक तत्व मानव नै हो त ? किन आफूलाई सर्वश्रेष्ठ र चेतनशील प्राणी भन्ने मानव जाति नै यसमा लिप्त छ ? यदि यसो हो भने, मानव जातिले आफूलाई जगत कै सर्वश्रेष्ठ, सर्वज्ञानी र चेतनशील प्राणी भन्नु स्वयम मानव अस्तित्व र अस्मिताप्रतिको यो भन्दा ठूलो व्यङ्ग्य के हुन सक्छ र ? एक पटक हामीले यी कुराहरूमाथि घोत्लिएर दृष्टिपात गर्नुपर्ने बेला भएको छ ।
आजको युग वैश्य युग हो । संसारको जुनसुकै भागमा पनि यो व्यापक रुपले रहेको छ । संसारका शक्तिशाली राष्ट्रहरू नै यसको उन्नतिमा अहोरात्र तल्लीन छन्। प्रशस्त मात्रामा उन्नति गरेका छन् । परमाणु अस्त्रको आविष्कार, भौतिक उन्नति अहिलेको पराकाष्ठा हो । केवल, अध्यात्मवादी भएर मात्र पनि सांसारिक व्यवहार मिल्दैन एकपाङ्ग्रे रथ जस्तै हुन्छ । तर यसो भनिरहँदा हामीले यस मार्गमा लाग्न छोड्न भने किमार्थ हुँदैन । हामीले सोचेजस्तो मानिस खाली पार्थिव देह मात्र होइन, यसमा दैवी शक्तिको उत्तम तथा अद्भुत ज्योति पनि रहेको छ । हामी स्थूल शरिरलाई नै सबथोक हो भन्ने भ्रम पालेर बसिरहेका छौं । जसले स्वयम हामीलाई नै अज्ञानताको पुजारी बनाइरहेको छ भन्ने कुराको हेक्का समेत हुन सकेको छैन । भौतिकवादी चिन्तनले प्रगतितिर पाइला सारिसकेको हुनाले मात्र हामीलाई अध्यात्म फिक्का लागेको हो, तर मानिसको नाताले हामीमा त्यो गुण नभएको भने होइन, त्यो संस्कार र संस्कृति हामीमा टाँसिएको छ मात्र देख्ने दृष्टि र चेतनाको कमि हो । भौतिक रूपमा विज्ञानको उन्नतिले कोल्टो फरिसक्दा पनि हुन त मानिस सभ्य भयो , जान्ने बुझ्ने भयो, खाने पिउने तह माथि पुर्यायो के पायो ? आराम अनि सुविस्ता त के गुमायो ? एक आध्यात्मिक चेतना सहितको जीवन ! मानिस झन- झन टाढा भयो प्रकृतिबाट, स्वभावबाट, सत्य अवस्थाबाट र गुमायो आफ्नै आत्मा! जे मन लाग्यो त्यही गर्यो, जे पायो त्यही खायो । असल र खराबको सिमाहद छुट्टिएन । मानिस बेहोसीमा जिउन थाल्यो । मानिस बिग्रियो । सप्रियो भनौं भने सीमा नाघिसक्यो , बिग्रियो भनौं भने यो विधि उन्नतिको उत्कर्षमा पदार्पण गरिरहेको छ । यस विरोधाभाषपूर्ण जीवनको संघारमा छ आज मानव, न त भौतिकवादी चिन्तनलाई लगाम दिनसक्छ, न त अध्यात्मलाई नै निसंकोच अँगाल्ने साहस गर्नसक्छ ।
विश्व मानव जाति दुरावस्थाको यस भुमरीमा रुमालिनुको पछाडी मूलतः व्यक्ति आध्यात्मिक नबन्नु, र नेतृत्व वर्गले पलपलमा लिने निर्णयहरू सुझबुझपूर्ण नहुनु नै हो । जसका कारण व्यक्ति विभिन्न वाद, सिद्धान्त र साम्प्रदायिक पन्थमा ध्रुवीकृत भई व्यक्तिवादी चिन्तनलाई प्रसय दिन थाले । व्यक्तिवादी चिन्तनले खास- खास जाति, वर्ग, क्षेत्र र पन्थलाई केही समयका लागि फाइदा भएतापनि दीर्घकालीन रूपमा भने विश्वमानव मुक्तिको निकास भने कदापी दिन सक्दैन । यसैको प्रतिफल त होला हिजो मै हुँ भन्ने शक्तिशली राष्ट्रहरू आज क्षयिकरणको मार्गमा सङ्घर्षरत देखिन्छन्। भौतिकवादी चिन्तनले व्यक्ति आज यति निकृष्ट भइसक्यो कि उसमा मानवीयता, नैतिकता, दूरदृष्टि, लोकोपकारिता र सदाचारिता जस्ता सद्गुणहरू विस्तारै-विस्तारै हराउँदै गइरहेका छन्। परिणामत: व्यक्ति आज स्वयम स्वार्थी, अविवेकी र भौतिकवादी हुन गई त्यस अनुरूप समाज राष्ट्र र विश्वकै नेतृत्व गर्ने कुचेष्टा गरिरहेको छ । जसले गर्दा वर्तमान समयमा यसका केही प्रतिनिधि घटनाहरू मात्र देखिए पनि निकट भविष्यमा भने निकै ठूलो दुर्घटना निम्तिन सक्ने व्यापक सम्भावना रहेको छ । गौतम बुद्धको एक सुप्रसिद्ध भनाइ छ नि, “अप्पा दीपो भव:” अर्थात् प्रत्येक व्यक्ति आफ्नो दीपक स्वयम् आफैँ बनोस् । यसबाट के चरितार्थ हुन्छ भने यदि हामीले आध्यात्मिक दीप आफूभित्र प्रज्वलन गर्न सकेको खण्डमा माथि उल्लेखित सद्गुणहरू हाम्रो सोच र व्यवहारमा सञ्चार हुनुका साथै आध्यात्मिक चेत जागृत हुन थाल्दछ जुन नेतृत्वले गर्दा समाज, राष्ट्र र विश्वलाई नै सत्मार्गको दिशामा अघि बढाई मानवताको हित गर्ने देखिन्छ ।
यदि हामीले हाम्रो मानव इतिहासलाई सिंहावलोकन गर्ने हो भने यस दौरानमा थुप्रै नेतृत्ववर्ग जन्मिए र विलीन भए, जसमध्ये केही सज्जन महापुरुषहरू यस्ता जन्मिए जसले सधैँ व्यक्ति, समाज र राष्ट्रलाई शान्ति र शाश्वत सत्यको मार्गमा हिँड्ने पाठ सिकाए, जसबाट एक व्यक्ति मात्र नभई सिङ्गो विश्व नै लाभान्वित भयो । गौतमबुद्ध, जिसस क्राइस्ट, मोहम्मद, महावीर, गुरुनानक बीचमा वर्ण, क्षेत्र, जाति र साम्प्रदायिक रूपमा अनेकता भएतापनि सात्विक ज्ञानको अनुभूतिका सम्बन्धमा भने समरूपता पाइन्छ । अर्थात् यिनीहरूको सैदान्तिक र व्यावहारिक पाटो भने सधैँ मानव निर्मित परिबन्दीहरूबाट माथि उठी मानवजातिको हित र कल्याणका निम्ति नै रह्यो । सायद उहाँहरूको योगदान नहुँदो हो त आज मानव समाज अहिलेको भन्दा पनि उग्र-अवस्थाको अतिवादी जर्जर मानसिकताको दलदलमा सदाका लागि फसिसकेको हुने थियो । धन्य छन् ती महापुरुषहरू जसले आफूलाई मात्र हैन सिङ्गो जगतकै मानव जातिलाई नै सत्य, नैतिकता, सदाचारीता र लोकोपकरिताको मार्गमा अघि बढ्न सदासर्वदा अभिप्रेरित गरे र विश्व मानव जातिलाई नै यस अवस्थासम्म ल्याई पुर्याए ।
जब जब समाज र राष्ट्रले एक आध्यात्मिक चेतनासहितको नेतृत्व पाउँछ तब मानव सभ्यताले फड्को मारेको कुराहरू यदाकदा पौराणिक कथाहरूमा र विश्व इतिहसमा यथेष्ट रूपमा भेटिन्छन् । प्रत्येक व्यक्ति आफैँमा एक सर्वोत्कष्ट छनौट हो । भौतिक तत्वले मात्र यो तन बनेको छैन, त्यहाँ आध्यात्मिक तत्वहरू पनि छन् जसले मानिसको यस अस्तित्वलाई सभ्य र सन्तुलित बनाइराख्न महत्वपूर्ण योगदान रहँदै आएको छ । मात्रात्मक रूपमा सुषुप्त र अदृश्य भएता पनि गुणात्मक दृष्टिकोणले यसको महिमा अनुपम र अतुलनीय नै रहेको छ । अर्थात जसको महत्व र औचित्यता लाई अहिलेको भौतिकवादी संसारले नजर अन्दाज गर्न कदापि हुँदैन र मिल्दैन पनि । यदि यसो गर्न खोजिए मानवजातिले ठूलो मूल्य चुकाउनु पर्ने अवश्यभावी छ । विश्व भौतिकवादी चिन्तनले आक्रान्त र व्यक्ति आफैँमा सिमित भइरहेको बेला अध्यात्मको औचित्यता केवल व्यक्ति आध्यात्मिक तवरले प्रज्ञावान बन्नुमा मात्र नभई विश्व मानव जातिलाई उसको धर्म (साम्प्रदायिक पन्थ होइन) गुण र उदेश्यको आधारमा एक अर्कामा जोड्नुमा पनि छ । तर विडम्बना आज भौतिकवादी चिन्तनले हाम्रा यी कलिला मन मस्तिष्कमा यसरी तुषारापात गर्यो कि तितोको पातै नछुने, मिठोको जरा समेत नराख्ने परिपाटीको जग बसायो । जुन निरन्तरताको क्रमभंगताको आवश्यकता, नेपाली समाजदेखि लिएर विश्व मानव समाजमा समेत प्रवल रूपमा देखापरेको छ ।
यहाँहरूलाई स्मरण रहोस् एकपटक स्वामी विवेकानन्द सिकागोको सम्मेलनमा जानुभएको रहेछ र उहाँले आफ्नो धर्म र संस्कृति झल्किने किसिमको पहिरन गर्नुभएको रहेछ र छेऊमा आएर एक जना अमेरिकनले आश्चर्य प्रकट गर्दै सोधेछ कि स्वामी जी तपाईंले कोट पाइन्ट किन नलगाउनु भएको, कोट पाइन्ट लगाउँदा त तपाईं जेन्टलमेन् देखिनु हुन्थ्यो ? किन नलगाउनु भएको भनेर उक्त व्यक्तिले सोधेछ,अनि स्वामीजी ले भन्नुभएछ की “तपाईंको धर्म संस्कृतिमा कोट पाइन्ट लगाउँदा मानिस जेन्टलमेन देखिन्छ होला, तर हाम्रो संस्कृतिमा त जेन्टलमेन हुन चरित्र राम्रो हुनुपर्छ ।” भनेर जबाफ दिनु भएछ । यसबाट के कुरा प्रस्ट हुन्छ भने चरित्रवान बन्नु मात्रैले पनि त जीवनमा धेरै कुराको अर्थ राख्दो रहेछ । आज सायद यस्तै कुराहरूको कमिले त होला, सर्वसाधारण व्यक्ति देखि लिएर समाज र राष्ट्रलाई नेतृत्व गर्ने वर्ग समेत आफ्नो नाङ्गो ताण्डव देखाइरहेका समाचार सुन्न र पढ्न पाइन्छन् । समाज यसरी भ्रष्ट हुँदै गइरहेको छ कि मानवीयता, नैतिकता, सदाचार, दूरदृष्टि र लोकोपकारिताजस्ता सद्गुणहरूको खडेरी आम मानव जीवनमा परिरहेको महसुस गर्न सकिन्छ । मानिसमा यति बिघ्न क्रुर कठोर निर्मम निर्दयी र व्यक्ति केन्द्रित भइसकेकी केही क्षणिक लाभको निम्ति मानवीय संवेदना नै भुल्न थालिसके । त्यसकारण आज मानवजाति यति भयभित छ कि कहीँ कतै पनि सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। स्वार्थ साह्रै नै घातक हुन्छ भने झैं आफ्नै दुराग्रहको ग्रहणले नै मानिस आन्तरिक रुपले सिद्धिँदै गएको छ । जसको परिणाम आज विश्व मानव समाज परोक्ष /अपरोक्ष रूपमा भोग्न र झेल्न विवश छ ।
आज संसारको सम्पूर्ण देशमा एउटाले अर्काको धनको मोहमा नपरिदिएको भए सायद इतिहासको स्वरूप अर्कै हुन्थ्यो होला तर वास्तविकता त्यसो हुन सकेन । मानिसको उन्नति तब पूर्ण ठानिन्छ जब उनीहरू भौतिक र आध्यात्मिक रुपले पूर्ण ठहर्छन। आध्यात्मिक भाव नभएको भौतिकवादी लाई त निरंकुश मत्ता हात्तीको उपमा दिन सकिन्छ। जुन जसका निम्ति पनि घातक हुन सक्छ । त्यसैले त होला आज सबै आ-आफ्नो कार्यमा मस्त छन्, अर्काको वास्ता गर्ने वानी नै छुट्यो अनि भयो अशान्ति दुःख झगडा र असन्तोष बड्ता हामीमा तर आजकाल सभ्यताका बहुमूल्य जायदाद, भन्छौं एउटा कुरा गर्छौं अर्कै कुरा त्यसकारण नेपाली समाज विकासमा फड्को मार्न नसक्नु नेतृत्व वर्गमै यो खालको व्यवहारिकता प्रधान रहनु नै हो भन्न सकिन्छ।
हामीले यस्तो नेतृत्वमाथि भरोसा राख्यौं कि उनीहरूले गरेको काम सानो होस् या ठूलो त्यसबाट केकति अरूलाई वास्तवमा लाभ भयो वा भएन त्यसको समेत हेक्का राख्ने सामर्थ्य राखेनौं । मानिस यतिसम्म बदलियो कि सत्य हरायो, चरित्र बगायो आचरण बिगार्यो, संवेदना गुमायो तर भन्यो सपारे बन्यो भलादमी, बाहिर भौतिक उन्नति प्रगति हुनसम्म भयो आन्तरिक रुपले भने क्षयिकरण हुँदै गयो । मानिस कल्पना गर्ने र इच्छा प्रकट गर्ने सवालमा स्वतन्त्र छ र हुनुपर्छ पनि, तर मानिसमा नै उब्जेको त्यस्तो कल्पना र इच्छाले यदि सारा मानव जातिलाई नै हानी गर्ने गुण छ भने, त्यो सोह्रै आना त्याज्य पनि हो । त्यसैले हाम्रो नेतृत्ववर्गको आ-आफ्नोपन हुन्छ भन्दैमा त्यो उसैको कित्ताको हो भनी त्यसै छाडी दिनु मानवजातिमाथि नै अन्याय गर्नु हो । त्यसैले भावी नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरामा, हामीमाझ स्पष्ट खाका हुन आवश्यक छ । जसले विश्वमा रहेको आन्तरिक कलह र खिचातानीलाई रचनात्मक भूमिकाको तवरले दीर्घकालीन समाधान दिइ सुख, शान्ति र समृद्धिको मार्गमा डोर्याउन सकोस् यो नै आजको मानवजातिको नेतृत्व प्रतिको ठूलो अपेक्षा रहेको छ । “मानिसले गरेर गएको मानिसले किन नसक्नु” भनेर नेपोलियनले एकपटक भनेका थिए त्यसैले हामी राम, कृष्ण, बुद्ध, जिसस, मोहम्मद, महावीर जैन, गुरुनानक जस्तो पनि बन्न सक्छौ । फगत फरक यति मात्र हो कि त्यसप्रतिको आस्था, समर्पण, इच्छाशक्ति, निरन्तरता बीचको घनिष्ट अन्तरसम्बन्ध हुन आवश्यक छ।
हामीले एकातर्फ अध्यात्मलाई जगेर्ना गर्दै जीवनलाई त्यसै अनुरूप अभ्यस्त गर्नु छ भने अर्कातर्फ आजको वैज्ञानिक प्रगतिलाई पनि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो रूपमा रहेको छ । आजको वैज्ञानिक युगमा विज्ञानले विकास गरेका राम्रा र उपयुक्त संस्कार र मान्यताहरू अपनाउनु हाम्रा निम्ति हानिकारक अवश्य हुँदैनन् । तर अध्यात्मलाई जडसुत्रवाद, प्राचीन र सभ्यताको बाधक ठान्ने अनि विज्ञानले गरेको भौतिकवादी विकासलाई मात्र सर्वोपरि ठान्ने परम्परा वा सोचाई भने समाज, राष्ट्र र स्वयम् आफ्नै लागि पनि घातक सिद्ध हुनेछ । जुनसुकै कुरामा पनि असलको साथसाथै खराब पनि मिसिएको हुन्छ । त्यसकारण एउटा एकदमै व्यावहारिक र वैज्ञानिक अर्को महत्वहीन भनेर भेद नगरी असल पक्षहरूलाई हृदयंगम गर्न सक्नुपर्छ। जुन कुराको सिको नेपाली नेतृत्ववर्ग देखि बिश्व हाँक्ने नेतृत्ववर्ग समेतले गर्न सकेको पाइँदैन । महाकवि कालदासले भनेका छन् “पुराना भन्दैमा सबै कुराहरू असल हुँदैनन्, त्यस्तै नयाँ भन्दैमा सबै वस्तुहरू खराब हुँदैनन् र सज्जनहरू नयाँ र प्राचीन दुबै कुराहरूको परिक्षण गरेर मात्र दुईमध्य एकलाई ग्रहण गर्दछन्। मुर्खहरू कुनै विवेक प्रयोग नगरी अरुहरूको लहै-लहैमा लागि निर्णय गर्दछन् ।” यसबाट के मात्र भन्न खोजेको भने विश्व परिवेश देखि नेपाली समाजमा समेत नेतृत्ववर्ग यस अवस्थाबाट ओभानो हुन सकेको छैन । जसले हरपल हरक्षणमा लिने हतारो, आफू केन्द्रित र अविवेकीपूर्ण निर्णयले सम्पूर्ण जनता त्यसको परिणाम भोग्न बाध्य हुन्छन् । जुन कुराहरू विगत लामो समयदेखि हालसम्म अभ्यास हुँदै आएका छन्। जहाँ यस्तो शून्य अध्यात्म भएको नेतृत्वले कुनैपनि समाज र राष्ट्रलाई गति दिएको कुरा इतिहासमा कहीँकतै पनि पढ्न र सुन्न पाइँदैन ।
यस सन्दर्भमा दुईवटा दृष्टान्त यहाँहरूसमक्ष राख्न चाहन्छु । पहिलो, जब ह्यारी ट्रुमन अमेरिकाको राष्ट्रपति थिए त्यसबेला ट्रुमनलाई जर्मनले आक्रमण गर्ने भनिसकेपछि अमेरिकाले सोभियत युनियनलाई सहयोग गर्नुपर्छ भन्ने प्रश्न उठ्यो र अमेरिकन राजनीति दुई ध्रुवमा ध्रुवीकृत भयो । त्यसपछि यस्तो भयावह स्थिति सिर्जना भयो कि अब यसले स्टालिनलाई सहयोग गर्छ भन्ने कुराको बाहिर आलोचना हुन थालेपछि ट्रुमनले के भने भन्दा “उसको पार्टी गलत होला, नीति गलत होला तर यो मान्छे आफैंमा गलत छैन । त्यसकारण जर्मनलाई यदि हामीले तह लगाउने हो भने हाम्रो सेनाले जमीनमा गएर जर्मनलाई जित्न सक्दैन यति मात्र हैन कि हामीसँग भएका हातहतियार र सम्पूर्ण सैन्य उपकरणले पनि जित्न सक्दैनौं यदि भूमिमा लडेर जित्ने हो भने लाल सेना नै हो जर्मनलाई हराउने ।” त्यसकारण यसबेला हामीले राजनीति हैन मानवीयता हेर्ने हो, यो संसार ध्वस्त नहोस् भन्ने हो त्यसैले हामीले सहयोग दिनुपर्छ भनेर ट्रुमनले मानवीयताको पक्षमा निर्णय गरे जुन कुरा पछि सत्य सावित भयो ।
दोस्रो, जब चीनमा लङ् मार्च ( long march ) चल्दै थियो त्यसपछि चिनियाँहरू भाग्दै-भाग्दै जुनई भन्ने ठाउँमा आइपुगे र उनीहरूको बैठक बस्यो । त्यो बैठक बसेको ठाउँमा एउटा जर्नेलले भन्यो, “हामीले एकदम आक्रामक शैलीमा आक्रमण गरेर विपक्षीसँग लड्नुपर्छ ।” अनि माओत्सेतुङ र चा उन लाईले के भने भन्दा, ” हामी आक्रामक रूपमा लड्ने होइन, बरु हामी जहाँ जनता छन् त्यहीँ बस्ने हो, त्यहाँका जनतालाई दरो पार्दै आधार ईलाका बनाउने हो । त्यसकारण, यदि यसो गर्दा पार्टी फुट्छ भने पार्टी फुटोस् त्यो ठूलो कुरा होइन तर जनतालाई अविश्वास गर्नु भने कदापि हुँदैन ।” उनीहरूले त्यो जोखिम उठाए र जुन निर्णय मूलतः मानवियताको पक्षमा नै गर्न सक्षम भए ।
किन यी दुई दृष्टान्त उचित ठहर्छन भने आज यी दुई राष्ट्रहरू भौतिक विकासको उच्चतम् विन्दुमा रही प्रतिस्पर्धा गर्दै आइरहेका छन । यसबाट के कुरा प्रष्ट हुन्छ भने कुनै पनि देश विकसित हुनुको पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अध्यात्मको अहम भूमिका रहेको हुन्छ । सायद आध्यात्मिक चेत सहितको नेतृत्व नहुँदो हो त, आज यो अवस्थामा देशहरू आइपुग्ने थिएनन् । तसर्थ, यी कुराहरूबाट के पुष्टि हुन्छ भने, नेतृत्व वर्गमा मानवीयता, सदाचरिता, नैतिकता, दूरदृष्टि लोकोपकारिता, इमान्दारिता जस्ता गुणहरू हुन् अति आवश्यक हुन्छ भन्ने कुरातर्फ इंगित गर्दछ । अर्को अर्थमा के पनि भन्न सकिन्छ भने अध्यात्म र नेतृत्ववर्गलाई निरपेक्ष रूपमा व्याख्या विश्लेषण र दृष्टिगोचर गर्न सकिँदैन । किनकि यी दुई बीच घनिष्ट अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ।
हरेक बादलमा चाँदीको आभा हुन्छ भने जस्तै जतिसुकै मात्रामा भएपनि सबैमा अध्यात्मको गुण सुषुप्त रूपमा रहेकै हुन्छ । यसलाई मलजल गरी अघि बढाउनु अहिलेको अपरिहार्यता हो । शिक्षा-शिक्षा भनेर आजको संसारमा चिच्याइरहेको पनि यसैको प्रमाण हो । हुनपनि यस्तो किसिमको व्यक्ति वा दल मानव जत्तिकै भलो गर्ने देखिएको छ । त्यसैले आजको शिक्षाले पनि यस्तै गुणलाई मात्र उत्साह दिनसकोस, जसले मानवतालाई पनि अगाडि बढाओस् नकि भौतिकवादी विकास र चिन्तनलाई मात्र !
अन्तमा, अहिलेको समयमा साधारण व्यक्ति देखि लिएर नेतृत्ववर्ग समेतले भौतिक उन्नतिलाई देखेर त्यसैको पट्टी आँखामा बाँधेर अध्यात्मलाई लत्याई भौतिकवादी चिन्तन ( विभिन्न वाद, सिद्धान्त र साम्प्रदायिक आस्थाको बन्दि) को परिबन्दीमा लागेर अध्यात्मको महत्तालाई फिक्का पार्नु किमार्थ हुँदैन । धर्म, अर्थ, काम र मोक्ष जुन हामीलाई चार वटै पुरुषार्थको प्राप्ति अभिष्ट छ । जानेर होस् वा नजानेर सबै जना त्यो चाहान्छन् नै भन्नुपर्छ किनभने कल्याणकारी सुख नचाहने को नहोला र ! तसर्थ, हाम्रो उदेश्य पवित्र हुनुपर्छ, अध्यात्मयुक्त प्रयत्नले अर्थ प्राप्त गरौं, त्यस अर्थले संसारका सौख्य चीजहरूको भोग गरेर मोक्षका अनुयायी बनौं यसैमा नै सम्पूर्ण मानवजातिको कल्याण अनुबंधित छ ।
अतः अबको नेतृत्वले भौतिक विकाससँगै अध्यात्मलाई पनि अभिन्न अंगको रूपमा अंगीकार गर्दै त्यस अनुरूप सम्पूर्ण क्रियाकलापहरू सुचारु गरोस् । यदि यसो गर्न सकेको खण्डमा मात्र “समृद्ध नेपाल, सुखी नेपाली” को आदर्श सपना साकार र विश्वशान्तिको कामना पूरा हुने देखिन्छ ।
लेखक परिचय
सुर्खेतका दीपक विक आफ्ना रचनामा सिमान्तकृत वर्गको आवाज लेख्न रुचाउँछन् । उनी Nepal Spiritual Knowledge Olympiad 2020का विजेता हुन् ।