आमुख:
यो दशैंको त्रयोदसीको दिन, रूघाखोकीले थलिएर यसै बसेको छु । पुस्तकको दराजमा आँखा पुगेछ । हेर्छु – समालोचक गणेशबहादुर प्रसाइ स्मृतिग्रन्थ, लिम्बुवानको प्रणेता भक्तराज कन्दङ्वा, हरिचरण शिवाकोटीको सुकृति, अविश्रान्त योद्धा बासु शाक्य, शहीद रत्न बम स्मृति ग्रन्थ, बुद्धिप्रसाद घिमिरे स्मृति ग्रन्थ, सम्झनामा गाबिन्द भट्ट, डा. डिल्लीराम तिम्सिना स्मृतिग्रन्थ, यात्री स्मृतिग्रन्थ देख्छु । भित्रपट्टि पनि होलान् यस्ता ग्रन्थहरू । यी सबै कृतिहरू श्रष्टा मरेपछि श्रष्टामाथि लेखिएका द्रष्टाका बिचारहरूको संगालो हो । श्रष्टा ज्युदै छँदा श्रष्टाका बारेमा सम्मान र अभिनन्दन ग्रन्थ निकाल्ने चलन पनि आएको छ अहिले । मलाइ यो चलन सारै मनपर्छ । साहित्यकार गोबिन्दराज भट्टराई, कमलराज रेग्मी: विविध आयाम, इन्द्र सम्पूर्णजस्ता कृति पनि देख्छु, जो श्रष्टा जिवीत छँदै लेखिएका ग्रन्थहरू हुन् । यी त यस्ता कृतिहरूको केही प्रतिनिधि उदाहरण मात्र हो ।
यीनै कृतिहरू आँखामा नाच्दानाच्दै झल्यास्स कृष्ण धराबासी दाइले मलाइ असोज ३ गते इलामको सिटीहलको आँगनमा भनेको सम्झना आयो । ‘ए देवी भाइ , यता आऊ , मलाइ बैरागी काइँलाले फोन गर्नु भ’को थियो । तिमीले उहाँको फोन उठाएनौ अरे । मेलमा रिप्लाइ पनि गरेनौ अरे । उनका रचना तिमीसँग के कति छन ति सबै पठाइदिनू अरे । मलाइ नै दिए पनि केही फरक पर्दैन । बूढा चौरासी पुगिसके, हुटहुटी छ मनमा आफु बाँच्दै आफ्ना रचनाहरूको संग्रह निकालेर हेर्ने । भरखरै कविताहरूको संग्रह आयो , त्यो आजै एकछिनपछि यही सिटीहलमा विमोचन हुँदैछ । के त अब उनका छरिएर रहेका उनका अन्य रचनाहरूको संकलन निकाल्ने हतारो छ काँल्दाइलाई । नपत्याए यी हेर हिजै मात्र दाइले फोन गरेको । ए अनि सुन , तिमी डाक्टर, म बैरागी काइँला अभिनन्दन ग्रन्थको सम्पादन गर्दैछु , यही वर्ष झापामा भब्य अभिनन्दन गर्ने योजना छ । दाजुका बारेमा तिमीलाई लागेको कुनै विषयको एउटा लेख चाहियो , पेजको छेकबार छैन । कुरा बुझेको ? लहै !!’
धराबासी दाइको यी कुरा कानमा झन्कृत भएपछि आज म कवि बैरागी काइँलामाथि मेरा विचारहरू यो आलेखमा राखिरहेछु ।
मैले देखेको बैरागी काइँला:
त्यतिबेलासम्म मैले बैरागी काइँलालाइ सुनेको मात्र थिएँ , देखेको थिइन । उनी देशका ठूला कवि हुन् , पौवासारतापका डबल सुब्बाका छोरा हुन् भन्थे गाउँका जान्नेहरू । २०५६ साल हिउँदयामको कुरा हो , पाँचथरको सदरमुकाम फिदिममा बजारमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने र त्यहाँ कवि बैरागी काइला पनि आउने अरे भन्ने हल्ला चल्यो गाउँमा । त्यतिबेला म प्रवेशिका परिक्षाको तयारीमा थिएँ । बैरागी काइँला फिदिम आउने भनेपछि म निक्कै हर्षित भएँ । र साथी ओम बजगाईंसँग फिदिम गएँ , कुरा २०५६ साल पौष १ गतेको दिनको हो । मेरो अर्जुनदृष्टि भनेकै बैरागी काइँलालाइ देख्नु थियो । उनले कविता कसरी वाचन गर्छन् ? सुन्नु थियो । तत्कालिन जिल्ला पञ्चायतको मञ्चमा पुग्दा कार्यक्रम सुरू हुनै लागेको थियो । म नकु बान्तवा, म कुमार यात्रू भन्दै उनिहरूले आ–आफ्नो परिचय दिएर लालैपालो कार्यक्रम चलाए । कार्यक्रमको सुरूमा नै विशेष अतिथिको रूपमा कवि बैरागी काइँलालाइ मञ्चमा आमन्त्रण गरियो । सेतो दौरासुरूवाल, कालो कोट, कालो भादगाउँले टोपी र कालै चश्मा लागाएका कालोकालो मान्छे मञ्चमा उभिएर दर्शकलाइ नमस्ते गर्दै बसे । हो उनै रहेछन कवि बैरागी काइँला जो मेरो आँखामा दीर्घप्रतिक्षित थिए । उनी मञ्चमा बसेपछि उनैलाइ मात्र हेरिरहेँ मैले । जताबाट जसरी हेरे पनि उनको रूप मलाई मन परेन । नाक थेप्चो परेको कालो मान्छे कसरी ठुलो कवि भएको होला ? मेरो मनभरि यस्ता प्रश्न प्रतिप्रश्न सलबलाउँन थाल्यो । कार्यक्रममा विभिन्न वक्ताले बोल्न थाले , कविहरूले कविता भन्न थाले । त्यसै क्रममा उद्घोषकले कवि बैरागी काइँलालाइ बोल्न आमन्त्रण गरे । पोडियममा उभिएर बोल्न थाले उनी । सारै मीठो शैलीमा, मीठो स्वरमा भाषण गर्न थाले उनको भाषणबाट मन्त्रमुग्ध भएछु म । थाहै नपाइ एकछिन अघि नराम्रो देखेको मान्छे हेर्दाहेर्दै यसै राम्रो देख्न थालेँ । जताबाट जसरी हेर्दा पनि अरू सबैभन्दा राम्रो देखिन थाल्नुभो । त्यो दिन उहाँले बोलेका मैले नबिर्सिएका यी वाक्यहरू थिए– हाम्रो पाँचथरको फिदिम बजार यति राम्रो छ ल, चिरिच्याट्ट परेको । यहाँका मानिसहरू यति धेरै सहृदयी छन् सबै जातजातिका मानिसहरू आपसमा मिलेर बसेका छन् । अब हामीले यो ठाउँलाइ फुलाएर, फलाएर अरू सुन्दर बनाउनुछ बेली चमेली जस्तै, लाली गुराँस जस्तै ।
उनका यी बोलीहरूमा दर्शकदीर्घाबाट तालीका पर्राहरू बर्सिन्थे त्यो क्षण । हो त्यो दिन त्यसरी मैले कवि बैरागी काइँलालाइ पहिलोपल्ट पाँचथरको सदरमुकाम फिदिम बजारमा देखेको हो । आफ्नो मनले देख्न चाहेको देशको ठुलो कविलाइ देख्न पाउँदा , उहाँले बोलेको सुन्न पाउँदा मेरो खुशीका सिमानाहरू नै थिएनन् । अब उहाँले कतिबेला कविता भन्नुहोला भन्ने खुल्दुली चल्न थाल्यो मनमा । अन्य धेरै कविहरूले आ–आफ्नो कविता सुनाए । तर उहाँले कविता सुनाउनु भएन त्यो दिन । उहाँको कविता सुन्न नपाउँदा त्यसै मन खिन्न भएर आयो । त्यसरी मेरो मनको ठूला कविलाई देखेपछि म उहाँका कविताहरू पढ्न लालायित भएँ । बैरागी काइँलाका कविताहरू नामक कृति किनेर पढ्न थालेँ । पहिले पहिेले त बुझिन । पड्दै जादा अलेली बुझ्न थालेँ । उहाँले लेखेका यी कविताहरू कसरी वाचन गर्नुहुन्छ होला भन्ने खुड्को मेरो मनमा रहिनैरह्यो ।
त्यहाँदेखि यता:
१. दिनहरू बित्दै गए । आफ्नै जिल्लाको भए पनि त्यत्रा ठुला कविलाइ म जस्तो फुच्चेले भेट्ने कुरै भएन । २०५७ सालपछि म उच्च शिक्षा अध्ययनका लागि इलाम क्याम्पस आएँ । त्यहाँ पुगेपछि म साहित्यिक गतिविधिमा सहभागी हुन थाले । मेरो मनको कुनामा बैरागी काइलाजस्तै कवि भएर उनले जस्तै मीठो शैलीमा भाषण गर्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो । यतिसम्म कि उहाँले लगाएको कालो टोपी सारै नै मन परेर गाउका हाम्रा बालीघरे कालु दमाइलाई कालोे जिनको कपडाको टोपी सिलाउन लगाएर लाउँन थाले । इलाम क्याम्पस पढ्न आउँदा पनि मैले त्यै कालो टोपी लगाएको थिएँ । पछि इलाम बजारमा कालो भादगाउँले टोपी किनेपछि मात्र कालुदाइले सिलाइदिएको टोपी फेरेको थिएँ । त्यसरी म काल्दाइको कालो टापीबाट प्रभावित भएको मान्छे पछि मदन भण्डारीले कालो टोपी लगाएको देखेँ । गिरीजाप्रसाद कोइराला , कृष्णप्रसाद भट्टराईले पनि कालो लगाएको देखेँ । एउटा भिडियो टेपमा बिपि कोइरालाको शीरमा पनि कालो टोपी नै सजिएको देखेपछि म झनै प्रसन्न भएँ । मैले ठिक गरेँछु , ठुला मान्छेले लगाउने रहेछ कालो टोपी । त्यसै कारण बैरागी काइँलाले पनि कालो टोपी लगाएका रहेछन् भन्ने आतमबोध भयो मलाई । त्यसयता म पनि जीवनभर कालो टोपी लाउँछु भन्ने स्वअठोट मनभित्रैबाट जागेर आयो । आजसम्म म मेरो शीरमा कालो टोपी शीरमा निरन्तर लगाइरहेकै छु अपवादको दिन र क्षणबाहेक । काठमाडौं जाँदा भक्तपुर पुगेर कालो भादगाउले टोपी किन्छु । भक्तपुर यात्राको ध्येय भनेकै कालो भादगाउँले टोपी किन्नु हुन्छ मेरो ।
ए! काँल्दाइको कालो टोपीको प्रभावतिर बहकिन थालेछु म । पछि क्याम्पस जीवनमा म सामन्य कविको रूपमा स्थापित भएछु । शाहस नामक एउटा मेरो नाट्यकृति पनि २०४१ सालमा प्रकाशित भयो । त्यसै मेसोमा २०४५ सालको पुस माघतिर हुनपर्छ , विराटनगरमा क्षेत्रीयस्तरको साहित्यिक कार्यक्रम भयो । त्यहाँ इलामबाट बुद्धि घिमिरे सरसँग म पनि गएँ । कार्यक्रमको मुख्य अतिथि उनै बैरागी काइँला हुनुहुन्थ्यो । त्यो दिन पनि उस्तै पोषाकमा ठाँटिएका थिए उनी। पहिलो दिनको सत्रमा उहाँले नेपाली साहित्यको विभिन्न वाद, आन्दोलन र आयामको विषयमा बोल्नुभयो । त्यो दिन मलाई जसरी पनि उहाँको छेउमा गएर आफ्नो परिचय दिन्छु भन्ने उत्कट चाहना जागेर आयो । तर कसरी ? माध्यम को त ? बुद्धिसरलाई भनेँ । भालि कोशिस गरौँला, तर सम्भव होलाजस्तो लाग्दैन भन्नुभो । भोलिपल्ट विहान चियानास्ता सुरू भयो । सबै त्यै धुनमा थियौँ। सेतो कुर्तासुरूवाल, खैरो स्वेटर अनि कालो भादगाउँले टोपीमा ठाँटिएर आउँनुभो बैरागी काइँला । पल्लो छेउको कुनामा गएर एउटा कुर्सी तानेर बस्नुभो । आ ! जे होस् अब उहाँलाई भेटेर म फलानो हुँ भन्छु भन्ने आँट गरेर गएँ । नमस्कार गरेर भनेँ– म देवी क्षेत्री दुलाल, पाँचथर लुंरुपा हो मेरो घर । मैले त्यति भन्नासाथ उहाँले मेरो हातमा च्याप्प समातेर भन्नुभो – लुंरुपाको दुलाल अरे ? कस्को छोरा हौ तिमी ?
मैले आफ्नो बुबा, काकाको परिचय दिएपछि उहाँले फेरि भन्नुभो –ओहो ! खुसी लाग्यो, तिमी के लेख्छौ ?
मैले हतारहतार मेरो शाहस नाटक उहाँलाई दिएँ । ‘ल म पढुँला, राम्रो लेख्नू । लुंरुपाका दुलालसँग हाम्रो साइनो छ , हामी रिलेशनभित्रका हौँ ।’
उहाँ र मेरोबीचमा त्यतिका संवाद चल्दानचल्दै कविको छेउमा अन्य धेरै साहित्यकार आएर झुम्मिइसकेका थिए । त्यस भेटले म पुलकित हँुदै खाजाको लाइनमा लागे । कार्यक्रम सकेर इलाम फर्किदा आफूले कविलाई भेटेको कुरा सुनाएँ । सरले गोल्डेन चान्स भन्नुभो । त्यसरी मैले बैरागी काइँलालाई छोएर, आफ्नो कृति दिएर आफ्नो परिचय दिएको हो । त्यो दिनदेखि मलाई कवि बैरागी काइँला महान रहेछन्, सानासँग पनि बोल्ने सहृदयी रहेछन् भन्ने लाग्यो । आफ्नो दामले साथीहरूलाई आफुले बैरागी काइँलालाई भेटेर कुरा गरेको कथा सुनाएँ । थोरैले पत्याए, हाँसेर उडाइदिए । नपत्याउँनु पनि स्वभाविक थियो कहाँको बैरागी काइँला कहाँको म देवी क्षेत्री दुलाल । सगरमाथा र केचनकवल जस्तो ! तर, वास्तविकता भने त्यही थियो , जो मैले कवि बैरागी काइँलालाई भेटेकै थिएँ । फेरि एउटा खुड्को भने मेरो मनमा बाँकी नै रह्यो । उहाँसँगको मेरो रिलेशन कस्तो होला ? पछि घर गएको बेला आमा र दाइहरूलाई सोधेँ –खै ठूलो परिवार छ कोहीसँग मीतेरी साइनो छ कि ! नेम्बाङहरूकै किपटीया हौँ हामी त्यै होला । भुविक्रमले बन्दुके जगात हानेर हाम्रै घरमा आएर बसेका थिए । पछि बहुदलको भोटमा पनि सारतापे नेम्बाङहरू हाम्रो घरमा बास बसेका थे भन्नुभो मेरी आमाले । हामी बिचको साइनोका कुरा त्यतिकै अनुत्तरित थियो ।
सृजना र संलग्नतालाइ हेरेपछि:
२०४२ सालतिरको कुरा हो मेरो दाइ नरबहादुर दुलालले त्रिभुवन विश्वविधालयमा एमएको शोध नेपाली साहित्यमा पाँचथरको श्रष्टाको योगदान शीर्षकमा गर्नुभयो । त्यतिबेला उहाँले काँल्दाइका पाए भेटेसम्मका रचनाहरू भेला पार्नुभएको थियो । ती रचनाहरू मैले सबै पढेँ । जनदूत र भारती साहित्यिक पत्रिकामा छापिएका उनका निबन्धहरू मलाई निकै नै मनपर्यो। त्यस मध्ये पनि मुख भन्ने निबन्धले मलाई छोएको थियो । उनका कविताहरूमध्ये मलाई मन परेको चाही हाट भर्ने मानिस थियो । कैयौंपल्ट पढियो यो कविता । मातेको मान्छेको भाषणले पनि तानेकै थियो । तेश्रो आयामको विचारकमध्ये एकजना उनै रहेछन भन्ने पनि मैले त्यतिबेलै हो थाहा पाएको । तेश्रो आयाम पत्रिकाको समपादक पनि उनै कवि रहेछन् । तेश्रो आयाम पत्रिकाको प्रकाशक उनैका भाइ अमर नेम्बाङ रहेछन् । ( अमर नेम्बाड् राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधी हासिल गरेर जन्मथलो पौवासारतापमै बसेर जनसेवा गर्ने राजनीतिज्ञ, समाजसेवी र साजित्यकार हुन् । )
पछि मैले पनि मास्टर्स डिग्रीमा नेपालको राजनीतिमा लिम्बू जातिको सहभागिता शीर्षकमा थेसिस लेखेँ । त्यतिबेला मैले बैरागी काइँलाको अर्को पाटो पनि थाहा पाएँ । त्यो थियो उनको राजनीतिक सहभागिता । उहाँ दार्जिलिङमा बसेर अध्ययन गर्ने क्रममै नेपाली कांग्रेससँग आबद्ध हुनुभएको रहेछ । यता जिल्लामा आफ्नै दाइ भुबिक्रमले पौवासारताप इलाकालाई आधारक्षेत्र बनाएर पञ्चायतविरूद्धको हतियारबद्ध आनदोलन चलाइरहेको बेला कवि बैरागी काइँलाले पनि उताबाट पार्टीलाई सहयोग पर्याएको तथ्य थाहा भयो । उनको मातेको मान्छेको कविता प्रजातन्त्र, स्वतन्त्रता, समानताको माग रहेछ । प्रजातन्त्रका लागि एउटा वाङ्मयिक आन्दोलन रहेछ । पछि जिल्ला फर्केर पार्टीको पञ्चायतलाइ उपयोग गर्ने नीतिका आधारमा २०३६ सालमा पाँचथर जिल्लाको जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएर एक कार्यकाल काम गर्नभएको रहेछ । त्यसपछि भने उहाँले सक्रिय राजनीतिलाइ कम प्राथमिकतामा राखेर काव्यिक साधना र अनुसन्धानमा आफूलाइ सक्रिय बनाउनुभएछ । त्यसैले उनको राजनीतिक सहभागिता र योगदान साहित्यिक योगदानले धुमिल पारेछ । यसबारे स्व. अमर नेम्बाङले आँखा विकास पत्रिकाको एउटा अंकमा महत्वपूर्ण आलेख प्रकाशित गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालिन राजकीय) आबद्ध भएर प्राज्ञिक उन्नयनमा लागेपछि सक्रिय राजनीतिबाट टाढा रहेका रहेछन् भन्ने मेरो अध्ययनको निश्कर्ष थियो । एकेडेमीमा आजिवन प्राज्ञ बनेका काइँलाले राजा ज्ञानेन्द्रको प्रतिगमन विरूद्धको अन्दोलनमा सडकमा उत्रिएर काव्यिक आन्दोलनको नेतृत्व गर्नुभयो । लोकतन्त्रको प्राप्तिका लागि श्रष्टाहरूको नेतृत्व गर्नुभयो । कविको जीवनकै सर्वाधिक महत्वपूर्ण काव्यिक आन्दोलनको नेतृत्व थियो सायद त्यो । नेपाली साहित्यमा पुर्याएको योगदान र प्रजातान्त्रिक आन्दोलनमा श्रष्टाको हैसियतबाट खेलेको भूमिकाको उच्च सम्मान गर्दै गणतन्त्र स्थापना भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति जस्तो गरिमामय पद सम्हाल्ने अवसर सरकारले उहाँलाई प्रदान गर्यो । सरकारले उहाँलाई त्यो कामको नेत्रित्व सुम्पिनु समग्र नेपाली साहित्य र श्रष्टाप्रतिको सम्मान हो भन्ने लोकले बुझेको हो । आज जीवनको यो वयमा समेत नेपाली भाषा साहित्यप्रति साधना निरन्तर छ । समग्र वाङमय क्षेत्रको उच्च र एक मानकको रूपमा स्थापित छन् कवि बैरागी काइँला ।
कविको सृजनायात्रा र राजनीतिक संलग्नताका यी विविध आयामबारे पढिरहँदाकै कालखण्डमा साहित्यकार कृष्ण धराबासीले बैरागी काइँला र तेश्रो आयाम नामक कृतिको प्रकाशन गर्नुभयो । उक्त कृतिको प्राप्तिले बैरागी काइँला र तेश्रो आयामको बहुपक्षीय आयाम बुझ्न ठुलो सहयोग पुगेको छ । धराबासीज्यूकै भनाइलाइ आधार मान्दा – जीवनको यो बयमा कविज्यूलाई आफ्ना सृजनाहरूको संकलन प्रकाशन गर्ने हुटहुटी छ । यो स्वभाविक पनि हो । ३ असोज २०७६कै दिन बैरागी काइँलाका संकलित कविताहरू नामक कृतिको बिमोचन इलामको सिटिहलमा कविद्वय श्रवण मुकारूङ र भुपाल किराँतीबाट भयो । अब उनका यस्तै अन्य रचनाहरूको संकलित संग्रह ल्याउने चाहाना कविज्यूको छ । यस कामका लागि मैले आफ्नो ठाउँबाट सकेजति लागेकै छु यो बेला । यसरी मैले देख्दा थोरै राजनीति र धेरै साहित्य सृजना एवम् अनुसन्धानात्मक बिचार निर्माणमा उहाँको संलग्नता रहेको छ । यीनै दुई पाटाभित्र खोज्दा भेटिन्छन् बैरागी काइँलाका बहुआयामिक स्वत्वहरू ।
कविज्यूसँगका सामिप्यताका श्रृङ्खलाहरू:
२०६४ साल माघको कुरा हो । त्यतिबेला तेश्रो आयाम पत्रिकाको प्रकाशक साहित्यकार अमर नेम्बाङ काठमाडौंमा बस्नुहुन्थ्यो । जनयुद्धको उन्मादमा पौवासारतापको घरबाट सामन्त करार गरेर उनको घरको पुस्तकालयका सबै किताब फ्याँकिदिएछन् । ब्यत्तिगत सबै सुबिधा छोडेर समाजसेवामा लागेका मान्छेलाइ जनयुद्धको नाममा अपमान गरेपछि मन दुखाएर काठमाडौं डेरा गरेर बस्थे अमर दाइ । अमरदाइसँग मेरो पुरानै परिचय थियो । संझनाका तरेलीहरू नामक उनको कृति प्रकाशन भएपछि हामीबीचको सम्बन्ध अझै झाँगीएको थियो । त्यतिबेला म पनि काठमाडौंमै बस्थेँ । त्यतिकैमा एकदिन म, धर्मेन्द्र बिक्रम नेम्बाङ र प्रकाश थाम्सुहाङ बसेर पाँचथर श्रष्टा मञ्च काठमाडौं नामको एउटा साहित्यिक सस्था बनाऔँ भन्ने सल्लाह गरियो । त्यसपछि हाम्रा कुरा सुनाउन अमर दाइको डेरामा गयौँ । एन्फा कम्प्लेक्सको पछाडि अमरदाइको डेरा थियो । हामीले हाम्रा कुरा सुनायौँ । दाइ सारै खुसी हुनुभो हाम्रो कुरा सुनेर । र संगठनको ठोस खाका पनि कोरिदिनुभो ।
सस्थाको नाम ठिक छ । अध्यक्ष दुलाल जी बस्ने । धर्मेन्द्र, प्रकाश, उपेन्द्र सुब्बा, चन्द्रवीर तुम्बापो, स्वप्निल स्मृति, रमेश सुभेच्छु लगायत सदस्यमा बस्ने । म – अमर नेम्बाङ, कृष्ण धराबासी, डा. गोविन्दराज भट्टराई, खगेन्द्र संग्रौला, विक्रम सुब्बा, राजेन्द्र सुबेदी सल्लाहकारमा बस्छौँ। काँल्दाइलाई संरक्षक बनाऔँ भन्नुभो । अमरदाइको योजनालाई हामीले स्विकार्यौँ । त्यसको भोलिपल्ट नै अमर दाइले मलाई सुकेधारास्थित काँल्दाइको घरमा लगेर जानुभो । मलाई चिनाउनुभो, र आफ्ना योजना सुनाउनुभो काँल्दाइलाई । अमरदाइको कुरा सुनिसकेपछि काँल्दाइ मन्द मुस्कानका साथ आफ्नो कुरा राख्न थाल्नुभो – लु हाओ , राम्रो कामको सुरूआत गर्न आँटेछौ । गर्नु, म संरक्षक अरे ? अमर दाइलाई सोध्नुभो । हो दाजु भइदिनु पर्यो । अमरदाइले भन्नुभो ।
एकछिन केही नबोली टोलाइरहनुभो काँल्दाइ । त्यसपछि भन्नुभो – हुन्छ , म बस्छु । म त बेजिल्ले पो भएछु त । पाँचथरमा जन्मेँ, इलाम, दार्जेलिङमा पढेँ, पछि झापा झरियो, अहिले यहाँ बस्छु । पाँचथरकोले यो झापा ग’को भन्छन्, झापालीले पाँचथरबाट झरेको भन्छन् । अहिले त न पाँचथरेले पाँचथरको भन्छन् न झापालीले झापाको ठान्छन् । यहाँ त कताको न कताको बैरागी काइँला, कस्लाई के मतलब ! तिमेरले सम्झेछौ, सारै खुसी लाग्यो ।
काँल्दाइले त्यसो भनिरहँदा अमर दाइ सारै प्रफुल्ल देखिनुहुन्थ्यो । चिम्सा आँखा झिमझिम पार्दै मुस्कुराइरहनु हुन्थ्यो । उहाँहरूको संवाद सुन्दै मुखाकृति हेर्दा मलाई भने अनुपम आनन्दानुभूति हुन्थ्यो ।
फेरि काँल्दाइले अमर दाइलाई सोध्नुभो – अध्यक्ष को, तिमी बस्ने ?
‘होइन , उहाँ दुलाल जी हुने । म सल्लाहकार बस्ने ।’
‘ए ठीकै छ यी लुंरूपे दुलाल हुन् । युवा छन् गर्छन् । लु बधाइ छ , राम्रो काम गर्नु’ भन्दै मलाइ धाप मार्नुभो ।
आहा! जीवनको त्यो क्षण ? शब्दमा म कसरी अनुवाद गर्न सक्छु र !!
त्यसरी कवि बैरागी काइँलाको संरक्षकत्वमा पाँचथर श्रष्टा मञ्च काठमाडौं बनाएर काम गर्न थाल्यौँ । त्यसै समयमा उहाँ नेपाल प्रज्ञा– प्रतिष्ठानको कुलपति हुनुभयो । उहाँको सम्मान कार्यक्रम गर्यौँ । यी सबै काममा सल्लाहकार अमर दाइ, डा. गोबिन्दराज भट्टराई र धराबासी दाइको प्रत्यक्ष निर्देशन र संलग्नता हुन्थ्यो । एकेडेमीसँगको सहकार्यमा श्रष्टा मञ्च र नौलो साहित्यिक विहान पाँचथरको सह आयोजनामा २०६६ साल चैत्र ३–६ मा तीन दिवसीय साहित्य सम्मेलन भयो । उक्त कार्यक्रममा कवि बैरागी काइँलालाई अतिथि बनाइयो , र सो अवसरमा उहाँलाई नागरिक अभिनन्दन गरियो । कार्यक्रम भव्य र ऐतिहासिक भएको थियो । कविज्यूको अभिनन्दनमा श्रष्टाहरू मात्र नभै पाँचथरका सर्वसाधारण जनताको पनि ठूलो संख्यामा उपस्थिती रहेको थियो । पहिलो र दोश्रो दिन हामीले फिदिम बजारमा कार्यक्रम गर्यौँ । थाम्सुहाङ, पुष्प सुब्बालाई महानन्द पुरस्कार प्रदान, कृतिहरूको विमोचन , कार्यपत्रहरूको प्रस्तुति र छलफल, नाटक मञ्चन र कविता वाचन र्कायक्रम सम्पन्न भयो । त्यो दिन कवि बैरागी काइँलाको करकमलबाट मेरो नाट्यकृति नाटक/अनाटकको विमोचन भयो ।
कर्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, कृष्ण धराबासी, बिक्रम सुब्बा, कृष्णभुषन बल, आरएम डंगोल लगायत पाँचदर्जन श्रष्टा पाँचथर पुगेका थिए । तेश्रो दिन हामीले बैरागी काइँलाको घर पौवासारतापमा कार्यक्रमको आयोजना गरेका थियौँ । कवि धर्मेन्द्र नेम्बाङको विशेष भूमिका र योजना थियो सो कार्यक्रम । काँल्दाइको घरको कार्यक्रममा धराबासी दाइ, सीता भाउजु र अन्य केही श्रष्टा काम विशेषले जान सक्नुभएन । उहाँहरूलाई हामीले मेची राजमार्गको गुम्बाडाँडाबाट बिदा गरेर पौवासारतापतिर लाग्यौँ । त्यो दिन गुम्बाडाँडादेखि सारतापसम्मै बाटैभरि कविज्यूको सम्मनमा गेटहरू बनेका थिए । बाटाको हरेक चोकमा गाउँलेहरू काँल्दाइलाई हेर्न उभिइरहेका थिए । त्यो बेला अमरदाइको घर रित्तै थियो । कवि राजेन्द्र परदेसी घरमै थिए । उहाँलाई पनि हामीले सँगै लगेर गयौँ पारिपट्टि कााँल्दाइको घरमा । लेखक कृष्णविक्रम नेम्बाङको घरनिर पुग्दा च्याब्रूङ नाचको टोली आयो । त्यै बेला एकजना बृद्धा आमै आएर कविज्यूलाइ भन्नुभो – होइन तँ त उस्तै पो रछस्, म जस्तै बूढो भयो भनेको त ।
काँल्दाइले सन्चै हुनुहुन्छ भन्नुभो आमैलाइ ।
विमारी भको भा त तँलाइ हेर्नु आउथे र ? तान्दी खाबाला ! म त ग’को । उहिले यो उत्तिसको हाँगा हाङओझा नागा भन्दै हिन्थ्यो ….। अहिले एस्तो भयो भन्दै आमै फर्किनुभो ।
यी सब दृश्यलाई गाबिन्दसरले रूचिसाथ नियालीरहनुभएको थियो । मैले धर्मेन्द्रलाइ सोधेँ– थाहा भो , ती आमै गाउँकी तामाङनी रहिछन् कविज्यूको बालसखा । तान्दी खाबा ला शब्दमा तीनवटा भाषाको संमिश्रण रहेछ । तान्दी को अर्थ लिम्बू भाषामा बस्नू । खाबा तामाड् भाषामा गर्नू / गर । ल नेपालीको तामाङ जिब्रोमा उच्चारित ला भएको । अर्थात तान्दी खाबा ला को अर्थ बस्दै गर ल म गएँ है भन्ने हुँदोरहेछ ।
चैत्रको सुख्खा याममा मान्छेको जमघटले पौवासारतापको आकाश धुलाम्मे भएको थियो । काँल्दाइले च्याब्रूङ टोलीको शीर उठाइदिएपछि हामी अगाडि बढ्यौँ । काँल्दाइको घर सारताप पुग्दा बिहानको ११ बजेको थियो । हाम्रो सत्कारमा परिकारहरू तयार थियो घरमा । आफ्नो जन्मघर पुगेपछि काँल्दाइ र भाउजु निक्कै भाबुक देखिनुहुन्थ्यो । धेरै वर्षपछि जन्मघर पुग्दाको सुखानुभूति र अतितस्मरणको आभाष देखिन्थ्यो उहाँहरूमा । केहीबेर दाइ भाउजुसँग फोटो सेशन चल्यो हाम्रो । काँल्दाइको घर भब्य आरसिसी सिमेन्टेड संरचनाको छ । उबेला गाउँमा बनेको यो घर आफैंमा एउटा नमूना र इतिहास पनि हो । दिउँसो स्थानीय मा.वि.मा कार्यक्रमका बीच काँल्दाइलाइ सम्मान गर्यो । त्यो विधालयको स्थापना काँल्दाइका पितापुर्खाले गरेका थिए । त्यो दिन पनि विधालयको थप उन्नयनका लागि नेम्बाङ परिवारको तर्फबाट ६ लाख उपलब्ध गराउनुभयो ।
बेलुका काँल्दाइको घरमा काव्यसाँझको आयोजना भयो । त्यो कवि धर्मेन्द्रको योजना थियो । काँल्दाइको मुलघर अर्धजीर्ण अवस्थामा छ । काँल्दाइले आफ्नो घरको इतिहास र महत्वका बारेमा जानकारी गराउनुभयो । त्यही घरमा बसेर अन्बेषक कर्कपेट्रिकले लिम्बू भाषाको अध्ययन गरेका थिए । साँझ छिप्पिँदै थियो , काल्दाइले घरको छतबाट भन्नुभो – होइन हओ धर्मेन्द्र खोइ हओ तेरा कविहरू ? खुबै गफ लाउँथिस् त ! आँगनमा आगो बाल् । एसो पोलपाल गर्, अजिलेको भाषामा क्याम्पफाएर चलाओ ।
हामीले त्यसै गर्यौँ । क्रमश: स्थानीय श्रष्टाहरू आउन थाले । अब काव्यसाँझ प्रारम्भ भयो । सबै श्रष्टाले बैरागी काइँलालाइ प्रश्न गर्न थाले । केहीले कविलाई आफ्नै घर आँगनमा भेट्न पाउदा खुसी ब्यक्त गरे भने कत्तिले आफ्नो गुनासो पनि पोखे । भ्याएजति श्रष्टाले आफ्नो रचना सुनाए । त्यहाँ वाचिएका कविता र विचारलाई समेटेर गाबिन्द सरले समराइज सम्भाषण गर्नुभयो मैले अघिल्लै दिन फिदिमको कार्यक्रममा कविको घरलाई संग्रहालय बनाउने र त्यसका लागि कवि बैरागी काइँला प्रतिष्ठान बनाएर काम गर्नपर्ने प्रस्ताब गरेको थिएँ । आज पनि गोबिन्द सरले मेरो प्रस्ताबलाइ समर्थन गर्नुभयो । अन्त्यमा कविज्यूले आफ्ना यी विचार राख्नुभयो – ल धर्मेन्द्र तेरो तेरो काब्य साँझ सफल भो । साँच्चै रहेछन् तेरा कविहरू यो गाउँमा । मैले त पत्याएकै थिइन यहाँ यतिका युवाहरू साहित्यमा लागेका छन् भनेर । खुसी लाग्यो । यी सबै मेरा भाइ भतिजा , नाती पुस्ताका हुन् । लेखकहरूले काइँलाको घरमा कविता यात्रा शीर्षक राखेर नियात्रा लेखे गज्जब होला, आहा ! जहाँसम्म डा. दुलालले यो हाम्रो घरलाइ संग्रहालय बनाउने, मेरै नाममा प्रतिष्ठान स्थापना बनाउने प्रस्ताव गरेका छन् , यो सारै राम्रो कुरा हो । म खुशी छु । यो घर अझै हाम्रो साझा स्वामित्वमा छ, पारिवारिक सरसल्लाह गरेर पछि म तपाईहरूलाई बताउँला । मेरो घरमा आइदिएर यतिको भव्य काव्य साँझ सम्पन्न गरिदिनुभो, यस अनुष्ठानका लागि आभारी छु । यहाँहरू सबैलाई मुरीमुरी धन्यबाद दिन्छु । अब एसो दुखसुख जे जस्तो पाकेको छ, खाऔँ र आराम गरौँ । अब आजको कवि काइँलाको घरको काव्य साँझ यतिकैमा सकियो । धन्यबाद ।
काँल्दाइको घरमा काव्य साँझ सकेर त्यो रात हामी त्यही घरमा सुत्यौँ । भोलिपल्ट काँल्दाइ, भाउजु, गोबिन्दराज सर, सकुन्तला जोशीलाइ घरमै छोडेर धर्मेन्द्र, आरएम, देबेन्द्र सक्तेन, रमेश शुभेच्छु , प्रेम ओझा र मलगायतका साथीहरू
वारिपट्टि राजेन्द्र परदेशीको घरमा आइपुग्दा लिम्बुवानको बन्द भन्ने हल्ला आयो । बुझ्दा हो भन्ने थाहा भयो । फरि परदेशीको घरमा प्रभातकालिन कविता गोष्ठी चलाइयो । तर कवि परदेशी ले कविता सुनाउन मान्नै भएन । उनैको घरमा खाना खाएर बेलुका राँकेमा बास बसेर पर्सिपल्ट फर्कियौं । यतिका कार्यक्रम सकेर काठमाडौं आएपछि काँल्दाइलाइ म प्रति थोरै विस्वास र भरोषा जागेछ क्यार , एकेडेमीमा बोलाएर मलाइ धन्यवाद दिनुभयो । त्यो क्षण म मा हर्षका सीमाहरु न् ैथिएनन् । अब भने काँल्दाइको नजरमा म जँचेछुजस्तो पनि लाग्यो ।
यतिबेला सम्झिन्छु –त्यो साहित्यिक यात्रामा सहभागी कृष्णभुषण बल अस्ताए । सीताजी अस्ताउनुभयो । कवि राजेन्द्र परदेशी पनि हामीबीच रहेनन् । त्यहाँ सहभागी नभएका स्रष्टा , तेश्रो आयामको प्रकाशक अमर नेम्बाड् पनि हामीबाट विदा भए । यात्रामा निस्किएका यात्री न रहेछौं हामी स्रष्टा भनिएका मानिसहरु पनि ।
५. सम्बन्धको पट्टाक्षेप
त्यसयताका दिनहरुमा कविज्यूसँग मेरो पारिवारिक साइनो स्थापित भयो । काठमाडौं जाँदा उहाँलाइ भेट्नु र केही कुरा सुन्नु मेरा लागि जीवित पशुपनिाथ भेटेर आर्शिबाद लिनुजस्तै हुन थाल्यो । मेरा हरेक कृति उहाबाटै विमोचन हुनथाल्यो । मैले अनुरोध गर्नासाथ उहाँले स्वीकार्नुहुन्थ्यो । यही शिलशिलामा मेरो घरफर्क उपन्यास को विमोचन २०७३ साल चैत्र २० गते काठमाडैंमा उहाँबाटै भयो । मेरा आदरणीय ठुल्दाजु डा. तुलशी भट्टराइको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हाम्रो विचमा रहेको सम्बन्धबारे यसरी बोल्नुभो – लेखक दुलाललाइ धेरैधेरै बधाइ । यिनी पाँचथर लुंरुपाका दुलाल हुन् । फेजड् मुन्तीर फेमे र आत्तावा खोलाकिनार आसपास बस्ने । उता तमाखेको फेदतिर , माथि मकैबारी , सिक्रेथामतिर गोठ पालेर बस्थे यिनका बाउबाजेहरु । यी ठाउँहरु सारै विकट छ , खोँच , चेप । हामी नेम्बाड्को उत्पतिथलो पनि त्यही नै हो । हाम्रा पुर्खा र यीनका पुर्खा आदिदेखि आजसम्म बसेका छन् । त्यही भूमिबाट उम्रिएर अन्यत्र फैलिएका हौं हामी नेम्बाड्हरु । हामीले कुलपूजा गर्दा फेजड् ,आत्तावा खोला , तमाखे , नाड्लापा ,लुंरुपाको डाँडाकाडा , खोलानाला पुकार्नपर्छ ।
२०३६ सालमा म प्रजातन्त्र र बहुदलीय ब्यवस्थाका पक्षमा भाषण गर्दै प्राड्बुड् पुगेको थिएँ । त्यहाँ पञ्चायत पक्षधरका मान्छेले हामीलाइ ढुंगामुढाले लघारेर खेदे । हामी भाग्दै आएर यीनकै घरमा बसेका थियौं । हो त्यही घरबाट उठेर आएर आज देवीले हामीलाइ यो कृति दिए । नेपाली साहित्यमा यो ठूलो प्राप्तिी हो । यो कृति मैले पढेको छैन , तर डा. गोविन्दराज भट्टराइजीले लेखेको भूमिका र उहाँको समालोचकीय मन्तब्य सुन्दा नेपालको ठुलो करुणाक्रन्दन बोलेको रहेछ कृतिले । र यी तमाम समस्यालाइ नासेर देशलाइ उज्यालो दिने र जनजनलाइ खुसी दिने , संमृद्धि बाँड्ने योजना समेत बुनेका रहेछन् । म यसलाइ मनैने पढौंला र थप कुरा भनौंला । यीनकै भान्जा खलक हुन नाड्लापाका दिपक बास्कोटा , उनि मेरा भाइसाथी हुन् । उनले इलामबाट चियाको बिरुवा पाँचथरमा लगेर रोपे । अहिले उनको चिया कञ्चन्जंघा टि स्टेटको नाममा विस्वप्रशिद्ध बनेको छ ।
म सम्झिन्छु – जतिबेला मेची राजमार्ग चारालीबाट इलामतिर अघि बढ्यो , त्यतिबेला बाटोले गाउलाइ छाडेर हुरहुरे डाँडा हुँदै हुँदै कन्याम तिर लाग्यो । गाउँका मान्छेहरु गाउँ छाडेर बाटाकिनारमा सानो छाप्रो हालेर बस्न थाले । गाउँ छाड्न थाले । त्यो देखेर मलाइ सारै दुख लाग्थ्यो । तीसको दशकसम्म हाम्रै खेतमा उत्पादन भएको बास्नादार धानको चामलको भात खान पुगेर उब्रेको धान बिदेशमा निर्यात हुन्थ्यो । तर आज हाम्रो अवस्था के छ ? मल्टीनेसनल कम्पनिहरुले देखिसहेनन् हाम्रो राइस मिललाइ । हाम्रो चियालाइ , अन्य घरेलु उधोगलाइ , त्यहाँबाट उत्पादित हाम्रो सामानलाइ । आज हामी हेर्दाहेर्दै परनिर्भर बन्दै गएका छौं । हाम्रो राजनीतिक नेत्रित्वले यो अवस्थाप्रति खोइ त ध्यान दिएको ? अहँ दिएनन् । अब लेखक साहित्यकारले त्यतातिर ध्यान दिनुपर्यो । यीनै समस्याहरुको अध्ययन गरेर नै यो कृति लेखिएको होला । उहिले हामी तेश्रो आयाम चलाउँदा , आयामिक लेखन गर्दा सन्सारका सबै विषयलाइ एकैठाउँ मोथोर जेनेरलाइज गरेर लेख्थ्यौं एउटै वितामा । तर आज स्पेसिफिक लेखनको बेला आयो । दुलालको यो कृति स्पेसिफिक लेखनको नमूना होला । लेखकलाइ म धेरैधेरै धन्यवाद र आशिर्वाद दिन्छु । आउँदो दिनमा पनि यीनको कलमबाट अझ स्तरीय सृजना हुन सकोस । यही सुभकामनाका साथ मेरा कुरा सक्छु , धन्यवाद ।
१९ बर्ष पहिेले बिराटनगरमा संकेत भएको हामीबिचको सम्बन्ध आज आएर बल्ल पट्टाक्षेप भयो । उहाँ मेरो पीतातुल्य अबिभावक हुन् । यसै कारण म उनलाइ आदरणीय काँलदाइ , काइँलाबा भनेर सम्बोधन गर्छु । यही बर्ष मैले काले दमाइँ नाटक लेखें । तयसमा उहाँकै हस्ताक्षर भएको चार शब्द शुभकामना लेखिमाग्न गएको, म भूमिका लेख्छु भन्नुभो र पर्सिपल्टै मेलमा पठाइदिनुभो । त्यहाँ मेरो सृजनाबारे उहाँको मूल्यांकन रहेको छ । यो उहाँले म प्रति देखाउनुभएको हाम्रो पुस्तौनी सम्बन्ध र मायाको धोतक हो । आजसम्म हामी उनै नेम्बाड्को उत्पतिथलो लुंरुपामा बसीआएका छौ. । मेरो सालनाल त्यही माटोमा गाडिएको छ ।
४. कृति र विचारको आलोकमा बैरागी काइँला
ब्रौगी काइँला नेपाली साहित्यजगतका शीखर कवि हुन् । उनले कविताको मात्रामा वास्त गरेनन् फेरि गुणमा कहिल्यै सम्झौता पनि गरेनन् । उनको कवितामा विचार सुन हुन्छ र कला सुगन्ध हुन्छ । विचार र कलाको संयोजनले नै बैरागी काइँलाका कविताहरु मानक बनेका छन् । पछिल्लो प्राप्ति अनुसार उनका जम्मा ४८ वटा कविता र १६ वटा गीत रहेका छन् । कवितामा विषयगत वैविध्यता छन् । संरचनागत आकारका आधारमा लामा , मझौला र छोटा कविता छन् । विषयगत र समस्यापुर्तीपरक छन्दका कविता पनि रहेका छन् ।
उनि प्रयोगधर्मी कवि हुन् । कवितामा रेखाचित्रको प्रयोग गरेका छन् । रेखाले पनि मानवीय समबेदना छुन सक्छन आफ्ना वविताहरुमा कवि बैरागी काँइला । शब्द चयन र वाक्य गठनमा वैविध्यता छन् । कतै सरल वाक्य गठन भएका हुन्छन त कतै क्लिष्टतम शब्दहरु जेलिएर उनिएका हुन्छन , खाप्चे परेर बसेका हुन्छन् । तर पढ्दै जाँदा ओखरको खपटाभित्रबाट दिउल खाँदाको रसास्वादन हुन्छ काल्दाइका कविताहरुमा । जीवन जगतका मेझेरीमै लहरीएका छन काँल्दाइका कविताका सत्वहरु । आफ्नै खालका विम्ब र प्रतीकहरु , रैथाने मिथकहरुको संयोजन भएका हुन्छन् । उनका सृजनाहरु सप्पैबाट यसको पुष्टि हुन्छ । कवितामा नेपाली , अंग्रेजी लिम्बू नेपाली , संस्कृत र हिन्दी भाषाका शब्दहरु प्रयोग भएका छन । विधागत टेक्निकल शब्दहरु पनि उनका कविताहरुमा सिक्रीका अंश झैं एकसाथ उनिएर आएका हुन्छन । यी सबै पक्ष कवि बैरागी काइँलाका कवितामा भेटिने पृथक विशेषताहरु हुन् । समालेचक कृष्ण धराबासीको समालोचनात्म कृति बैरागी काइँला र तेश्रो आयाम मा यसबारे मिहीन समीक्षण भएको छ । यसका साथै अन्य समालोचकहरुले पनि कवि बैरागी काइँलाका कविताहरुमाथि आ–आफ्नो समालोचकीय दृष्टि प्रस्तुत गरेका छन ।
कवि बैरागी काइँला सिद्धहस्त गीतकार पनि हुन् । उद्विारा रचित १६ थान सग्ला गीतहरुले यसको पुष्टि गर्छ । उनका गीतहरुमा फगत मायापिरतीका प्रलाप मात्र नभएर जीवन जगतका बहुआयाम समेटिएका हुन्छन् । मानवीय जीवनका जीजिबीषाहरु उम्रिएका हुन्छन । यसर्थ कविका गीतहरु मान्छेका कालजयी धुनहरु हे । यस अतिरिक्त उहाँ सम्पादक ब्यक्तित्व पनि हुन् । दार्जेलिड्बाट अमर नेम्बाड्को प्रकाशनमा तेश्रो आयाम पत्रिकाको सम्पादक भएर साहित्यको सेवमा समर्पित भए । त्यो पत्रिकाबाट नेपाली साहित्यमा आयामिक सिद्धान्त प्रतिपादन गर्न सफल भए । साथमा इन्द्रबहादुर राइ र इश्वर बल्लभ थिए । जम्मा पाँच अैक प्रकाशन भएपछि तेश्रो आयाम पत्रिका बन्द भयो । यो पत्रिकाको सम्पादक काँल्दाइ आज जीवनको यत्तरार्धमा छन । उनका सहयोद्धात्रय राइ , बल्लभ र अमर अस्ताइसके हामीबीचबाट । कवि बैरागी काइँला समालोचक , निबन्धकार , कथाकार र अनुसन्धाता ब्यक्तित्व पनि हुन् । लिम्बूभाषा , साहित्य , सस्कृति , इतिहास र मुन्धुमका विविध आयामबारे गहीरो अध्ययन , अनुसन्धान गरी कृति प्रकाशन गर्नु नै यो कामको प्रमाण हो । लिम्बू जातिमा कोखपूजा नामक कृति यसैको एउटा उदाहरण हो । यसका साथै लिम्बू , नेपाली , अंग्रेजी भाषाको शब्दकोष को लेखन , समपादन गर्नभएको छ । यो शब्दकोष लिम्बू भाषा सिक्न चाहनेका लागि मानक ग्रन्थ हो । यसरी लिम्बू लेपाली भाषालाई ब्यापक बनाउने काममा पनि कविको महत्वपूर्ण योगदान रहेको छ । कुनै पनि नेपाली मातृभाषालाई अन्य भाषीको बीचमा पुर्याउन नेपाली र अंग्रेजी भाषामा अनुबाद गर्न जरुरी हुन्छ । यसको आधार भनेकै यी भाषामा शबदकोष बनाउनु हो । यही कुराको महत्वबोध गरेर नै उहाँले यो कामको समपादन गर्नभएको देखिन्छ । यसरी उहाँले लिम्बू नेपाली भाषालाइ अन्य भाषामा प्र्युाउने काममा योगदान गरेको प्रष्ट हुन्छ ।
काइँला सिद्धहस्त निबन्धकार हुन । उनका छरिएर रहेका निबन्धहरुको प्राप्तिले यसको पुष्टि गर्छ । उनका निबन्धहरुमा साहित्य , दर्शन , इतिहास , धर्म सस्कृति र विज्ञानका विषयमाथि आफ्नो विचार मुखरित भएका हुन्छन् । सारै खँदिला , चोटिला , मीठा शब्दहरुको छनौट गरेर खिपेर , माझेर कुँदेर टल्काउँनमा निपूर्ण देखिन्छन् । गहनतम विषयलाइ सरल , सुस्वादु र पठनीय बनाउन हाँस्यब्यंग शैली र चेतलाइ उनको निबन्धमा आत्मसात गरिएका हुन्छन् । कतिपय पत्रात्मक शैलीका निबन्ध पनि छन् । कुनै पात्रलाइ सम्बोधन गर्दै मान्छेका मनका आन्तरिक चाहाना , समस्या र आकांक्षाहरुलाइ विश्लेषणात्मक ढंगले प्रकटिकरण हुन्छन् उनका निबन्धमा । प्रतिनिधि उदाहरणको रुपमा स्टार सिग्रेट , काल , मुख जस्ता निबन्धलाइ हेर्दा पुग्छ । यी निबन्धमा उनले जीवन जगतका बारेमा , प्रेम , मिलन ,विछोड , जन्म र मृत्यूका बारेमा आफ्नो विचार राखेका छन् । यीनको निबन्धमा विचार पक्ष सारै गहन हुन्छन् । मनोविज्ञानको सूक्ष्म विश्लेषण भएका हुन्छन भने तिनको प्रकटिकरण मान्छेले कसरी गर्छ ? भन्ने बारेमा कविको धारणा मुखरित भएका हुन्छन । निबन्धहरुमा भाषिक स्तरीयता हुनु निबन्धकारितामा काइँलाको शक्ति , सौन्दर्य र सामर्थ्य हो भन्ने देखिन्छ ।
तेश्रो आयाम र आयामिक लेखन (मुकुट त्रैमासिक , २०२१ बर्ष २ अंक ३) शीर्षकको निबन्ध उहाँको सर्बाधिक महत्वको बैचारिक निबन्ध हो । यसै निबन्धमा तेश्रो आयाम र आयामिक साहित्यका बारेमा उनले आफ्नो बिचार प्रक्षेपण गरेका छन् । त्यसयता आयामिक साहित्यमाथि उनको थप विचार आएको देखिदैन । यस अतिरिक्त नियात्रात्मक निबन्ध पनि उनीद्वारा सृजित छन् । चीन यात्रा बारे मधुपर्कमा प्रकाशित एउटा निबन्ध यसको मानक उदाहरण हो । उनका अनुमानित ६ दर्जन जति निबन्ध विभिन्न समयका पत्रपत्रिकामा प्रकाशित भएका छन् । कतिपय अप्रकाशित पनि होलान । अब हामीले उनका यी र यस्ता रचनाहरूको खोजिमेली गरेर एउटै सग्लो संकलित संग्रह प्रकाशनमा ल्याउँन जरुरी छ ।
हामी श्रष्टाहरू कवि बैरागी काइँलाका मानस सन्तान हौँ । हामीले अग्रजको सम्मान स्रष्टा जीवित छँदै गर्न सक्नुपर्छ । मरेपछि स्मृतिग्रन्थ निकाल्नु भन्दा जीवित रहँदै मूल्यांकन ग्रन्थ या अभिनन्दन ग्रन्थ निकाल्नु उत्तम कार्य हो । यसो गर्नसक्दा स्रष्टा स्वयम्ले आफ्नो सृजनामाथि अरुले गरेको मूल्यांकन हेरेर सन्तुष्टि लिने अवसर मिल्छ । आफ्ना सबै सन्तानको मुख हेरेर मर्न पाउँछन् । कवि बैरागी काइँला संख्यामा थोरै लेखेर सृजनाको आलोकमा निरन्तर चर्चामा रहने, प्रभावशाली ब्यक्तित्व पाठकलाइ दिन सक्ने कवि हुन । थोरै लेखेर साहित्यको सगरमाथा सफल आरोहण गर्ने कवि हुन । एक पटक साहित्यको धुरीमा चढेपछि निरन्तर धुरीमै टिकिइरहने स्रष्टा हुन बैरागी काइँला । यो हाम्रा लागि गौरबको विषय हो । यी लगायत कविज्यूको अन्य योगदानबारे बस्तुवादी बिश्लेषण सहितको कृति उहाँलाई उपलब्ध गराउँन सक्दा आत्मिक सन्तुष्टि मिल्छ । भावी पुस्ताका लागि प्रेरणादायी कार्य हुनेछ । यही ऐतिहासिक दायित्वबोध गरेर नै वरिष्ठ साहित्यकार कृष्ण धराबासीज्यूले यो महान कार्यको नेत्रित्व गर्नुभएकामा दाइलाइ सलाम । श्रदेय काँल्दाइलाई नमन र हार्दिक अभिनन्दन ।
०००
लेखक परिचय
राजनीतिशास्त्र (नेपाली प्रेसमा राजनीतिक प्रभाव) मा विद्यावारिधी गरेका दुलाल – चार खोल साप्ताहिक, इलाम (२०५४), अपरेसन साप्ताहिक, पाँचथर (२०५६) , आँखा साप्ताहिक, इलाम (२०५९ देखि २०६४ सम्म), आँखा द्वैमासिककाे सम्पादककाे रुपमा काम गरिसकेका छन् । नेपाल विद्याभूषण, नेपाल सरकार (क) २०६७ क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०७२), बुद्धि घिमिरे वाङ्मय पुरस्कार (२०७३), यमुनादेवी वैजनाथ भट्टराई पत्रकारिता पुरस्कार (२०७४) लगायतका पुरस्कारबाट संम्मानित दुलालका साहस, नाटक (२०५१) , सेतो परेवा, एकाङ्की संग्रह (२०५५) , रङ्गधोजी, उपन्यास (२०६०), विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) लगायत दजनाैँ कृतिहरु प्रकाशन भइसकेका छन् ।