२०७३ साउनको तेस्रो साता । म वैरागी काइला भेट्न सुकेधारा पुगेको थिएँ । उनी आउने साता ७८ लाग्नेवाला छन् भनी के सम्झाइदिएको, काइँला आधाउधी उठि गए– ‘हैट । हो र ?’
एक्कैछिन के सम्झेर हो, फेरि बसिहाले । ढाका टोपी फुकालेर घुँडामा राखे । चस्मा खोले । आँखा चिम्चिमाउँदै यस्सो केही सम्झेजस्तो, गनेजस्तो गरे । अनि मफलर पछिल्तिर झड्कार्दै सकारे, ‘आबो, लागियो नै भनुम् न ।’
बुढो भैजाऊँ त कसलाई लाग्छ र ? उमेरमा कहिल्यै हाँगा नलागोस् । बिग्रेको ग्रामोफोन बज्दाबज्दै अड्कियोस् र भनोस्– सत्र/सत्र/सत्र/सत्र/सत्र… ।
आम्बो, सत्र वर्षे हुन पाए ! काँल्दाइलाई (उनकै शब्दमा) ‘के–के न खालो सार्थें’ भन्ने परेको छ । समवयीहरू तासको पत्ताझैं एक–एक छुट्दैछन् । भर्खरै अम्बर गुरुङ बिते । फेसबुकका तिलविक्रम नेम्वाङले फेसबुक वालमा बिस्मात् पोस्ट गरे । काइँला फेसबुकमा खुब रत्तिएका छन् । अब त झिँजो लाग्न थालिसक्यो ।
‘आबो के छ भने…, कुरो सुरुबाटै थालूँ होइन त ?’ वरिष्ठ–बर्थडेब्वाइले पोयो फुकाए, ‘लोभै भनुम् भने, बाँच्ने लोभ त छैन, तर समय कम पाएँ कि जस्तो लाग्छ । मैले अल्छ्याइँ गरेर चिताएको जति काम गरिनँ । अहिले हतारमा छु । छिटो–छिटो बाँकी काम गरिहालूँ ।’
तर, उमेर बिग्रेको फोनबाजाको चक्का होइन ।
वैंशको ग्रामोफोन बज्दै–बज्दै ..सत्र/अठार..पचास/साठी/सत्तरी काट्दासम्म अब त मोबाइलमै गीत डाउनलोड गर्न मिल्ने भइसक्यो । उमेर सत्रमै अड्केर वैंशालु हुँदो हो त उनले यतिविधि हतार गर्नुपर्ने थिएन । काइँला डाँडामाथिका घामजून भइसके । हतार–हतार हाट भर्नु छ । सौदापात गर्नु छ । थालेर नसिध्याएका असरल्ल काम छन् । लिम्बु श्रुतिपरम्परामा भएका विरासत हराउलान् भन्ने पीर उनैलाई छ । भोलिको पुस्ताले नबिर्सोस् भनी टंकण गरी राख्नु छ । ‘अजम्बरी बाँचूँ भन्ने केही छैन, तर उमेर…!’ काइँला काव्यिक पछुतो मान्छन्, ‘हातमा भाको खर्च अलिअलि गर्दै सिद्धिएजस्तो लाग्छ ।’
शृंगारिक होओस् या प्रयोगपरक– आधुनिक नेपाली कविताका चोमोलुङ्मा नै हुन् काइँला । प्रत्येक युवाकविलाई लाग्छ– अग्लिएर काइँला हुन पाए । किन हो कुन्नि, ‘उनीभन्दा अग्लो हुन पाए’ कोही सोच्दैन । आयामेली तीन लेखकमध्ये यिनले उमेरमा लेखेथे ‘आजकल सपनामा/म पर्वत चढिरहेको हुन्छु ।’ उमेरको सिँढीमा थुप्रै कवि छन् । शिखरमा काइँला । यिनको अतृप्त घिडघिडो अब तिनमा सरोस् ।
काइँलाको औडाहा कसले शान्त पारिदिने ! उनलाई भने आफ्नो काम ‘कत्ति पुगिनछु’ लाग्छ । मोतीरामले ३० वर्षमै त्यत्रो भ्याएर गए । देवकोटा ५० वर्ष । उनकै दौंतरीमा भूपी शेरचन– ५२ वर्ष । ‘सक्नेले कम उमेरमै भ्याउँदो रै’छ भाइ । म परेछु लठ्ठक । चलेगा किसिमले चल्ने हुँदा आज यो उमेरमा यस्तो हतारपतार,’ जिस्केको होला भनेको, बुढा साँच्चिकै खुम्चिए ।
‘अन्त, त्यत्रो कविता । अनि मातृभाषाको वाङमय, साहित्य, अनुवाद, लिम्बू शब्दकोष ? सबै तपाईले गरेको होइन ?’
‘ए, त्यो ? त्यो पनि कुनै काम हो ? राम्रो कविता लेख्न नसक्दाखेरि के त्यत्तिकै बसिराख्नु भनेर मुन्धुम अभिलेख र विश्लेषण गरेको न हो ।’
ए.., बुझियो । उनका लागि त्यो कुनै काम होइन । अझै जित्न खोजे, ‘चुनावमा हारेको नेताले कोसिस गर्दागर्दा पनि नसकेपछि जित्नुको लागि अर्को क्षेत्रमा सरेको जस्तो मात्रै । मलाई ‘काइँला’ भनेर चिनाउने त ‘वैरागी काइँलाका कविताहरू’ नै हो ।’
२०३१ सालको साझा पुरस्कार जित्ने उक्त कृतिले उनलाई अरुले नभेट्टाउने दुर्गम उचाइ दियो । साहित्य लेखेर कोही ‘सेलिब्रिटी’ हुन्थ्यो भने त्यसबेला उनी थिए । काठमाडौं र दार्जिलिङका कुलीन जमघटमा उनको राम्रै माग हुन्थेछ । उसै त तिनताक ‘तेस्रो आयाम’ को जगजगी थियो । इन्द्रबहादुर राई, ईश्वरवल्लभ र उनी मिलेर दार्जिलिङबाट थालेको त्यो साहित्यिक आन्दोलनसँग एकसेएक नामी साहित्यिक/समालोचक/विद्वान थर्कमान थिए । एकान्तको अजिंगरले सताउँदा काइँला उमेरमा केही गरिएन भनी सुर्ता मान्छन् । उनका चर्चित कविता र गीत लेखिँदा २७–२८ वर्षमा हिँड्दै थिए । अब केही छ भन्नु ? अरुलाई हरेक कृतिमा उसैगरी तागत निकाल्नुपर्छ । कविलाई एउटा दौड जिते काफी ।
कवितागिरीमा चार दशक गयल परेका उनी, एक्कैचोटि । तीन वर्षअघि दोस्रो कविता संग्रह ‘अन्धा मान्छेहरू र हात्ती’ सहित दृश्यमा आए । प्रुफ मिस्टेक धेरै भयो भनेर उनी क्षुब्ध छन् । जटिल काव्य–संरचना बुझ्न अहिलेका व्यावसायिक प्रकाशक/सम्पादकलाई कठिन पर्यो कि ? सोच्दैछन्– ‘२५–३० हजार खर्चेर ५ सय प्रति आफैं छापूँ ।’ त्यतिमा हिजोआज कविता संग्रह छापिन्न ।
आहान नै छ– मान्छे बुढिँदै गएपछि झोंक बढ्तै चल्छ । हो कि होइन उनै जानून् । उमेरमा उनैको एउटा कविता चर्चित भयो– ‘बस्, झोंक चल्छ ।’
झोंक त उनलाई अझै चलिरहेकै छ । रिसमाथि अनेक ‘रिसर्च’ भएका छन्, संसारमा । रिसका फाइदाबारे कुनै निष्कर्ष छैन । खाली बेफाइदामात्रै ! काइँलाको अलि फरक मत छ– कहिलेकाहिँ रिस पनि फ्लुकले सही ठाउँमा लाग्यो भने सकारात्मक परिणाम ल्याउँछ । ‘कत्ति तटस्थ बस्नु हाउ ? तटस्थताले मान्छेलाई निष्क्रिय बनाउदो रहेछ,’ आजकलको अनुभूतिलाई उनी उबेलाको कवितामा ऐना हेर्छन्, अनि भन्छन्, ‘रिसाएन, झोंक्किएन भने त स्फूर्ति पनि नआउँदो रहेछ । कहिलेकाहिँ तटस्थताको नतिजा नकारात्मक, झोंकको नतिजा सकारात्मक पो आउँदो रहेछ ।’
अब आयो, खास्सा कुरो । कसरी ? कसरी, कसरी ?
राणा फाल्ने क्रान्तिलाई पूर्वबाट हाँक्नेमध्ये एक पान्थरे नेम्वाङ परिवारका उनी राजनीतिमै पसेथे । व्याख्यामा गए– हाम्रो जनता सात सालमा नरिसाएको भए प्रजातन्त्र आउने थिएन । २०४६ र २०६३ पनि आउने थिएन ।
के अहिलेचाहिँ रिसको क्रमभंगता भएको हो त ? काइँला माओवादी शैलीमा ‘चीजलाई यसरी बुझ्नुपर्छ’ भन्छन् । अनि थप्छन्, ‘अझै पनि रिसाउन त रिसाइरहेकै छन् । तर ‘जनता’ होइन ‘पार्टी’ रिसाउँछन् । त्यस्तो रिसको के काम ?’
प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा देश संविधान निर्माण, मधेस आन्दोलन र नाकाबन्दीको त्रिकोणात्मक रिसमा थियो । अब त पासा उल्टियो । काइँला भन्छन्, ‘कुरो मिल्दैन है, मिल्दैन । ओली अहिले रिसाएका छन् । उन रिसाउन थालेपछि कसैले सम्झाएकै मान्दैनन् । एउटा हिन्दूराष्ट्र नपाएर रिसाएको छ । अर्को धर्मनिरपेक्षता हटिगयो भने बेपत्ता रिसाउनेवाला छ । कसैलाई गणतन्त्र र संघीयतामै रिस । आ–आफ्ना लागि रिसाउनेको संख्या बढ्यो ।’
त्यसो त काइँला आफैं चाहिँ खासै रिसाउने होइन– को जिकिरमा छन् । सन् १९६० मा दार्जिलिङमा नेपाली भाषा आन्दोलन चल्दा उनी विद्यार्थी आन्दोलनका संयोजक थिएछन् । पश्चिम बंगाल सरकारले नेपाली भाषालाई सरकारी कामकाज, पाठ्यक्रमको मान्यता नदिँदा भारतीय गोर्खाको झोंकमा मिसिने हुँदा उनी त नेतै भइगएछन् । २००७ का क्रान्ति कमान्डर भूविक्रम नेम्वाङका काइँला भाइ यिनी नेपाल पसेर कांग्रेसको राजनीतिमा पनि खुब हिँडे । २०६२/६३ को जनआन्दोलनमा त उनी ‘स्रष्टा खायलका गिरिजाप्रसाद’ नै हुन पुगे । गणतन्त्रमा ‘राजकीय’ गयल परेको नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति यिनै काइँला हुन पुगे । यस्ता किस्सा थुप्रै छन् । कुल मिलाएर भन्दा, यी योगदानलाई झोंकका उपलब्धि भन्नुपर्यो !
‘म त सानैमा टिबीको बिमारी कि । तर दार्जिलिङको भाषा आन्दोलनमा कस्सिएर नाराजुलुसमा लाग्ने हुँदा त्यो टिबी कसरी आफैं ‘रिल्याप्स्’ भैगयो मै चकित छु,’ घुँडाको ढाकाटोपी फुलाम्मे शीरमा ढल्काउँदै काइँला कित्कित् हाँसे, ‘आन्दोलनमा लागेर अरु बिमार हुन्थे, मचैं निको भएँ, कसोरी–कसोरी ।’
सत्यमोहन जोशी र माधव घिमिरेको शतायू आफूलाई मिल्ला–नमिल्ला ! काइँलाले यतापट्टि पनि सोचिहेरे । सिगरेट छाडिसके । हार्डड्रिंक्स गर्दैनन् । युरिक एसिड बढेपछि बियर पनि बन्द । कोदोको जाँड र तोङबा खाइबस्छन् । आजकलका पार्टीतिर जाँदा त्यो कहाँ पाउनु ! फट्याकफुटुक वाइनको सुर्को लिन्छन् । अब त मान्छेले देउता र माङलाई ‘ब्ल्याक–लेबल’ चढाइदेलान् भन्ने डर !
एकैपल्ट चार–पाँच पुस्तकको तयारीमा छन् काइँला । ती सबै लिम्बू मातृभाषासम्बन्धी हुन् । पुस्तक लेख्ने कुनै खास समय छैन । कार्यक्रममा जानेबाहेक हरक्षण सुकेधाराको घरैमा भेटिन्छन् । बचेको समय फेसबुकलाई छ । तर अब ‘भर्चुअल भाँडो’ का साथीभाइसँग अघाएजस्ता छन् ।
उनी फेसबुकमा पसेका रहेछन्– खास एजेन्डाले । बुढेसकालमा फेसबुकमै भए पनि यसो ‘पहिचानको राजनीति’ गरुँ भन्ने मनसुबा रहेछ । मातृभाषामै संवाद गरुँ भनी अढाई वर्षअघि अकाउन्ट खोले । ५–७ कवि/लेखकबाहेक बाँकी सबै लिम्बु लुङाहरू ‘फ्रेन्ड’ बनाए । ‘म खास पक्ष र समूदायकाहरूलाई साथी बनाउँ, आफूले सकेजति उनीहरूको सोच बदलौं, आफू पनि कतैबाट राम्रा कुरा आएमा त्यसैमा लागेर बदलिउँ भनी फेसबुकमा लागें, तर मैले चिताएजस्तो भएन,’ उनी सामसङ सेटबाट लग–आउट भए, अनि झोंक विषयान्तर गरे, ‘बाफरे ! त्यहाँ त सबै जान्नेसुन्ने । नेतालाई ठूल्ठूला अर्ती दिने । अनि के–के हो अश्लील कमेन्टमात्रै हान्ने । अनि त मैले त्यो ‘वाल’ कि के भन्दोरै’छ, त्यो प्रजातन्त्रको भित्तोमा पोस्टिङ नै गर्नु छाडिदिएँ । आजकल त मन परेको पोस्टिङ सेयरमात्रै गरिबस्छु ।’
आजकल त काइँला फेसबुकमा ‘अरु उफ्रेको मात्रै’ हेरिबस्छन् । उनलाई सबैभन्दा अनौठो लागेको कुरोचाहिँ– फेसबुकमा जे कुरा पनि ‘म’ बाट सुरु हुने । फोटो नयाँ–नयाँ । कोही सम्मान खाएका छन् । कोही माला र अबिरमा रंगिएका छन् । जो पनि अरुले भन्दा आफूले बढी जानेको छु जस्तो देखाउने । उनीहरूकै व्यक्तिगत सूचनामात्रै आउने । उनले पनि एकचोटि फोटो हाल्ने विचार गरेछन् । तर ‘प्रोफाइल पिक्चर’मा अर्कै के पसिगएछ, डिलिट गर्नुको हैरान । नचाहिने छाडा कुरा लेखेको देखे भने छेक्न खोज्दा रहेछन्, तर ब्लक गर्नै नआउने । बरु चिनेका साथीभाइसँग म्यासेन्जरमा गफियो, ढुक्कै ।
पाँचथर पौवासारतापतिरका गाउँले केटाहरू कोही मलेसिया, कोही अरब छन् । नातीहरू पनि ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउँदा अचम्म किन मान्नु । फेसबुकमा सप्पै साथी हुन् । स्क्रिनको तलपट्टि फुत्त स्माइली र ‘सेवारो’ उफ्रिन्छ । ‘के छ बाजे ?’ सोधी पठाउँछन् । उनी फर्काउँछन्, ‘ठिक्कै छ नाती । कमाई कस्तो छ ?’
कोही–कोही हैरान खेलाउँछन्– ‘भात खानु भो बाजे ?’
‘खाएँ ।’
‘अब कतिबेला सुत्ने ?’
अब के जवाफ दिने ? यस्तो पनि कुनै च्याट हुन्छ ? उत्तर नगर्दा मन दुखाइदेलान् भन्ने डर । उनी वाक्कदिक्क छन्, ‘म यता फेसबुक खोल्छु, तर उता थाहा हुन्छ कसरी ?’
अफ्लाइन बस्न सुझाएपछि उनी केही ढुक्क भए ।
‘खासमा म नयाँ भाइहरूलाई केही सिकाउन सक्छु कि भनेर फेसबुकमा पसेको थिएँ भाइ, तर मेरो योग्यता पुगेन,’ उनी लास्टै रिस्सिए, ‘अब यी सबलाई साथीबाट हटाउने विचार गर्दैछु । बरु कविहरूलाई पो साथी बनाउँ कि ?’
७८ लागिसक्दा पनि यिनको झोंक भने १७ वर्षमै अड्केको फोनबाजा जस्तो थियो ।
लेखक परिचय
बसन्त बस्नेत युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा चिनिने गर्दछन् । चर्चित अनलाईन पत्रिका शिलापत्र डट कमको प्रधानसम्पादक समेत रहेका बस्नेतको ७२ को विस्मय पहिलो प्रकाशित कृति हो ।