नेपाली कविता जगतका सर्वोच्च कवि बैरागी काइँलामाथि लेख्नु उहिलेदेखि सोचेको । भेउ नपाएर कि आँट नआएर धेरै समय त्यसै व्यतित भएर गयो । हुन त लेख्नलाई धेरै थोक छ । स्मृतिहरू छन् । कुनै समय उहाँको सृजनात्मक र सांस्कृतिक लेखनमाथि कलम चलाउने दुस्साहस नगरेको होइन । त्यो अधुरो, अपुरो छ । यसो हुनु मेरै कमजोरी हो । पर्याप्त अध्यन, साधना र चेतनाको उच्चतम बिन्दुमा नपुगी उहाँको सृजनामाथि बोल्ने, लेख्ने आँट गर्नु मेरो हतारो रहेछ । लाग्छ, बैरागी काइँलाका सृजनाहरू बोध मात्र गर्ने हो । ती सृजनाहरूले अलौकिक दुनियाँमा सयर गराउँछ । पाठकहरूलाई शब्दको सामर्थ्यसँग परिचित गराउँछ । सृजना किन कालजयी हुन्छ ? दृष्टान्त कहन्छ । जब जब बैरागी काइँलाका सृजनाको तलतल लाग्छ, हामी कवि धर्मेन्द्र नेम्बाङसँग चुलाचुली अवस्थित कवि सुन्दर कुरुपको गाउँमा पुग्छौँ । कवि सुन्दर कुरुपको आवाजबाट कण्ठस्त बैरागी काइँलाका कविता र गीतहरू सुन्छौँ । उनले बैरागी काइँलाका प्रेम्रील कविताहरू गीतारको धुनसँग सुनाउँछन् । कविता र संगीतको फ्युजनमा हामी ध्यानस्थ हुन्छौँ । हाम्रो मस्तिष्क, शरीर हलुका भएर आउँछ । जीवनका तमाम विसङ्गतिहरूले बोधो भएको चेतनालाई पुर्नताजगी दिलाउँछ । साहित्यको गुट, माफियागिरी र गनगनेहरूले दिक्क लगाएको बेला हृदयलाई पुलकित गराउँछ । तब असल सृजनामाथि उधुम विश्वास जागेर आउँछ । अमर रहने सृजना रहेछ ।
स्मृतिदंश
म सानो छँदा आमा भन्नुहुन्थ्यो – ‘तेरो एउटा मामा कवि छ ।’ आमाको कुरा सुनेर ‘तारा बाजी लै लै’ पढिरहेको मेरो आँखामा चमक आउँथ्यो । डाक्टर, पाइलट हुन धेरै पढ्नुपर्छ हरबखत सुनिरहेको बालमस्तिष्कले सोच्थ्यो – कवि हुन पनि धेरै पढ्नुपर्छ होला । पछि के हुने ? कसैले सोधे तयारी जवाफ थियो डाक्टर । ‘डाक्टर नभएपनि म जस्तै लाहुरे हुनु’– लप्टन तुम्बाको आदेश हुन्थ्यो । लाहुरे संस्कृतिले अघोर प्रभाव पारेको समुदायमा पछि गएर कवि हुन्छु सायदै सोचिन्छ, सोच्ने गरिन्छ । कवि बैरागी काइँलामा पनि त्यो सोच रहेनछ । उहाँ सम्झिनु हुन्छ – कविता लेख्ने प्रेरणा कहाँबाट पाएँ र ? को उत्तरमा मसँग त्यस्तो ठुलो र आकर्षक कुरा छैनन् । बालककालदेखिको भावुकताले हुर्केर अभिव्यक्त हुनुलाई पछिबाट अर्काको देखासिकीमा लेख्ने बल चाहिँ गरेको छु – सम्झना यत्ति छ । र त्यती नै हो ।
कवि बन्छु भन्दा भइने पनि होइन रहेछ ।
तर यसो गम खान्छु – नेपाली कविताको अनुहारमा पान्थरे कविहरूको उपस्थिति बाक्लो छ । साहित्यिक आन्दोलन, वादहरूको इतिहासमा पनि पान्थरे श्रष्टाहरूको उपस्थिति छ । कारण कुनैपनि क्षेत्र, समुदायमा एक आर्दश व्यत्तित्वको प्रभाव प्रसार हुँदोरहेछ । हामी पूर्वका खास गरि पान्थरका कविहरूले बैरागी काइँलाका मानसपुत्र हौँ स्वीकार्दा सायदै गलत भइन्छ ।
बालकमा मावलको परिवेश प्रिय हुन्छ । कहिले हिउँदे विदा हुन्छ र मावल जाऊँ सदैव लाग्थ्यो । फेरि हिउँदमा झापाको मौसम, परिवेश, वयलगाडा, परालको सुगन्धले मलाई अघोर आकर्षित गर्थ्यो । विहानै जाडोमा चटनीसँग भक्काको स्वाद अझै जिब्रोले महसुस गर्छ । काइँला मामाको घरमा मिल थियो । त्यो मिलबाट निस्कने टुकटुक आवाज अझै म अनुभूत गर्छु । केही अघि सुन्दर कुरुपसँग बात मार्दा थाहा पाएँ , त्यो मिलको नाम अमृत–लता राइसमिल रहेछ । माथि बरण्डामा आगन्तुकसँग गफिँदै बसेको एकाध पल्ट देखेको हुँ । उसबखत कवि कविता मेरो चेतनाभन्दा परको विषय थियो । पछि किशोर हुँदा थाहा पाएँ उहाँ काठमाण्डौ बस्नुहुन्छ ।
एउटा असल कवि सदैव लोकतन्त्र र सामाजिक न्यायको पक्षधर हुँदोरहेछ । कवि चेतनाले विभेदविरुद्घ बोल्दोरहेछ । छत्तिस सालको जनमत सङ्ग्रहको इतिहास बुवाले सुनाउनुहुन्थ्यो । कवि बैरागी काइँला पनि बहुदलको पक्षमा जनमत सृजना गर्न पान्थरको प्राङबुङ गाउँ पुग्नुभएछ । गाउँमा निर्दल पक्षसँग झडप भएछ । झडप पछि कार्यक्रम बिथोलिएछ । उहाँहरू को एउटा साथीको खुट्टा भाच्चिँएछ । त्यसपछि भएका लोकतन्त्रका आन्दोलनहरूमा पनि उहाँ अग्रपक्तिंमै हुनुहुन्थ्यो । ६२, ६३ को दोस्रो जनआन्दोलनमा उहाँको क्रियाशिलता चाहिँ मैले पनि नजिकबाट नियाल्न पाएँ । श्रष्टाहरूको तर्फबाट उहाँले आन्दोलनमा नेतृत्वदायी भुमिका खेल्नुभएको थियो । दोस्रो जनआन्दोलन पछि पनि देश सङ्क्रमणकालमै थियो । मधेस र लिम्बुवानको आन्दोलन उठ्ने तरखरमा थियो । सम्झिन्छु धरहरा अघि उभिएर गर्नुभएको खबरदारी संभाषण । जहाँ समताको आग्रह थियो । सुन्दर भविष्यको स्वप्न थियो । एउटा कविले देख्ने सपना त हो । जसरी देखे गोपालप्रसाद रिमालले, कृष्णभुषण बलले । कविको सपना र कल्पनाशीलतामा राजनितीज्ञ थोरै संवेदनशील हुने हो भने देश उहिल्यै प्रगतिको मार्गमा अग्रसर हुन्थ्यो । पहिलो पटक सर्वोच्च कविको सामुन्ने मैले पनि धरहरामा कविता वाचन गरेँ । मेरो खुट्टा ठाउँमा हुने कुरा भएन । लाग्यो, म पनि अग्रजको गोहो पछ्याउँदै छु ।
अब हामी सुध्रियौँ अन्तिम पटक साथ दिनुस् भनेर आन्दोलनको ज्वार उठाउने राजनैतिक नेतृत्वले फेरि गल्ती माथि गल्तीको पुनरावृति गर्दै थिए । देशमा संबिधानसभाको चुनाव हुनसकेको थिएन । मधेस , लिम्वुवान आन्दोलित थियो । नागरिकहरू बिलखबन्दमा थिए । भेटमा बैरागी काइँलाले भन्नुहुन्थ्यो हामी फगत भर्याङ भएछौँ । कि उनीहरूको वैठक कोठा सजाउने गमला मात्र सोचियो । सम्झिन्छु गुरुकुलमा भएको उहाँको एकल कविता वाचन । श्रोताहरू खचाखच । सधैँ मन्तव्य मात्र सुनिरहेको उहाँबाट प्रत्यक्ष कविता स्रुन्नु नौलो र सुखद अनुभूति थियो । र त्यो नेपाली कविता जगतको लागि ऐतिहासिक दिन थियो । मेरो कानमा अझै प्रतिध्वनीत भइरहेछ – मातेको मान्छेको भाषण, साबातको वैला उत्सव , शरणार्थी विचार …..
हो, इतिहास बारम्बार दोहरिन्छ —
र भुमिपुत्रहरू आफ्नै किपट भूमिबाट
बारम्बार लखेटिनुपर्छ – शरणार्थी भएर
उहिले कहिलेदेखि विस्थापित र देशविहीन
म शरणार्थी विचार
कहिले यो शिविरमा
कहिले त्यो शिविरमा
देश खोजेर अस्तित्वको दावीमा ।
साहित्य रहर होइन, यो जिम्मेवारी हो । तसर्थ सृजनाकर्ममा सदैव गम्भीर हुनुपर्छ । यो तत्वज्ञान मैले बैरागी काइँलाबाट प्राप्त गरेको हुँ । साठीको दशकमा म एउटा पत्रिका सम्पादन गर्थे । पत्रिकामा मेरै लेखमा कक्फेवाको ठाउँमा टाइप गल्तीले तक्फेवा भएछ । कक्फेवा कहिले देखि तक्फेवा भयो ? खानुसम्म हप्की खाएँ । टाइप गल्ती भएछ भन्दा पनि उहाँको अनुहारमा खिन्नता पढेँ । कति न सम्पादक र लेखक भइटोपलेको म, जीवनमा ठुलो पाठ सिकेँ ।
पछिल्लो पुस्तालाई सदैव मार्गदर्शन र माया गर्ने सुन्दर गुण छ बैरागी काइँलाको । म कार्यक्रम हुँदी प्राय उहाँलाई अतिथि बोलाउँथे । भुमिका लेखाउन पनि एकाध पल्ट गएको छु । जाँदा प्रतेकपल्ट असल सङ्गत र पुस्तकहरू कस्तो पढ्ने टिप्सहरू दिनुहुन्थ्यो । मसँग ठट्टा पनि गर्नुहुन्थ्यो – तिमी त बेतलबी वाणिज्य दुत हौ । उसबेला म प्रवासी नेपाली लेखकका किताब छाप्न र कार्यक्रम गर्न सहयोग गर्थे । उहाँको ठट्टा यसैमा केन्द्रित थियो । उसबेला मैले पनि हाँसिदिएँ । तर मनमनै भनेँ – साथीहरूले थोरबहुत दक्षिणा दिन्छन् ।
ईश्वर बल्लभ, आइबी राई र अम्बर गुरुङसित भेट्दा काइँला मामाको अनुहार नै प्रफुल्लित भएर आउँथ्यो । उहाँहरूको शरिरमा वेग्लै स्फूर्ति आउँथ्यो । उहाँहरूको गफको धेरै ठाउँमा साक्षी भएको छु म । अहिले त्यसको महत्व थाहा पाउँदैछु । यो मानेमा म भाग्यमानी हुँ । कुनैसमय नेपाली कलासाहित्यको तिर्थस्थल नजिक थिएँ म । एकचोटि अम्बर गुरुङ, बैरागी काइँला र म ट्याक्सीमा सँगै थियौँ । त्यो एकाध घण्टाको सामिप्यताले मेरो जीवनमा ठुलो प्रभाव पारेको छ । पुराना साथीवीचको विन्रमता, कलासाहित्यमा अध्यनको महत्व, चिन्तनको उच्चता त्यो थोरै समयको यात्रामा बुझ्ने अवसर पाएँ । स्मृतिले वर्तमानलाई जीवन्त बनाउँदो रहेछ भन्ने तत्वज्ञान त्यही यात्रामा प्राप्त गरेँ ।
केही कविता, केही संस्कृतिको कुरा,
कवि बैरागी काइँलाले कविता थोरै लेखे, अरुको आरोपमा हो मिलाउने एउटा मनुवा म पनि हुँ । ‘काइँलाले सृजनात्मक लेखन छाडेर सांस्कृतिक लेखनतिर ढल्किनु गल्ती थियो’ बल्लभ दाईले भन्दा सर्मथनमा टाउको हल्लाएकै हुँ । तर जब बैरागी काइँलाका सङ्कलित कविता प्रकाशनमा आयो पहिलो आरोप स्वत: धुलिसात भयो । सङ्ख्यामा र गुणवत्तामा बैरागी काइँलाका कविताहरू कम छैनन् फेरि पुष्टि भएर गयो । पछिल्लो समय विश्वमै जब स्वपहिचान र जराको खोजी घनिभूत रुपमा उठेर आयो बैरागी काइँलाले गर्नुभएको मुन्धुमी लेखन गलत थिएन भनेर पुष्टि भएर गयो । उहाँले गर्नुभएको सांस्कृतिक लेखन समुदायको लागि ठुलो प्राप्ती हो ।
सानोमा पढ्न इलाम झरेर फेरि दार्जिलिङ अनि नेपालका विभिन्न ठाउँमा बसोबास गरेको कारण उहाँको कवितामा निर्वासनको चिन्तन छ । उहाँको कविता ‘म लगातार निर्वासनमा’ प्रवासी चिन्तन छ । नेपाली कवितामा कङ्क्रिट लेखन साथै इथ्निक मिथकको पहिलो प्रयोग उहाँले नै गर्नुभएको हो । अहिले चर्चामा आएको पहिचान लेखनको जग उहाँबाटै शुरुवात भएको हो । बाईस तेईसको उमेरमा वैश्वीक परिवेश खासगरी अफ्रिकी मिथकमाथि लेखिएको कविता ‘साबातको वैला उत्सवले’ चकित बनाउँछ । मेरो सन्दर्भमा कवि बैरागी काइ्रँलाको यो मास्टरपीस कविता हो । निरुङ्कुशताविरुद्घ लेखिएको ‘मातेको मान्छेको भाषण मधयरातपछिको सडकसित’ तमाम विद्रोहविरुद्घ सदैव अग्रमोर्चामा उभिने लडाकु कविता लाग्छ । कवि बैरागी काइँलाको कवितामाथि जति लेखे पनि अपुग लाग्छ । यति हो कवि माधव घिमिरेको अलग्गै, कवि भुपि शेरचनको अलग्गै स्कुलिङ् झैं नेपाली कवितामा बैरागी काइँलाले आफ्नै काव्यिक स्कुलिङ निर्माण गर्नुभएको छ । त्यो स्कुलका बिधार्थीहरू यथेष्ट छौँ ।
कवि बैरागी काइँलाको अर्को महत्वपूर्ण कार्य मातृभाषाप्रतिको योगदान हो । पहिलो पटक उहाँ कुलपति हुँदा नेपाल प्रज्ञाप्रतिष्ठानमा मातृभाषा विभाग गठन गर्नुभयो । उहाँको एउटा चर्चित निबन्ध थियो – समानान्तर नेपाली साहित्य । त्यो निबन्धमा मातृभाषालाई, त्यसको साहित्यलाई राज्यसत्ताले गर्ने गरेको पक्षपाती व्यवहारविरुद्घ सृजनात्मक विद्रोह गर्दै ती साहित्यहरू समानान्तर नेपाली साहित्य हुन् भन्ने जिकिर थियो । उहाँले एकेडेमीबाटै लिम्बू नेपाली वृहत शब्दकोश पनि प्रकाशन गर्नुभयो । यी यस्ता कार्य मातृभाषाका लागि महत्वपूर्ण कार्य हुन् ।
लिम्बूहरूको मुन्धुमलाई थुथुरी वेद पनि भनिन्छ । यसो किन पनि भनियो भने यो मुन्धुम शदियौंदेखि मौखिक पुस्तातरण हुँदै आएको हो । यो मौखिक मुन्धुमलाई लेख्यमा उतारेर कवि बैरागी काइँलाले समग्र नेपाली संस्कृतिलाई भव्य बनाउनु भएको सत्य हो । किनकि यो देशको बिबिधता यो देशको सम्पत्ति हो ।
अन्त्यमा,
सम्बन्धहरू कलासाहित्यमा जोडिएकै उम्दा र निस्वार्थका हुँदारहेछन् । झन् लामो समय एउटै विचार र एउटै आन्दोलनका सहयात्रीमा हार्दिकता प्रचुर हुँदोरहेछ । साठीको दशकमा ईश्वर बल्लभको किताबमाथि आइबी राईले लेखेको भुमिका पढेको थिएँ । त्यहाँ आइबी राईले लेखेको सम्झिन्छु – काइँलालाई नभेट्दा कहिले भेटुँ लाग्छ, बल्लभलाई भेटेपछि कहिल्यै नछुटौँ लाग्छ ।
समय अन्तरालमा एक एक गर्दै सृजनात्मक साथीहरू गुमाउँदा कवि बैरागी काइँलाको मस्तिष्कमा खेल्ने मृत्यु चिन्तन जान्न मन लागेको थियो । लामो समय भयो उहाँसँग भेट नभएको । नयाँ महामारी पनि हामीबीच बाधक बनिदियो । उहाँकै शब्द सापटीमा हामी अनुजले सदैव भन्ने छौँ –जनमले मृत्युलाई हरपल जितोस् !
लेखक परिचय
प्रकाश थाम्सुहाङ अहिलेको समयका शक्तिशाली कवि हुन् । कवि थाम्सुहाङ करिब दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय छन् ।