धरणीधर कोइराला
नवौं कक्षामा पढ्दा धरणीधर कोइरालाको ‘नैवेद्य’ कविता संग्रह पनि पढ्नु पर्थ्यो ‘कथा कुसुम’सँगै एकातिर विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ र ‘सिपाही’ कथा अर्को तिर धरणीधर कोइरालाको जोशीला कविता। धरणीधर कोइरालाको आकृतिको मुख्य चिन्ह उनको लामो दाह्री थियो भने र प्रवृति संतको जस्तो। तर साक्षात्कार गर्ने कहिले अवसर जुरेन्, जुरोस् पनि कसरी। मैले लेख्न पढ्ने कार्यमा बामेसर्दा उनी परलोक धाम गइसक्नु भएछ। वि.स. २०५१ साल तिर म ‘द काठमाडौ पोस्ट’को सप्तान्त विशेषाङ्कको सम्पादन गर्दा प्रसिद्व लेखक स्व. नगेन्द्र शर्मालाई अंग्रेजीमा नियमित कलम लेख्ने अनुरोध गरे र उनले विभिन्न विषयमा लेख्नु भयो। यसै क्रममा उनले १७ जुलाई १९९४मा धरणीधर कोइरालामाथि लेख लेखे जस्को शुरुवातमा नै कविज्यूको आकृतिको सुन्दरसँग वर्णन गर्नु भएको थियो। “यो सायद वि.स. २००६ वा २००७मा हुनुपर्छ। धेरै राम्रो र सुन्दर अनुहार। सधै हसिलो मुहार र एक जोडी दयालु आँखाहरू सहितको स्पृष्ट शारीरिक विशेषता । धेरै अग्लो र लामो शरीर संरचना । मोहर आकारको चन्दन टिका आफ्नो सुन्दर चिन्डो निधारमा । एउटा सफा सेतो धोतीले सम्पूर्ण शरीर ढाकेको र खराउ चप्पलमा पूर्ण देखिएको। संक्षेपमा भन्नुपर्दा, मैले स्वर्गीय कवि र देशभक्त धरणीधर कोइरालालाई पहिलो चोटि दार्जिलिङमा भेट्दा मेरो मानसपटल यहि गहिरो चित्र खोपिएको थियो।”
अति सुन्दर मानव-जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो ?
गरि काव्य-सुधा रसपान अरे
गर मानव-जीवन सार्थक रे ॥
न त झाँक्री न वैद्य न ज्योतिषीले
उपचार गरीकन शान्ति दिने
मन-रोग निरोग गराइदिने
बुझ काव्य-सुधा-रस औषधि हो ॥
‘साहित्य सुधा’ शीर्षकको यो कविता कण्ठ गरेर शिक्षकलाई सुनाउनु पर्ने भएकोले यस्को मर्म पनि बुझ्दै गए म। साहित्यमा लागे भने त मान्छेको जीवन सार्थक पो हुदो रहेछ भन्ने विचार मेरो कलिलो मन-मस्तिष्कमा अटल भएर बस्यो। सायद यहि थियो मेरो साहित्यिक यात्राको शुरुवात जो विभिन्र कारणले वीचमा विश्राम लिन पुग्यो। धरणीधर कोइराला जुनवेला सन् १९१९ मा दार्जिलिङ सरकारी विद्यालयमा शिक्षकको रुपमा जागिर खान् थालेका थिए पहिलो विश्व युद्ध भर्खरै सकेको थियो। त्यो बेला सम्म पारसमणि प्रधान पनि जागिर खान दार्जिलिङ सरकारी विद्यालय आइपुग्नु भएको थिएन खरसाङबाट चन्द्रिका सम्पादन र प्रकाशन गर्नमा व्यस्त थिए।। सूर्यविक्रम ज्ञवाली भने सन् १९२३-मा सह-शिक्षकको रुप दार्जिलिङ सरकारी विद्यालयमा आवद्ध भए। बनारसबाट आई. ए. गरेर जागिर खान काठमाडौ आएर तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको चाकरीमा सिंहदरवारको चक्कर काट्दा पनि जागिर नपाएपछि आफ्नो जन्म थलो दुम्जा हुदै खरसाङ पुगे पारसमणि प्रधानको निम्तोमा। उनको कविताबाट मन्त्रमुग्ध भएका एक सज्जनको सिफारिसमा जागिर खाए दार्जिलिङ सरकारी विद्यालयमा। पछि पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवालीले पनि दार्जिलिङ सरकारी विद्यालयमा शिक्षकको रूपमा आबद्ध भए अनि जन्म्यो नेपाली साहित्य सम्मेलनको अवधारणा। सन् १९२४ मा खोलिएको नेपाली साहित्य सम्मेलनको प्रथम कार्यसमितिको अध्यक्ष थिए हरिप्रसाद प्रधान जो पछि गएर नेपालको प्रथम प्रधानन्यायधीश पनि बने। उप-अध्यक्षमा धरणीधर कोइराला, मन्त्री द्वयमा पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवाली। तर अनौठो लाग्ने कुरा के भने त्यो साहित्य सम्मेलनको कुनै पनि कार्यसमितिमा त्यसबेलाको होनाहार लेखक र वकिल रुपनारायण सिंह कहिँकतै पनि देखा पर्देन। सुधपा( सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान)को सुत्रपात तीनै जनाको कर्मथलो एकै ठाँउ- दार्जिलिङ सरकारी विद्यालय भएले साहित्य कर्म गर्न सहज भएको भन्न सकिन्छ। तीनै जनाको आफ्नो आफ्नै विशेषता थियो। त्यहि विशेषताले नेपाली साहित्यमा क्रान्ति ल्याउन सफल भयो। नेपाल भित्रको असहज वातावरणलाई छलेर दार्जिलिङबाट साहित्य सेवा गर्नु निकै सहज थियो। तर यति हुदाँ हुदैँ पनि मई ४ सन् १९९४६ मा राणा सरकारको अनुरोधमा ब्रिटिस प्रशासनले धरणीधर कोइराला सूर्यविक्रम ज्ञवाली, हरिप्रसाद प्रधानलाई सुरक्षा ऐन अन्तर्गत एक वर्ष कैद गरे।
धरणीधर कोइरालाको ‘नैवेद्य’ कविता संग्रह सन् १९२० मा प्रथम पल्ट प्रकाशित भयो अनि पछि नेपाली साहित्य सम्मेलनबाट दोस्रो संस्करण निस्कियो। यस्को प्रथम पल्ट समालोचना गरे सूर्यविक्रम ज्ञवालीले सन् १९२२मा उनैले सम्पादन गरेको पत्रिका ‘जन्मभूमि’मा जो बनारसबाट प्रकाशित हुन्थ्यो। उक्त समालोचना ज्ञवालीले नेपाली समाजको यथार्थ स्वरुप चित्रन गर्दै कविताको विवेचना गर्नु भएको छ। “वर्तमान समयमा नेपाली जाति अत्यन्त अधोगतिमा प्राप्त भैरहेको छ। मानसिक, नैतिक, सामाजिक र पारमार्थिक बल हामी कति पनि छैन्। यस्तो प्रगाढ अन्धकारमा हामी प्राप्त भएका हुनाले हामीबाट आत्माभिमान र कर्तव्य-कर्म लोप भयो। त्यसकारण हाम्रो अवस्था कस्तो भैरहेछ सो कविकै मनोहर शब्दमा सुन्नुहोस्:
घुम्दछन् पर्दछन् कालका चक्रमा
आउँछन् पर्दछन् दुःखका स्रोतमा।
कवि धरणीधर शर्माको कविता बुझ्ने तत्व पनि यहि हो। आफ्नो हिनावास्थाको दृश्य नेत्रका समक्ष राखी ‘नैवेद्य’ पढ्नु भयो भने त्यसको वास्ताविक आनन्द र शिक्षा पाउनुहुनेछ।”
वास्तवमा ‘नैवेद्य’ले त्यसबेलाको सम्पुर्ण नेपाली समाजमा जागरण ल्याउन ठुलो सहयोग गरेको छ । विशेषत दार्जिलिङमा उनको उठबस बंगाली विद्वानहरूसँग भएको उनकै आत्माकथाबाट थाहा हुन्छ। समय समयमा विश्वप्रसिद्ध वैज्ञानिक जगदिश चन्द्र बोससँग हुने अन्तरक्रियाले उनलाई अरु जातिले गरेको प्रगतिको बारेमा बोध हुन्छ। अरुलाई जस्तै मेरो बाल्यकालमा यो कविताले मलाई निक्कै प्रभाव पारेको थियो। अरु जातिको प्रगति देखेर कविको कोमल मनमा निकै आहत भएको अनुभुति हुन्छ।
जाग जाग अब जागन् जाग ।
लाग उन्नतिविषे अब लाग ।।
घोर नींद अब त परित्याग ।
भो भयो अति सुत्यौ अब जाग ।।
दाजुभाइहरु हो ! उठ जाग ।
लाग उन्नतिविषे अब लाग ।।
धोउ धोउ मनको अब मैलो ।
फालीदेउ डरको अब थैलो ।।
जाग जाग अब जागन जाग ।
लाग उन्नतिविषे अब लाग ।।
हेर लै अरुहरु सब जागे ।
जाति उन्नतिविषे अब लागे ।।
पारसमणि प्रधानद्वारा सम्पादीत चन्द्रिकाको वर्ष १, अंक २ देखिनै आफ्नो कविता छपाउन थालेका कवि कोइरालाको माथि उल्लेखित कविता सोही पत्रिकाको अंक १० मा प्रकाशित गरेको पाउँछौं।
समालोचक चुडामणि बन्धु ‘साझा कविता’को भुमिकामा धरणीधर कोइरालाको कविताको प्रवृति बारे प्रकाश पार्दे लेख्छन्, “धरणीधर कोइरालाका कवितामा नेपालीलाई जगाउने, जोश्याउने र उनीहरुको कुवृत्तितिर सङ्केत गर्दै सही बाटो देखाउने भाव भएकोले उनको ‘नैवेद्य’मा संग्रहित कविताहरुको विशेष सामयिक महत्व छ। उनको ‘स्पन्दन’ र अरु कविताहरूमा समेत औपदेशिकताको अंश हुँदाहुदै पनि जातिलाई उदबोधन गर्ने विचार ठीक समयमा आएकोले धरणीधरका कविताहरूका आफ्नै किसिमको शक्ति छ।”
नेपाली अंग्रजी शब्दकोष निकाल्न तम्से राल्फ लिलि टरनर सिमित नेपाली शब्दको ज्ञान लिएर सन् १९२२ तिर। प्रथम विश्व युद्धमा अलमोरामा नेपाली सेनाहरुसँगको सहवासले उनलाई नेपाली भाषा प्रति मोह जाग्यो। यस क्रममा दार्जलिङ आउँदा उनको भेट धरणीधर कोइरालासँग हुन्छ सन् १९२२ तिर अनि शुरु हुन्छ सहकार्य शब्दकोषको। कवि धरणीधर आफ्नो सुझाव अनुसारनै यो शब्दकोष काठमाडौमा प्रयोग हुने नेपाली भाषालाई मानक भाषा बनाएर तयार भएकोमा धेरै प्रसन्न व्यक्त गरेको वि.स. २०३३मा प्रकाशित उनको आत्मकथामा उल्लेख गर्छन्। सन् १९३१ मा प्रकाशित गरेको यो शब्दकोषमा टरनर साबले काइरालाको योगदानलाई निकै प्राथमिकताको साथ पुस्तकको भुमिकामा लेखेका छन। “मेरो साथी पंडित धरणीधर शर्मा कोइराला, बी. आर., बी. टी., सरकारी उच्च माध्यमिक विद्यालय दार्जिलिंङसँग मैले भन्न सक्ने भन्दा धेरै ऋणी छु। सन् १९२२ मा मैले ६ महिना सम्म प्रत्येक दिन केही समय उनीसँग बिताए। उहाँ मेरोलागि निरन्तर सल्लाहकार र सहयोगी रहे । उसले २६,००० प्रविष्टिहरूको हरेक जाँच गरेको छ । उनको सरकारी काम र कर्तव्यको बीचमा यो काम महत्वको साथ गरिदिनु भयो। नेपाली भाषीहरू उनीप्रति अत्यन्त आभारी हुनपर्छ।” यो शब्दकोष सन् १९३१मा प्रकाशित हुन्छ चन्द्रशमशेरको विशेष आर्थिक सहयोगमा।
नेपाली साहित्य सम्मेलनमा धरणीधर कोइरालाले विभिन्न तहमा रहेर साहित्य र समाजलाई योगदान दिए। सम्मेलनबाट प्रकाशित हुने पत्रिकालाई पुनःप्राण दिने हेतुले मई १४, सन् १९५९ मा नेपाली साहित्य सम्मेलनको कार्यकारिणी सभाको बैठक धरणीधर कोइरालाको सभापतित्वमा बस्यो र ‘दियालो’ पत्रिका प्रकाशन उपसमिति गठन गरे जस्को सभापति कोइराला अनि उपसभापति भए तुलसीबहादुर छेत्री, सचिव लालदेवसा राई रहे।
वि.स. २०४९ सालमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले धुलावारी, झापामा काव्य- विचार गोष्ठी आयोजना गरे। उक्त गोष्ठीमा डा. तुलसीप्रसाद भट्टराईले ‘धरणीधरः व्यक्तित्व एक कवित्व अनेक‘ नामक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो जस माथी डा. लक्खीदेवि सुन्दासले टिप्पणी गर्नु भएको थियो। डा. भट्टराई आफ्नो कार्यपत्रमा लेख्छन्, “सबैतिर उनी समान मान्य छन्। आदरणीय छन्। नेपाली समाजले राष्ट्र-भेद गरेको छैन उनीप्रति। सबैले आफ्नो ठानेर सम्मान दिएका छन् उनलाई। यस आधारमा नेपाल र भारत तथा अन्य नेपाली भाषा, नेपाली जाति बसोबास गर्ने सम्पूर्ण क्षेत्रका सबै नेपालीहरूलाई एउटै सुत्रमा जोड्ने काम गरेका हुँदा धरणीधरलाई नेपाली जातिको सेतु मान्न सकिन्छ।” डा. भट्टराईको कार्यपत्रमाथि थप टिप्पणी गर्दै डा. सुन्दास लेख्छन्, ”वार्णिक छन्दसित विद्यार्थीहरूलाई परिचित गराउने काम सन् १९२० देखि गवर्नमेंट हाइस्कुलमा उनले र पछि पारसमणि प्रधानले गराउन थाले। आफ्ना विद्यार्थीहरूलाई उनीहरू छन्द र अलङ्कार सिकाँउथे। उनीहरूका त्यस समयका विद्यार्थीहरू मातवरसिंह (कवि शरद क्षेत्रीका पिता), अमृतनारायण प्रधान, वीरेन्द्र, दानियल खालिङ, नगेन्द्रप्रसाद कुमाई, महानन्द सापकोटा, गम्भीर राई, अच्छा राई ‘रसिक’हरू जम्मै वार्णिक र संस्कृतका विभिन्न छन्दमा लेख्न सक्ने कविहरू थिए। परिष्कारवादी धाराका कवितातिर दार्जिलिङलाई आस्वादन गराउने र त्यस धारातिर हिडाउने श्रेय उनलाई जन्छ भने नीति र उपदेशका वाणी पनि उनकै कविता नै बन्यो।” डा. सुन्दासले कवि कोइराला रविन्द्रनाथ ठाकुर, जयशंकर प्रसाद, प्रेमचन्द, बंकिमचंद्र आदिबाट प्रेरित भइ क्रान्तिकारी चेतना प्रादुर्भाव भएको विचार व्यक्त गर्नु भएको थियो। सोही कार्यक्रममा जस योञ्जन ‘प्यासी’ले कवि कोइरालाको पहिलो कविता संग्रह ‘पंचामृत’ हो भनेर जानकारी दिएको गोष्ठी थियो। उक्त सत्रको अध्यक्षता धरणीधर कोइरालाका विद्यार्थीसाहित्यकार शिवकुमार राई थिए जस्ले कविज्यूलाई सन् १९४८मा चुनावमा हराएको थिए। कवि धरणीधरले कविता लेख्दा वृहत्तर नेपाली समाजको हितलाई हेरेर लेखेका थिए। भारतमा आएको जागरण उनले नजिकबाट नियाल्ने अवसर पाएका थिए। उनको चाहना थियो राणाकालिन नेपालमा पनि शिक्षाको ज्योति बलोस् । तर त्यो संभव थिएन त्यस बखत। तर जुद्धशमशेरलाई रिजाएर उनले भीम छात्रवृति सन् १९३४ भित्राए कलकत्तामा। पछि यो छात्रवृति दार्जिलिङमा सारियो र यो छात्रवृति पाउनेहरूमा डा. मणिकुमार छेत्री, डा. सुशीला देवी, इन्द्रबहादुर राई, बाबुलाल प्रधान, धनराज लामा आदि प्रमूख हुन। डा. कुमार प्रधानले अंग्रजीमा लेखेको नेपाली साहित्यको इतिहासमा लेख्छन्, “धरणीधर कोइरालाले जागरण कविता मात्र लेखेनन्, विभिन्र सामाजिक र साहित्यक संस्थाहरू खोलेर जाति र समाजको सेवा पनि गरे।”
नैवेद्य बाहेक धरणीधरको स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । नेपाली समाजलाई जागरुक गराउने खालको लेख र फुटकर कविताहरू लेखेर कविज्यूले योगदान दिनु भएको छ। नेपाली समाजलाई साहित्य मार्फत एक गराउन कविज्यूको ठुलो देन छ।
प्रधानाध्यपक भइ सेवा निवृत भए पछि केहि समय दार्जिलिङ सरकारी कलेजमा नेपाली साहित्य पढाएको सम्झनु हुन्छ नगेन्द्र शर्मा। समाजलाई परिवर्तन गर्ने मुख्य कडी राजनीति पनि हो भन्ने हेक्का राख्दै सेवा निवृत भए पनि सन् १९४८को विधान सभाको उपचुनावमा दार्जिलिङ सम्षटीबाट कांग्रेसको उम्मेद्वार भएर चुनाव लडे तर उनै विद्यार्थी गोर्खालीका उमेद्वार शिवकुमार राईबाट पराजित भए। त्यस पछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे। धेरैले लेखेको जीवनीमा उनी वि.स. २०१२ सालमा नेपाल प्रवेश गरेको लेखिएता पनि उनी नेपाली साहित्य सम्मेलनको सन् १९५९ देखि १९६७ सम्म अध्यक्ष भएको दियालो पत्रिकाको स्वर्ण जयन्ती अंकमा उल्लेख गरिएको छ। नेपाल फर्किए पछि धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहे। ८७ वर्षको उमेरमा वि.स. २०३६ सालमा काठमाडौमा निधन भयो कविज्यूको।
दार्जिलिङबाट नेपाल प्रवेश गरे पछि सूर्यविक्रम ज्ञावालीले ठुला सरकारी ओहोदा र अवसर पाए। तर धरणीधर कोइराला फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा नै रमाए। उनको साहित्य र सामाजिक योगदानको कदर गर्दै नेपाल सरकारले त्रिभुवन प्रज्ञा पुरस्कार वि.सं. २०२२ मा प्रदान गरे भने वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलन, दार्जिलिङले रथयात्रा गरि सम्मान गरे। वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधीबाट सम्मानित गरेरे उनले दिएको साहित्यिक योगदानको कदर गरे।
‘चन्द्रिका’को फाल्गुन १९७४ अंकमा छापेको कविज्यूको ‘विनय’ शीर्षक यो कविता समाजमा व्याप्त विकृतिहरूलाई उजागर गरेको छ।
कुकर्मका कुझोमा कती अकाल मा मरे ।
कुतर्कका कुवेगमा कती त व्यर्थमा परे ॥
कुकर्मले कुतर्क भो कुतर्कले कुकर्म भो ।
चल्यो प्रसंग पापको अघोर ढेर भो प्रभो ॥
हरे ई जीव आफु नै ति पापमा घुँडा धसी ।
गई पसी सडी मरी कुहीसके फसाफसी ॥
बिछट्ट पाप थुप्रियो असार सार मानियो ।
नधोइ धोइने भयो न काटि काटिने छ यो॥
उदार साहसी पनी परे यसै लपेटमा ।
कृपा-कटाक्ष कृष्ण हे घुमाउनोस् गरी क्षमा ॥
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।
सुधपाका एउटा रसायन धरणिधर कोइराला नेपाली वाङ्मयको जगको एउटा शिला हुन भन्दा अतिशयोक्ति हुन्न होलाजस्तो लाग्छ …!!!
आदरणीय शरद सरको यो लेख मोबाइलमा प्राप्त हुनसाथ सरसरी पढ्न थालिहालें। साहित्य प्रति जागरूक मात्र होइन तर विषयलाई यति गहिरो प्रकारले तथ्यात्मक रूपमा प्रस्तुत गरिदिनु भएकोमा दार्जिलिङेहरूका पक्षबाट हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु । साहित्य र मानवीय समाज भौगोलिक सीमाहरूले छेकिन्न, त्यसमाथि भारत र नेपाल स्वतन्त्रतापूर्वको वयसन्धिमा योगदान दिनुहुने धरणीधर शर्माज्यूको कर्म र व्यक्तित्व बहुआयामिक पाइन्छ। केही समयअघि आफू दार्जिलिङ गवर्मेन्ट हाई स्कुलमा प्रधान अध्यापकको चौकीमा बस्दा शिक्षकगणलाई भनेको थिएँ- ”धरणीधर शर्मा बस्नुभएको यो चौकीलाई ढोगेर बस्दैछु। पछि आउनेहरूले पनि उनीसंगै सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, परशुराम रोका सरहरूलाई सम्झेर यो चौकीलाई ढोगेर बस्दा पुण्य कमाए बराबर हुनेछ।” शरद सरले यथासमयमा आफ्ना मूल्यवान् लेखहरु पुस्तक आकारमा ल्याउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु। 🙏
धन्यवाद सर हजुरलाई मेरो प्रयासलाई सहि मुल्याङक गरिदिनु भएकोमा। आभारी छु सर हजुरप्रति
कक्षा ६/७मा होला उहाँको जाग न जाग कविता पढियो स्वेच्छाले तर उहाँलाई पढ्ने धोको हुँदाहुँदै पनि थप पढ्न पाएको छैन। तपाईंको यो लेख पढेपछि फेरि उत्साहित बनायो उहाँलाई। धन्यवाद शरद सर।
धन्यबाद सर हजुरको सदासहिताको निम्ति