दिउँसोको खाजा खाएर मिन्टुले मलाई एयरपोर्टसम्म छोड्न आयो । अजयको छुट्टि सकिएकोले ऊ आफू बस्ने सानो सहर जुन लिस्बोन भन्दा एक घण्टाको सडक दुरीमा छ, हिजो नै त्यतातिर लागेको थियो । अजय र मिन्टु मेरो स्कूल/कलेज पढ्दा खेरीका साथी हुन् । मिन्टुसँग करिब ४ वर्ष पछि भेट भएको थियो । अजयसँग २ वर्ष भएको थियो सायद नभेटेको । फेरि भेट हुनलाई अब हामीले कुनै गतिलै संयोग पर्खिनु पर्ने पनि हुन सक्छ । अजय र मिन्टु मेरो पोर्तुगल यात्राका सहयात्री थिए वा भनुम गाइड मेरो लागि । उनीहरु दुवैजना पोर्तुगल बस्न थालेको करिब ३ वर्ष भयो ।
एयरपोर्ट अगाडि एकछिन गफ गरेपछि मिन्टु र मैले बिदाईका हात हल्लायौँ । र मैले यात्राको एउटा अध्यायको अन्त्य गरेँ। यात्रा पनि कथा जस्तै हो जहाँ एउटा अध्यायको अन्त्य भइसके पछि फेरि अर्को अध्याय सुरु हुन्छ । त्यस्तै मेरो यात्राको अर्को अध्याय थियो लिस्बोन देखि भियनासम्मको यात्रा ।
लिस्बोन एयरपोर्टमा उभिइरहेको रायन एयरको जहाज भित्र छिरिसकेपछि मेरो अर्कै यात्रा सुरु भयो । अर्को यात्रा, अर्कै गन्तव्य, अरु नै सहयात्री । मेरो सिट नम्बर १८ ‘बी’ मध्य भागको परेकोले झ्यालतिर बस्न कोही आउला कि भनेर छेउतिरै बसेँ एकछिन । मेरो अनुमान सहि निस्कियो, एकजना करिब पाँच फुट ४ इन्च जत्तिको देखिने केटि आइ र भनी मेरो सिट उता झ्यालतिर हो । मैले उसलाई उसको सिटसम्म पुग्नलाई बाटो छोड्दिए“ । हामी सिटमा बसेको करिब १०–१४ मिनेट भित्रमा जहाजले लिस्बोन एयरपोर्टको भुई“ छोडेर अग्लो हुँदै गयो । झ्यालबाट बाहिर हेर्दा लिस्बोन सहर पर देखिन थालेको थियो । त्यहि सहरसम्मको यात्रा अब मेरा लागि विगत भइसकेको थियो । जुन अब सम्झनामा मात्र बाँकी रहनेछ म रहुन्जेलसम्म ।
झ्यालतिर बसेकी केटीलाई मैले झ्यालबाट बाहिर देखिएको लिस्बोनको तस्बिर खिचिदिन भनेर मोबाइल दिएँ । उसले केही तस्बिरहरु खिचिदिई र मलाई फिर्ता दिई । र बाहिर हेर्न थाली फेरि । उसलाई आफैँले अघि खिचेको तस्बिर मनपरेको थिएन वा त्यो भन्दा राम्रो दृष्य आएको थियो फेरि आफैँले मेरो मोबाइल मागी र केही तस्बिर लिइदिई ।
मैले धन्यवाद भनेँ। त्यसपछि मोबाइलमा नै घोत्लिन थालेँ। एउटा कविता लेखिरहेको थिएँ, त्यसैलाई सुरु देखि पढ्न थालेँ।
कविता पढिरहँदा मलाई लाग्यो कोरोना महामारीको बिचमा गरेको यात्रा भएकोले मैले यस बारेमा केहि लेख्नुपर्छ । अहिलेसम्म मैले जति पनि लेखेँ त्यसमा विषयहरु मलाई खोज्दै आएका थिए । यो पाली मलाई विषय खोज्नु थियो । र त्यो कविता पढिरहँदा मैले विषय भेट्टाएँ ।
मैले मोबाइलको नोटप्याडमा लेखे“ “हाई, मलाई थाहा छैन यसरी वार्तालाप सुरु गर्नु ठीक हुन्छ या गलत । तर मलाई तिमीसँग कुरा गर्न मन लाग्यो । के तिमी मसँग कुरा गर्न ईच्छुक छौ ? यदि छैनौ भने कृपया माफ गर लेख ल ?”
यति लेखेर मैले मेरो मोबाइल उतिर तेर्साएर पढ्ने इशारा गरेँ। उसले सरसरती पढि । मन भने कौतुहल थियो । उसले हुन्छ भन्ली कि हुन्न ? मास्क लगाएको हुनाले उसको अनुहारको भाव पढ्न सकिरहेको थिइन मैले । उसले जब मेरा प्रश्नको जवाफ लेखिसकेर मोबाइल मतिर बढाई उत्साहित भएर मैले नोटप्याडमा हेरँ।
उसले लेखेकी थिई, “हाई । हुन्छ । लेट्स टक ।”
मैले लेखे“, “लौ कोरोना महामारीले तिम्रो योजनामा कत्ति असर गर्यो भन्नेबाट सुरु गरौँ न त ।”
जवाफमा उसले लेखी, “म यतिबेला एशियामा हुनुपर्ने मान्छे । तर कोरोनाले योजनामा रोक लाग्यो । घर बसि रहन अल्छी लागेकोले पोर्तुगलसम्मको टिकट किनेँ। त्यहाँ रहेको जनावर सहायता केन्द्रमा स्वयंसेवा गरेँ। र अहिले मलाई मेरो योजना परिवर्तन भएकोमा एकदमै खुशी लागिरहेको छ ।”
त्यसपछि मैले लेखे“, “मलाई हरेक कुरा हुनको पछि केही न केही कारण हुन्छ भन्नेमा विश्वास लाग्छ । कारण राम्रै हुन्छ भन्ने हुँदैन । तर तिम्रो हकमा राम्रो भयो त्यसमा मलाई खुशी लागेको छ ।” र फेरि कुन देश जान चाहन्थ्यौ भनेर सोधेँ ।
उसले भनी, “तिम्रो कुरामा म पूर्ण रुपमा समर्थन जनाउँछु । त्यहाँ गएर मैले धेरै राम्रा राम्रा साथीहरु बनाएँ । र एउटा सानो साथी (कुकुर) लिएर घर जाँदैछु ।” उसले आफूले कम्बोडिया र लाओस जाने योजना बनाएकी थिएँ भनेर बताई । र मेरो पोर्तुगल यात्राको बारेमा सोधी ।
मेरो यात्राको बारेमा जानकारी दिनु भन्दा पहिले उसलाई धन्यवाद भने“, धन्यवाद यो मानेमा कि विश्वमा अहिले मानवता हराउँदै गइरहेकोले हरेक दिन हिंसाका घटनाहरु भइरहेका छन्, समाचारहरुले पनि घृणालाई प्राथमिकता दिन्छन् । मानिसहरु आफ्नो अहम् पछि हट्न नसकेको अवस्थामा तिमीले ती कमजोर जनावारहरुप्रति त्यति करुणा देखाउन सक्यौ त्यसका लागि धन्यवाद ।”
त्यसपछि हामीले यात्राको बारेमा कुरा गर्यौँ। उसले आजसम्म गरेको यात्रामा सबैभन्दा सम्झन लायक यात्रा अघिल्लो बर्खामा गरेको नर्वेको यात्रा हो भनेर लेखेकी थिई । जुन यात्रा उनीहरुले अरुको सवारी साधनमा लिफ्ट मागेर गरको र कुनै ठाउँमा पनि आधा घण्टा भन्दा बढि कुर्नु परेको थिएन रे । र त्यसै यात्रामा एक जना नर्वेजियनले आफ्नो घरमा बास दिएर बेलुकीको खाना समेत खुवाए । त्यसपछि मलाई मानिसहरुप्रति विश्वास बढेर गएको छ । राम्रा चीजले राम्रै कुरा आर्कषित गर्छ भन्ने कुरामा विश्वास गर्न थालेको बताई ।
मैले फेरि सोधेँ, “तिमी भियनामा बस्छौ ?” जवाफमा उसले आफू फ्रान्सको नागरिक भएको र अहिले भियनाबाट ब्रसेल्समा साथी भेट्न जाने बताई र मलाई सोधी “तिमी कहाँबाट आएको ?” मैले म आफू नेपालको नागरिक भएको र यूरोपमा गएको ५ वर्षदेखि बसिरहेको छु भनेर जवाफ दिएँ। म नेपालको नागरिक भएको सुनेपछि उसले भनि, “मलाई कुनै दिन तिम्रो देश घुम्नलाई आउने ठूलो रहर छ।” मैले तिमी जहिले पनि नेपाल आउँछौ, तिमीलाई स्वागत छ भने र थपेँ, “मेरो देश घुमेर तिमी पछुताउने छैनौ भन्नेमा म पूर्ण विश्वस्त छु ।”
त्यसपछि हामीले ध्यानको कुरा गर्यौँ। मैले पेरिशको नजिकमा रहेको विपाश्यना केन्द्रमा गएर ध्यान गर्ने योजना बनाएको तर कोरोनाको कारणले त्यो योजना स्थगन गर्नुपरेको कुरा सुनाएँ ।
त्यति कुरा हुँदासम्म विमान चालकले हामी अब केही बेरमा भियना अवतरण गर्ने र आफू रहेको ठाउँमा सुरक्षित रहने सुचना दिए । त्यसपछि मैले हाम्रो वार्तालाप त्यहिँ अन्त्य गर्ने बारेमा सोचेँ । र मसँग यो वार्तालापमा सहभागी भएकोमा धन्यवाद दिएँ अनि आउँदो यात्राको सफलताको कामना गरेँ र त्यसको अन्त्यमा मेरो नाम ‘प्रकाश’ लेखेँ। उसले पनि कुराकानी सुरु गरेकोमा मलाई धन्यवाद भनि र मलाई पनि अर्को यात्राको शुभकामना दिई र त्यसको अन्त्यमा उसको नाम लेखी ‘सारा’ ।
जहाजबाट उत्रिएपछि हामी आ–आफ्नो बाटो लाग्यौँ । एक अर्कासँग सम्पर्क गर्ने माध्यम मैले पनि मागिँन उसले पनि त्यसबारेमा सोचिन सायद । अनुहार मास्कले ढाकेकोले अर्को चोटि फेरि कुनै संयोगले हाम्रो बाटो जुध्यो भने पनि हामी एक अर्कालाई चिन्न सक्नेछैनौँ । म यो यात्रा भरि पछिल्ला यात्राहरु सम्झेर खुशी वा दुखी भइन न भोली हुने यात्राहरु सम्झेर उत्साहित नै भएँ । त्यति खेर हामी भित्रको बुद्ध जागृत भएको हुनुपर्छ जसले गर्दा वर्तमानमा बाँच्न सकेका थियौँ। यसरी हामीले यात्राको अर्को अध्याय पुरा गर्यौँ। करिब तीन घण्टाको, एउटा चलचित्र जत्तिको लामो यात्रा । त्यस्तो चलचित्र जसको सुरुवात दुःख वा संघर्षबाट भएको थिएन न त अन्त्य नै दुःखले भरिएको थियो ।
लेखक परिचय
साहित्यका विभिन्न विद्याहरूमा कलम चलाउने अधिकारी युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा उभिने एउटा गतिलो उदाहरण हुन् ।