शरणार्थी शरणार्थी शरणार्थी
चुलीहरूको खोँचबाट निस्सासिँदै निस्किएर अलि खुल्ला बग्ने गर्छ रातुवा बेलडाँगिमा।रातुवाको तिरैतिर हिँड्ने सडकको छेउमा एउटा बुढो पिपलको बोट छ।पिपलसँगै एउटा पुरानो चौतारी पनि छ। यो पिपलको बोट भुटान डगानाको रिजाल बाजेले रोपेका हुन्। चौताराचाहि ताम्बेनि बोजुको सम्झनामा बनाइएको हो। आजभन्दा बीस वर्ष अगाडि हरेक दिनजसो रिजाल बाजे आफूले रोपेको यो पिपलको फेदमुनि आएर बस्ने गर्थ्यो। पछि त्यसकै फेदमा ताम्बेनि बोजुको चौतारी नि बनाइयो ।त्यसपछि त यो ठाउँमा शिविरका अरु मानिसहरू भेला भएर दु:ख-सुखको गफ गर्ने आँगनै बन्यो । यहीँ बसेर केटाकेटीहरूलाई भुटानको कुरा सुनाउँदासुनाउँदै रिजाल बाजे बुढो भए । अहिले ताम्बेनि बोजुको त्यो चौतारा र पीपलको फेदमुनि भेटिदैँनन् रिजाल बाजे । न त भेटिन्छन् क्याम्पको अरु मानिसहरू नै । छ त केवल यो पीपल र चौतारीसँग जोडिएको बेलडाँगी शरणार्थी शिविरको नोस्टाल्जियाहरू । रतुवाजस्तै धमिलो । शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी
– – – – –
उसको जन्म सन् १९७९ मा भुटानको देउराली ब्लक सारभाङ जिल्लाको लाभ्राङ गाउँमा भएको हो । त्यहाँ प्राय नेपालीहरूकै बसोबास थियो । लाभ्राङमा उसको बाल्यकाल राम्रैसँग बित्यो । अभाव भन्ने कस्तो हुन्छ आमाबाबुले अनुभव समेत गर्न दिएन । पछि १९८६ सालमा देशमा प्रजातन्त्रको आन्दोलन सुरु भएपछि भने भुटानको धेरै नेपाली बस्तीहरूमा विद्रोहको झिल्का बल्न थाल्यो । हरेक नेपाली त्यो परिवर्तनगामी आन्दोलनमा होमिए । परिणामस्वरुप सरकार विरोधि आन्दोलनमा संलग्न भएको आरोपमा सैनिकहरूले एकएक नेपाली बस्तीहरूमा छापा मार्न थाले । युवाहरूलाई चरम सजाय दिएर जेल चलान गर्न थाले । युवतीहरूलाई बलात्कार र यौन शोषण गर्न थाले । यहीँ आरोपमा सैनिकहरूले उसको बुवालाई पनि गिरफ्तार गर्यो । आन्दोलन चर्किदै गएपछि भोटे सरकारले देशनिकालाको आदेश नै जारी गर्यो । त्यसपछि भुटानका धेरै नेपालीहरू भागेर नेपालतिर बसाइँ सर्न थाले । उसको बुबाले पनि जेलबाट निस्किए पछि गोप्यरूपमा खेतबारीको फारम भरेर सरकारले उपलब्ध गराएको रकम लिएर परिवारसहित बसाइँ सर्ने चाँजोपाँजो मिलायो । अनि गाउँकै ८/९ जना छिमेकीसहित भागेर सुनकोस खोलामा चेपाको सहयोगले भारततिर पसे । एकातिर पुलिसले समात्ने डर त अर्कोतिर नदीमा डुबिने डर । डरैडरको बाबजुत पनि उनीहर नदी पार गरेर भारत प्रवेश गरे । अरु छिमेकीहरू चाहिँ मेडिकल चेकअपको लागि भनेर बसदेखि गएका थिए । त्यसपछि सबैजना भारतमै भेट भएर सिलगुडि हुँदै नेपाल जाने मालबाहक ट्रकमा माइधार क्याम्पसम्म आइपुगे । त्यतिबेला उनीहरूसँग हिड्ने बेला खर्च जोहो गरि राखेको जम्मा पन्ध्र हजार रुपैँया थियो । त्यसले भाँडावर्तन, ओढ्ने ओछ्याउने लत्ता कपडा र अन्य आवस्यक सरसामानहरू किने । त्यसपछि माइधार क्याम्पमा बाँसको सानो झुप्रो बनाएर अस्थाइ रुपमा बस्न थाले । माइधारमै उसको बहिनी पनि जन्मियो ।स्वर्गजस्तो त्यो गाउँ छाडेर यसरी एक्कासी किन निर्वासित भए उसलाई केही पनि थाहा थिएन ।
पछि उनीहरूको क्याम्प बेलडाँगीमा सार्ने कुरो चल्यो । लगभग आठ महिनाको सकसपूर्ण बसाइँपछि उनिहरू आआफ्नो लत्ताकपडा, भाँडावर्तन, हातहतियार लिएर माइधारको पश्चिमपट्टि रहेको दमकको उत्तरी क्षेत्र बेलडाँगीतिर लागे । केहि जत्था भने मोरङको पथरीतिर हिँडे । चुलाचुलीको फेदीमा रहेको बेलडाँगी पुरै जङ्गल थियो । खयर, बाँस र भुजेत्रोघारी चुलीसम्मै फैलिएको थियो । छेवैमा कलकल गर्दै रातुवा खोला बग्ने गर्थ्यो । रातुवाको तिरैतिर चुलीहरूको फेदी हुँदै दमक रवी सडकखण्डको कच्ची रोड हिँडेको थियो । चुलीहरूमा फाट्टफुट्ट घरहरू देखिन्थे । सुरुमा उनीहरूले त्यहीँ जङ्गलमै पाल टाँगे । अनि सबै मिलेर रुख, बुट्यान र झाँडीहरू फँडानी गरेर आआफ्नो साँध कोरे । त्यसपछि चुलीहरूबाट बाँस, रुखका हाँगा र खरहरू संकलन गरे । अनि रूखका हाँगाहरूको खम्बा, बाँसको टाटी, खर र स्याउलाको छानो हालेर चिटिक्क परेको सानो झुप्रो बनाइ बस्न थाले । बिस्तारै आफन्त र अन्य दाजुभाइहरू पनि एकएक गर्दै भागेर आउन थाले । त्यसपछि त माइधार, बेलडाँगी र पथरी भुटानी शरणार्थीहरूको बाक्लो क्याम्पले ढाक्न थाल्यो । त्यतीबेला राजा महेन्द्रले शरणार्थीहरूको क्याम्प क्याम्पसम्म आएर आफ्नो दाजुभाइहरूको खुलेरै स्वागत र सहयोग गर्नुभयो। बिस्तारै शिक्षा, स्वास्थ्य, र अन्य आवस्यक क्षेत्रहरूमा पनि सकेसम्मको व्यवस्थापन गरिदिनुभयो ।त्यतिबेलै हो उसले पहिलोपटक नेपालको राजा देखेको । उसलाई राजा आफ्नै मान्छे जस्तो लाग्यो । विस्तारै क्याम्प घना र बाक्लो हुन थालेपछि बिभिन्न सेक्टरहरू छुट्याइयो । उनीहरूको झुप्रो सेक्टर १ मा पर्यो।
– – – – –
घरछेउको बाँझो जमिन खनेर क्याम्पमा सबैजनाले खेतीपाती नै गरे । बिस्तारै गाईबाख्रा पनि पाले।जङ्गल नजिक भएकोले घाँसको दुख हुन्थेन । घाँसको निम्ति सबैजना रतुवा तरेर पारि जाने भएकोले चुलिछेछाउका जङ्गल एकदु महिनामै नाङ्गो भयो । कत्ति त घाँसकै निम्ति तीन चार घण्टाको बाटो हिँडेर चुलाचुलीको माथ्लो भेगसम्म पुगे । खेती किसानीको अलावा प्राय सबै मजदुर गर्थे । बिहानै उठेर खाजा खाइकन उनीहरू दमक जान्थे ।अनि भेटेको सबै काम गर्थे । प्राय भेटिने भनेको कन्सट्रक्सनकै काम हुन्थ्यो । कसैले इट्टा बोक्थे । कसैले मसाला फिट्थे । कसैले रड बङ्ग्याउँथे।कसैले प्लास्टर गर्थे।लगभग साढे चारतिर बिदा भएपछि लस्करै हिँडेर आउँथे । अनि साँझपखतिर रातुवाको डिलमा भेला भएर सुखदु:खका गफ गर्थे । कसैकसैले भने जाल किनेर रातुवामा माछा मारेरै जीविका चलाउँथे ।
उनीहरूले कमाएको अलिअलि रकम संकलन गरेर शिविरका केटाकेटीका शिक्षाको निम्ति बाँसहरू संकलन गरि विद्यालयको आठ दशवटा भाटे भवन बनाइयो । डेस्क, बेन्च पनि बाँसकै बने । पाटि, डस्टर, चक र अन्य आवश्यक सामग्री चैँ किन्नु पर्यो । पुस्तक भने CARITAS सँस्थाले बितरण गर्यो । त्यसपछि सबै सेक्टरका केटाकेटीहरू खुसी हुँदै आफ्नो अपुरो पढाइ पुरा गर्न फेरि बिद्यालय जान थाले । कक्षामा विद्यार्थीहरूको ठूलो घुइँचो हुन्थ्यो । उ पनि बहिनीसँग बिद्यालय जान थाल्यो । बाँसको बेन्चमा लेकपढ गर्न असहज हुन्थ्यो । त्यै पनि उनीहरूले त्यस्तो पिडालाई हाँसिहाँसि पचाए । क्याम्पको शिक्षा एकदमै राम्रो थियो । लगभग सबैलाई अङ्ग्रेजी मेडियमबाट पढाइन्थ्यो ।नेपालको आम सरकार शिक्षाभन्दा उनीहरूलाई प्रदान गरिने शिक्षा गुणस्तरिय थियो । भुटानमा राम्रो प्राइमरी शिक्षा पाएको उसले एकदमै मिहिनेत गरेर पढ्न थाल्यो ।उसको बुबाले नि दमकमा मजदुरी गर्न थाल्नुभयो।आमा भने छेवैको रातुवा खोलामा छाताको ओत बनाइ ढुङ्गाहरू भेलाएर गिट्टी कुट्न थाल्नुभयो । सबै आफ्नोआफ्नो काममा लाग्ने भएपछि प्राय दिउँसो सबैको झुप्रो शून्य हुन्थ्यो ।
क्याम्पमा ज़िन्दग़ी सरल थिएन । सम्पत्तिको नाममा उनीहरूसँग त्यहीँ झुप्रो र भुटानी नागरिकता थियो । तर अब त्यो नागरिकताको पनि सजाउने बाहेक अरु प्रयोजन थिएन।उनीहरूलाई नेपाली नागरिकता प्रदान गर्ने प्रावधान थिएन । नागरिकता नभएको कारण वैदेशिक रोजगारको कुनै सम्भावना थिएन । रातदिन नङ्ग्रा खियाए पनि खान लाउन धौधौ पर्थ्यो ।कति दिन त उनीहर भोको पेट नै सुते ।बाआमाले दुख गरेर आर्जन गरेको रकमले एकछेउ नि पुग्थेन।सरकारले रासनको व्यवस्था गरिदिए पनि इच्छाअनुसारको खान र लाउन त कमाउनै पर्थ्यो । अर्कोतिर जेनतेन बनाएको झुप्रोको कहानी पनि उहीँ थियो । बर्खामा छानो चुहिएर पानी घरभित्र पस्थ्यो। प्राय त्यतिबेला उनीहरू रातभर जाग्राम नै बस्थे।अर्को समस्या भनेको हिलो, गर्मी र मच्छडको हुन्थ्यो । हिउँदमा फेरि चिसोको पिडा । बाँसका चेपबाट छिरेर चिसो सिरोटेले शरीरको छाला काढ्थ्यो । पछि UNHCR, UNO र WHOहरूले पाल, डोरी, काँट र अन्य थ्याचहरू वितरण गरे ।त्यसपछि भने झुप्राहरू निक्कै चिटिक्क र मजबुत बने।
उ घरछेउको रातुवा खोला हेर्दै हुर्कियो । हिउँदमा घुँडासम्म मात्रै पुग्ने रातुवा बर्खामा भने भेलबाढीसँग उर्लिएर
आउँथ्यो । बर्खाअघि बेची सकिएन भने बगरमा रास थुपारिएको गिट्टि सब बाढीले सोहोरिदिन्थ्यो । बाढीले मुढाहरू बगाएर ल्याउने हुँदा क्याम्पका लाठेहरू बर्खामा
प्राय खोलातिरै झुम्मिन्थे । मुढा आउनासाथ खोलामा पसिहाल्थे । अनि ४/५ जना मिलेर मुढालाइ बाहिर निकाल्थे । हुन पनि शिविरमा दाउराको साह्रै समस्या हुन्थ्यो । दाउरा खोज्नै माथि मर्चिबुङको चुलिसम्म पुग्नुपर्थ्यो । काँचो रुख ढाल्न मिल्थेन । सुकेको दाउरा मुस्किलले पाइन्थ्यो । फेरि त्यहाँका स्थानीयहरूले आफ्नो पाखातिर देख्यो भने ढुङ्गाले हान्थे । प्राय ती लाठेहरू बर्खामै पौडि खेल्दै दाउरा खोज्न हिँड्थे । उसले पनि सिनियर दाजुहरूसँग दाउरा खोज्न हिँड्दाहिँड्दै पौडि खेल्न सिक्यो । पछि त आफैँ खोलाबाट मुढा झिक्ने नि भयो । मुढा निकाल्ने क्रममा कतिपटक त उसले बाढीले बगाएको लास पनि निकाल्यो । बाढीले बगाएका अधिकांश लासहरू साक्फारा, बाघ मारा र सिंफेरेतिरका मानिसहरूका हुन्थे ।
समय रातुवा खोलाको बहाबसँगै फेरिँदै गयो । UNHCR, CARITAS जस्ता संस्थाहरूको अफिस बेलडाँगीमै बन्यो ।ती अफिसहरू स्थापना भएपछि क्याम्पमा धेरै सहयोग र राहत मिल्यो । ती संस्थाहरूले उनीहरूलाई धेरै किसिमका सिप तथा व्यक्तित्व बिकाससम्बन्धि तालिमहरू प्रदान गर्न थाले । साथै ठाउँठाउँमा घामको तापबाट खाना पकाउने छाता आकारको सोलर इन्धन पनि प्रदान गरियो । त्यहाँ खाना पकाउन पालोको निम्ति तालिका बनाइएको थियो । बिस्तारै क्याम्पका सबैजनाको आर्थिक स्थिति सुदृढ हुँदै गयो । बजार, दाउरा र मजदुरीमा जानुपर्ने भएकोले प्राय सबैले घरपिच्छे एउटा एउटा साइकल किने । मजदुरी गर्नेहरू बिहानै लस्कर लागेर साइकलमा दमक जान्थे । उनीहरू हिँड्दा बाटो पुरै भिड हुन्थ्यो । दाउरा खोज्नेहरू साइकल डोर्याएरै चुलिहरूको फेदसम्म पुग्थे । अनि साइकलमा बाँधेर दाउरा ल्याउँथे । दाउरा बेच्दा राम्रै कमाइ हुन्थ्यो । कत्तिले त दाउरा बेचेरै जिविका चलाउथेँ । पैसा बचत गरेर कत्तिले घरमै सानोतिनो पसल पनि जोडे । उसको बुबाले पनि बाटोछेउ सानो पसल खोल्नुभयो ।उसकी आमाले पसलमा चिया, नास्ता तथा अन्य खाद्य सामाग्रीहरू (चाउचाउ, बिस्कुट,थुक्पा,चिप्स आदि)बेच्न थाले । बगरबाट गिट्टि र बालुवा लैजान आउने अधिकांश ड्राइभरहरूले प्राय क्याम्पको ती पसलतिरै चियानास्ता गर्थे । बर्खा याममा त्यो दमक-रबि सडकखण्ड बन्द हुन्थ्यो । त्यतिबेला पैदल हिँड्ने यात्रु र बटुवाहरू बाक्लो हुन्थ्यो । खोलानजिक पसल नभेटिनाले थकित, क्लान्त र भोका ती बटुवाहरू खोला कटेपछि सिधै ती पसलहरूमै निस्कन्थे । यसरी बर्खा याममा अरू बेलाभन्दा राम्रो कमाइ हुन्थ्यो ।
सामाजिकरण र प्रगतिको कुरो आफ्नो ठाउँमा भए पनि
क्याम्पमा भने आफ्नै देश भुटान फर्किन पाउने आशा, इच्छा र हुटहुटि थियो । कत्ति टाठाबाठाहरू त समय र कागज मिलाएर स्थिति बुझ्न भुटान पनि आवतजावत गर्न थाले । उसको बुबा पनि एकपटक गुपचुप भुटान पुगेर फर्किए । तर भुटान फर्किने सम्भावना खासै देखेन उसले ।
त्यसैले सास भइन्जेल यतै दुख गरेर ढुक्क जिन्दगी बिताउने निधो गर्यो ।
– – – – –
उसले राम्रो अंक ल्याएर क्याम्पबाटै एस.एल.सि उत्तिर्ण गर्यो। एस.एल.सि पास गरेर उच्च शिक्षा लिन चाहनेहरूको निम्ति क्याम्पमा कार्यरत सँस्थाहरूले आधा खर्च उपलब्ध गराउने गर्थ्यो । आधा खर्च भने आफैले जुटाउनु पर्थ्यो । उसले बुबालाई आफ्नो पढ्ने इच्छा सुनायो। बुबाले केहि नभनि खर्चको इन्तजाम गरिदियो ।त्यसपछि उ साइन्स पढ्नको निम्ति इन्डिया हुइँकियो। दुई वर्षपछि त्यहीँके नेसनल ओपन स्कुलबाट प्लस टु लेभल पुरा गर्यो । त्यतिन्जेलसम्म उसको खर्च थाम्न घरमा निक्कै गाह्रो भैसकेको थियो । फेरि बहिनी नि पढाउनु पर्ने बाध्यता थियो । पढ्ने हुटहुटी बाँकी नै थियो मनमा । तर त्यसलाई बाध्यताले जित्यो । त्यसैले ऊ प्लस टुको प्रमाणपत्र र लत्ताकपडाहरू पोको पारेर रेलबाट सिधै घर फर्कियो ।
उ घर फर्किँदा क्याम्पबाट शिक्षणको निम्ति बिभिन्न गाउँतिर जाने प्रचलन सुरु भइसकेको थियो । उसका धेरै साथीहरू शिक्षणको निम्ति पूर्वी पहाडतिर लागिसकेका थिए । उसलाई पनि बुबाआमाले शिक्षणको प्रस्ताव गर्यो । घरको अवस्था हेरेर उसले नाइनास्ति गर्नै सकेन । एकजना साथीसँग जनकपुर जाने कुराकानी पनि भयो । आमाबुवाले दियोकल बालेर आशीर्वाद दिनुभयो ।त्यसपछि आफ्नो सर्टिफिकेट, लत्ताकपडा र बाटोखर्च बोकेर उनीहरू शिक्षण गर्न जनकपुरतिर लागे ।
हिँउदोयाम चुलीहरूम हराउने रातुवा बर्खामा उर्लिँदै बगिरहन्थ्यो । रातुवासँगै उर्लिरहन्थ्यो दु: ख, पिडा र व्यथा शिविरहरूमा पनि ।रातुवाले त किनारा लाउँथ्यो बगरमा ढुङ्गामुढाहरू । तर क्याम्पभित्रको दर्दहरू किनारा लाउने कोहि थिएनन् । न त नेपाल सरकार, न त भुटान सरकार ।
भुटान फर्किने सपना देख्दादेख्दै शरणार्थीहरू
थाकिसकेका थिए । ति सपनाहरू रातुवाको तातो बगरमा लेखिँदै मेटिँदै गर्थे । खुलिहरूको खोँचतिर निस्सासिँदै हराउँदै गर्थे । जसरी हराउँथ्यो उनीहरूको आयु अनुहारको चाउरीहरूमा । समय यसरी नै बित्दै थियो । क्याम्पतिरै जन्मिएकाहरू कलिला पुस्ताहरू बिस्तारै हुर्कँदै थिए । घरछेउछाउ रोपेका मसला, बरपिपल अनि कदमका बिरुवाहरू बढेर झुप्रोभन्दा अग्लोअग्लो हुँदैथियो।
यसरीनै बिते कति ऋतुहरू । गुज्रिए कति समय चक्रहरू । फेरिए साल र संवतहरू ।
शिक्षणको निम्ति गाउँगाउँ जानेहर चाँडपर्वहरूमा घर आउँथे र पर्व सकिएपछि फर्किहाल्थे । घर आउँदा नयाँ ठाउँको नयाँ अनुभवहरू सुनाउथे । फर्किँदा उनीहरूसँगै धेरै नयाँ ग्रुप पनि जान्थे । शिक्षण गर्न मन नहुनेहरू घरै बस्थे र परिवारसँग दुखसुख गरि खान्थे । चार वर्षको अध्यापन पछि उसले पनि जनकपुर छोड्यो ।अध्यापन गर्दा बचत गरेको अलिअलि पैसाले झुप्रोको टीनको छानो हाल्यो । बाबुलाई दाउरा सुरुवाल र कोट किनिदियो ।आमा र बहिनीलाई गहना जोडिदियो ।त्यसपछि शिविरकै केटी भित्र्यायो ।अनि बिहे गरेर छरछिमेकलाई सानो पार्टी दियो ।
बिहे गरेको एकदुई महिनापछि नजिकैको इलामको एउटा बोर्डिङबाट शिक्षणको अफर आयो । घरको बाध्यताले फेरि उ पहाडतिर चढ्यो । त्यो बोर्डिङमा उसलाई प्रधानध्यापकको जिम्मेवारी दिइयो । पहिलेपटक यस्तो गहन जिम्मा पाएकोले उसले पनि आफ्नो सिप, दिमाग र इमान्दारीता प्रयोग गरेर बिद्यालय कल्याणमा अहोरात खट्यो । बिद्यालयमा हरेकदिन अभिभावकहरू केहि न केहि गुनासाहरू लिएर हाजिर हुन्थे । कतिले त पदको हेक्का नराख अपाच्य शब्दहरू नि प्रयोग गर्थे । तर उसले बाध्यता सम्झेरै यस्ता बचनहरू हाँसिहाँसि पचाइदिन्थे।बिदा हुन बित्तिकै घरको न्यानो ताप्न उ शिविर झरिहाल्थ्यो । लगभग १७ किलोमिटरको चुलीबीचको बाटो उ बगरैबगर पैदल हिँडेरै घर पुग्थ्यो ।
क्याम्पमा बिस्तारै इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन IOM सँस्थाको अफिस खडा भयो ।अफिस खडा भएको केही महिनापछि शिविरमा IOM का गाडीहरू नि देखिन थाले । IOM को आगमनसँगै क्याम्पमा यु. एस. ए, अस्ट्रेलिया र अन्य युरोपियन देशहरूमा बसाइँसराइको हल्ला पनि सुनिन थाल्यो ।एनजिओ र आइएनजिओका गोराहरू बस्तीबस्ती कागजपत्र, घरसंख्या र पारिवारिक बिवरणहर बुझ्दै डुल्न थाले । बसाइँसराइको हल्लाले क्याम्पको झुप्रोहरूमा खुसीको अलिकति उज्यालो झुल्किन थाल्यो । सबैका कान ठाडाठाडा भए । आँखाहरू चनाखो भए ।
नभन्दै २००७ मा बिदेश बसाइँसराइको प्रावधान खुल्यो । शरणार्थी
माइग्रेट भएपछि काम गर्दै उतै बस्न पाइने भयो । सबैजना हुनसम्म खुसी भए । वैदेशिक रोजगारको त्यो अवसर क्याम्पमा सकसपूर्ण बाँचिरहेको शरणार्थीहरूको निम्ति सुखको प्याकेजजस्तो भयो । जसरी हुन्छ उनीहरूलाई दु:खको त्यो झुप्रोबाट मुक्ति पाउनु थियो ।सबैजनाले एकएकगरी नामावलि विवरण टिपाउन थाले । IOM को अफिसअगाडि उनीहरूको घुइँचो हुन थाल्यो । शिक्षण गर्न टाढाटाढा जानेहरू क्याम्प फर्किन थाले । उ पनि जागिर छाडेर घर फर्कियो । बुवासँग छलफल गर्यो । उसको बुवाले वषौँदेखि कुनामा थन्क्याइ राखेको बाकसबाट पुरानो कागजपत्रहरू निकालेर दियो । उसले ती कागजपत्रहरू हेरेर बुबा, आमा, बहिनी, श्रीमती र उसको आवश्यक सबै विवरणहरू भेल पारेर अफिसमा बुझायो । विवरण बुझाएको केहि दिनदेखि बसाइँसराइको प्रकिया शुरु हुन्थ्यो । प्रक्रिया सफल भएपछि पालैपालो सबैको भिसा लाग्थ्यो । प्राय सबैले अमेरिकाकै भिसा बढी एप्लाइ गरेका थिए । उसले पनि सबैजनाको अमेरिकाकै भिसा एप्लाइ गर्यो । लागेर पहिलोपटक माइग्रेट हुनेहरूलाई क्याम्पमा अबिर हालेर भब्य बिदाइ गरियो । IOM को बस चढेर राता आँखा बनाउँदै उनीहरूल झ्यालबाट हात हल्लाइरहँदा परिवारजन, इष्टमित्र र छिमेकिहरूको आँसुले बिह्वल हुन्थे। यसरी हरेकदिन IOM को बसले क्याम्पबाट
तीसचालीसजना शरणार्थीहरु उठाउन थाल्यो ।त्यत्रो जनसंख्या भएको क्याम्पको झुप्रोहरू एकैछिनमा रित्तिन थाले । झुप्रोसँगै बस्तु गोठ, घुर्यान, करेसाबारि, र बगैँचाको फुलहरू पनि शून्य हुन थाल्यो । अप्रिलको अन्तिमतिर उसको पनि भिसा कनफम भयो । भिसा कनफम हुँदा परिवारको खुसीको सिमा रहेन । बिस्तारै परिवारको अरु सदस्यहरूको पनि भिसा लाग्यो ।
– – – – –
क्याम्प छाड्ने अघिल्लो साँझ उ रातुवाको डिलमा गएर बस्यो । गोधुलिको पहेँलो घाम खोलाको पानीभरि पोखिएको थियो । तिन चारजना खरितेहरूले बस्तुहरूको बथान ओह्रालो झार्दै थिए । धूलो उडाउँदै बगरभरि हिँडिरहेको बस्तुहरूको लस्करसँग उसले रातुवालाई एकोहोरो हेर्यो । तेह्र वर्षको हुँदा पहिलोपटक देखेको रातुवा उस्तै शान्त थियो । उस्तै स्वच्छ थियो । तर पहिले ठूलो र फराकिलो लाग्ने रातुवा अहिले उसलाई सानो र साँघुरो लाग्यो । सायद उ वयस्क भएको हुँदो हो । उसको नजर बद्लिएको हुँदो हो । अनुभव फेरिएको हुँदो हो । उसले ति बगरहरूमा गर्मी र बाढी नभनि गिट्टी कुटिरहने आमालाई सम्झे । आमाका साथीहरूला सम्झे । बगरमा खालिखुट्टा साइकल डोर्याउँदै चुलीहरूमा दाउरा खोज्न जाने बुवालाई सम्झे । बर्खामा बाढीले बगाएर ल्याएको मुढाहरू निकाल्ने दाइहरू सम्झे । जाल बोकेर माछा मारिरहने सायाङ्दोर्जे आस्याङलाई सम्झे ।बाच्नको निम्ति रातुवाले के दिएको थिएन र उनिहरूलाई ? चरम दु:खहरूमा
पनि निरन्तर बाँच्न रातुवाले नै सिकाएको थियो।जिन्दगीको अविराम यात्रा गर्न रातुवले नै सिकाएको थियो । क्याम्पको कैयौँ सकसपूर्ण रात उनीहरू रातुवाको मिठो सुस्केरा सुन्दै सुत्ने गर्थे । दिनभरिको थकान मेट्न उनीहरू रातुवामै डुबुल्कि मार्थे । उसलाई रातुवा मिखाइल गोर्वाचोभको “दोन”नदीजस्तै लाग्यो ।
भोलिपल्ट उ सबेरै उठ्यो । ऊ उठ्दा आमाले पुजापाठ सक्नुभएको थियो । अनुहार धोएर टिका थाप्यो ।टिकासँगै मनग्गे आशीर्वाद र आसिस थाप्यो । बहिनी र श्रीमती मिलेर खाजा तयार गरिसकेका रहेछन् । खाजा खायो । लत्ता कपडा र आवश्यक कागजातहरू झोलामा बोक्यो । त्यसपछि घरको एकेक कोठाहरू हेर्यो ।कोठाको भित्तामा झुण्डिरहेको श्रीमतीसङँगको जोडीफोटो झोलाभित्र हाल्यो । बाहिर निस्केर भान्साघर, चर्पि, बगैँचा, फूल, सिकुवा, गोठ, पसल, आँगनी र आँगनीछेउ उसले रोपेको मसलाको बोट हेर्यो ।तीसवर्ष बसिसकेको आफ्नो घर र ठाउँ छाड्नुपर्दा उसलाई मनमा अलिअलि न्यास्रो लागिरहेको थियो । बुवाले अबेला हुने सम्झाएपछि आफन्तजन र इष्टमित्रसँ बिदा मागेर उ सबै परिवारसँग IOM अफिसतिर लाग्यो ।
अफिस पुग्दा सबैजना भेला भइसकेका थिए । बिदा हुनेहरू आँखा रातो पार्दै बसमा चढिरहेका थिए । कोहि परिवारसँग फोटो खिच्न हस्याङफस्याङ गरिरहेका थिए।उसलाई पनि बुवा, आमा, श्रीमती र बहिनीले पालैपालो अबीर र फुलमाला लाइदियो । उसलाई बिदाइ गर्न अरु साथीहरू पनि आइपुगे । त्यसपछि फोटो खिच्ने कार्यक्रम भयो । फोटो खिचिसकेपछि सबैजनालाई बिदा माग्दै ऊ बसभित्र चढ्यो ।त्यतिन्जेलसम्म लगभग सिट भरिसकेको थियो ऊ अन्तिमको सिटतिर बस्यो । झ्यालबाट टाउको निकालेर फेरि एकपटक सबैलाई बाइ गर्यो । मनभरि अमेरिकाको बिराट सपना, योजना र सुदूर भविष्यको कुराहरू खेलाएर बिछोडको पिडालाई जित्ने कोसिस गर्यो । त्यतिकैमा गाडि स्टार्ट भयो । उसले अन्तिमपटक झ्यालबाट मुन्टो निकालेर परिवारलाई हेर्यो । IOM अफिस छेउ धूलाम्मे सडकमा उसका बुबा, आमा, बहिनी र श्रीमती हात हल्लाउँदै उभिरहेका थिए । क्याम्पको पुछारमा रहेको अफिस छाडेर बस अघि बढ्यो । झ्यालको सिसाको फ्रेमबाट उसको परिवार, अफिस र क्याम्पको झुप्रोहरू मधुरो हुँदै बिलिन भयो। बाटोको डिलभरि उभिएका मसला र सिरिसका रुखहरू झ्यालभरि घुम्न थाले। शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी शरणार्थी
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।
गज्जप लेखनी। त्यो पिपलमा धेरै पल्ट सुस्ताएको छु।