घरको पश्चिम दिशामा अवस्थित कोठामा पश्चिमतिरै फर्किएको झ्याल छ जसको ठिक बाहिरपट्टि काठको आडमा गौँथलीको परिवार बस्छन्। यिनीहरूले यो घरलाई आफ्नो घर ठानेको पनि दुई दशक भन्दा बढी भैसक्यो, लगभग मेरै उमेर जति। निक्कै संख्यामा फैलिएको छन्, यिनीहरूको चिर्बिराहटबाट अनुमान लगाउँछु तर एक्ज्याक्ट कति छन् मलाई नि थाहा छैन। म सधै यिनीहरूलाई हतारमा नै देख्छु मस्ट एक्टिभ लिभिङ्ग बिङ्ग भन्दा फरक नपर्ला कि ?
म बिउँझनु पूर्व नै यिनीहरूको गन्थन सुरु भैसकेको हुन्छ हुन त कुनै दिन यिनीहरूभन्दा पहिले म पनि बिउँझीएकी थिएँ, यिनीहरूभन्दा एक्टिभ म पनि थिएँ । सायद त्यो बेला कहीँ टाढा पुग्नको लागि सवेरै सुरुवात गर्न चाहन्थे यात्राको। आजकल त मलाई कहिँ पुग्ने हतारो छैन । हुन त सपनाहरू/गन्तव्य नभएको भन्ने हैन तर अनगिन्ती अनुभुतिहरूलाई सगाँलेर अगाडि बढ्ने चाहतमा जो डुबेको छु ।
गौँथलीको गन्थन केहिबेर सुनिसकेपछि थोरै झ्याल खोल्छु । मलाई पुरै झ्याल खोल्न मनपर्दैन खुलेको त्यो भागबाट म चाहन्छु उज्यालोका किरणहरू मलाई खोज्दै आउन्, फोक्सोमा केही साहस भरिदिउन् बदलामा परावर्तीत किरणहरूलाई पछ्याउँदै कोसौँ टाढा उभिएको हिमाललाई चियाँउछु । हिमाललाई प्रत्यक दिन चियाउँनु मेरो आदत हो । धेरै दिनपछि हिमाल देखिएको छ। सूर्यको किरणले हिमाललाई चुम्दाको दृश्य देखेर मनै आल्हादित हुन्छ। त्यही हिमाल जसलाई हेर्दै म हुर्किए तर पनि मलाई त्यस हिमालको नाम थाहा छैन । कुन धरातलमा टेकेर उभिएको छ म जान्दिन् । दिन खुलेको समयमा पनि हिमालको भाग कहिले बढी देखिन्छ कहिले कम तसर्थ यो हिमाल आफैमा नि मलाई रहस्यमयी लागिरहन्छ ।
रहस्यकै कुरा गरिरहँदा एकजना प्रिय आत्माले भनेको कुरा याद गर्छु, कतिपय कुराहरू रहस्यमै सुन्दर हुन्छन् तसर्थ रहस्यमा नै रहन दिनुपर्छ । म आफैलाई नि जीवनमा कति कुरालाई रहस्यमै रहन दिन मन लाग्छ । तर तीनै रहस्यले भरिएको मान्छेको बारेमा जान्ने उत्कट चाहना हुन्छ कहिलेकाहीँ । तिनै मान्छे रहस्यले भरिएर नि सुन्दर लाग्छन्, कहि दुर रहेर नि नजिक लाग्छन् । म उनको बारेमा सोच्छु, कुन अर्थमा सोच्छु यो थाहा भएन ।म उनलाइ प्रेम पो गर्छु कि ? कहिलेकाही यहि झ्यालभित्रको दुनियामा रहेर सोच्छु, गर्छु भन्ने अनुभूति हुन्छ । तर म उनलाई भन्दिन/ भन्ने पनि छैन र यो कुरा दुनियालाई थाह दिन आवश्यक देख्दिन।यी कुराको पछाडी कारण हुन नि सक्छ/नहुन नि सक्छ । यसबारे म खासै सोच्दिन बरु सोच्छु कुनै समय उनीप्रतिको प्रेमले मेरो हृदय भरिएला, छताछुल्ल भई पोखिन मन लाग्ला त्यो समय कुनै पहाडको कन्दरातिर जाउँला र चिच्याउँला, ओ, प्रिय रहस्यमयी मान्छे ! म तपाईँलाई प्रेम गर्छु, शायद आफ्नै जिन्दगीलाई जति या कति कति ? र प्रतिध्वनि फर्किएर मेरो कानमा ठोक्किइ सारा शरीरमा कम्पन फैलनसाथै त्यहाँबाट फर्किनेछु ताकी प्रकृतिको कुनै अंशले नजिस्काओस मेरो यो पागलपनलाई ।
कहिलेकाहीँ ती मान्छेसँग खुल्न पुग्छु । आफ्नो आदतहरूबारे भनिपठाउँछु । धेर आदतहरू मिल्न पुग्छन्, सोच्छु ती संयोग न हुन। आफैलाई नै मननपर्ने मेरो केही आदतहरू उनी मनपराइदिन्छन् यति कुराले नै मेरो हृदय प्रफुल्ल बनिदिन्छ र सोध्न मनलाग्छ उनलाई, कुनै दिन म आफैले आफैलाई प्रेम गर्न छोडे भने तपाईँ प्रेम गर्नुहोला कि म आफैले प्रेम गर्न नसकेको मेरो जिन्दगीलाई ? महसुस गराउन आवश्यक ठान्नुहोला कि मेरो अस्तित्व पनि अर्थपूर्ण छ यो दुनियाँमा(तपाईँको दुनियाँमा) ? तर प्रिय आत्मा यो प्रश्न आफैमा अराजक छ/सुनिन्छ र यसको उत्तर के हुन आउँछ त्यो कुरा नि रहस्यमै छ र रहिरहनेछ ।
अक्सर झ्यालभित्रै रहेर म बाहिरी दुनियाँको बारेमा सोच्ने गर्छु भौतिक शरीरलाई सिमाले बाँध्छ तर यो दिमागलाई किन बाँध्दैन होला, कहिलेकाहीँ सोच्छु। सायद सोचाइ/कल्पनाको पनि सिमारेखा हुन्थ्यो भने जीवन बढी सुन्दर हुन्थ्यो होला कि कम ? संवेदनशील मान्छेहरू आफ्नै सोचाइको कारण दु:खित छ्न तर पनि जीवनको हर अवयवहरूलाई नियालेर हेर्दा नि मलाई जीवन कुरुप लाग्दैन। यो समय म आफैभित्रको कुरुपतालाई अगाँलेर जीवनको सुन्दर पक्ष खोज्नमा तल्लिन छु।
मलाई थाहा छ झ्याल बाहिरको भौतिक दुनियाँमा अहिले वसन्त ॠतु चलिरहेछ। अहिले पालुवा पलाउनुपर्ने, सुनखरी फुल्नुपर्ने, कोइली र न्याउलीले भाका हालेर गाउँबस्ती नै वसन्ती बनाउनुपर्ने हो । तर समय फरक छ, मेरो बाल्यकालको स्मृतिमा रहिरहेको वसन्त ॠतु र अहिले आएको वसन्त ॠतुमा आकाश जमिनको फरक छ । जलवायु परिवर्तनसँगै प्रकृतिले रुप/स्वरुप फेरेकि छिन म आफैमा पनि त धेर बदलावहरू भेटाउँछु । पहिले डाँडाकाँडा घुम्थे, पाउलिदै गरेको पात जानी नजानी बजाउथे, कोइलीको कुहुकुहु भाका जानी नजानी टिप्न खोज्थे तर आजकल मलाई बाहिरी दुनियासँग खास प्रेम छैन तर यो समय जिन्दगीसँग प्रेम भने गज्जबकै छ । आफ्नै कोठा आफैलाई प्रिय लागिरहन्छ । कोठाको सिलिङ्गलाई/भित्तालाई हेरेरै नै आनन्दित भैदिन्छ हृदय जसरी खुल्ला/ नीलो आकाशसँगको सामिप्यतामा हुने गर्दछ । कोठाको हुलियाको कुरा गर्दा सब कुरा आफ्नै हिसाबले बसेको छन् । ती सब जिवित छन भन्ने महसुस गरिरहन्छु म हुन त किताबहरूलाई निर्जीव ठान्न कहाँ नै मिल्छ र ? त्यो त सरासर पात्रहरू प्रतिको अन्याय हुन जान्छ। झ्याल छेवैमा सुकिसकेको गुराँस छ जसलाई डस्ट्बिनमा फाल्ने दुस्साहस गर्न सक्दिन म। गुराँससगै रहेर आर्टिफिसियल लिलिले कोठामा सुगन्ध छरिरहेछ, कुनै बखत यस्को सुगन्धलाई पछ्याएर आइपुग्न सक्छ केही भमराहरु। उता पारिजातको “शिरीषको फूल” नजिकै रहेर क्याक्टसले सुयोगबिरको फोक्सोमा अक्सिजन भर्दैछ। हुन त अरुले जसरी नै मैले प्रेम गरेको पात्र बरी/सकम्बरी नै हुन् तर उनलाई आफ्नै ढङ्गले हामीले भन्दा बढी प्रेम गर्ने पात्र सुयोगबीर नै हुन । बरीलाई प्रेम गर्ने हर पात्र/पाठक निस्सासिनु हुँदैन । तसर्थ सुयोगबिरको चुरोटको धुवाँले भरिएको फोक्सोमा स्वच्छ अक्सिजन भरियोस शायद यहि त चाहन्छ क्याक्टस पनि ।
तर यो समय किताबबाहिरको दुनियाँको पात्रहरू भने निस्सासिएका छन् । फोक्सोमा हावासँगै भाइरस छिर्ला यही भयले त्रसित छ यो बाहिरी दुनियाँ । कुनै दिन हावा स्वच्छ होला/भाइरसको अस्तित्व खतम होला र निस्फिक्री श्वास फेर्न पाइएला पर्खाइ यसैको हो। हुन त कोरोना भाइरस आउनुपूर्व नि हावा स्वच्छ कहाँ नै थियो र ? हिजो पनि हावामा जीवहरूको फोक्सोलाई छिद्रछिद्र बनाउने धुवाँधूलोदेखि लिएर हरित गृह ग्याँस, ओजन तह नष्ट गराउनेसम्मका कृत्रिम ग्यासहरू उत्सर्जन गराउने प्रमुख कारण भनेको मानव समुदायकै विकासको गतिविधिहरू थिए । आज प्रकृतिले अझ बलियो संरचना भएको भाइरसको उत्पती गराएर सिङ्गो मानवसमुदायलाई चुनौती दिएको छ । भाइरस सूक्ष्म रहेर पनि सर्वश्रेष्ठ मानिएको/ठानिएको मानवलाई लाचार बनाइरहेको छ। अरुको दुर्दशा हेरेर, आफैमाथि कुनैपनि समय आइपर्न सक्ने भयावह स्थितिको कल्पना गरेर बाँच्न बाध्य छन् एक्काइसौँ शताब्दीको मान्छेहरू । विकासित मुलुकहरूले अन्तरिक्षमा रकेटहरू पठाइरहँदा, मङ्गल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनाको होडबाजी गर्दै, हरेक कुरालाई विज्ञान र प्रबिधिमार्फत आफ्नो बशमा पार्न सकिन्छ भन्ने एउटा भ्रमलाई एउटा सूक्ष्म भाइरसले मान्छेको नियन्त्रण बाहिर अझैपनि धेर कुरा छन् भनेर छर्लङ्ग पारेको छ।
अँ म गौँथलिको कुरा गर्दै थिए। म आफ्नै सोचभित्र हराइरहदा गौँथलिहरू कयौँपटक खुला आकाशमा उडान भरेर फर्किसक्छन् । हुन त उनीहरूले पनि आफ्नो कर्तव्य पूरा गर्नै पर्दो हो । जिम्मेवारीको बोझले पखेटाहरू भारी हुँदो हो कहिलेकाहीँ । तर पनि उनीहरू स्वतन्त्र छन् मानव भन्दा मलाई यस्तै लागिरहन्छ। कारण धेरै हुनसक्छन् ती मध्ये एक त उनीहरू स्वतन्त्र उड्न पाउँछन्। उनीहरूको उडानलाई कुनै भूगोलको सिमारेखाले छेक्दैन। अर्को त उनीहरू धेर नसोच्दा हुन। मानवको जस्तो जटिल मस्तिष्क के होला र अन्य प्राणीको । यो समय म चाहन्छु आफ्नै मस्तिष्कमा यत्रतत्र भइ चलायमान विचारहरूबाट मुक्त भएर कोठाभित्रको सिलिङ्ग/भिताहरूलाई घन्टौँसम्म निर्निमेष हेरेर आनन्द लिउँ, कुनै फिक्सनल दुनियाँभित्र सधैको लागि हराइदिउँ अथवा झ्यालबाहिरको खुल्ला आकाशमा गौँथलीहरू जसरी नै इच्छाअनुसार उडान भरुँ ।
उडान/स्वतन्त्रताकै कुरा गरिरहँदा आफ्नै कवितांशले गहिराइमा डुबाएर छोडिदिन्छ। जुन यसप्रकार रहेको छ,
मलाई लाग्छ,
म बादल हुँ
स्वतन्त्र छु गहिराइ नापेर
उचाइ लिन सक्छु
तर पानी भई रित्तिनु पर्ने यथार्थले झस्किन्छु।
लेखक परिचय
त्रिचन्द्र क्याम्पसबाट केमिस्ट्री ग्र्याजुयेट अनिला साहित्य पठन र लेखनमा रुचि राख्छिन् ।