कुनै समय ४४ वटा भन्दा बढी संघसंस्थाहरूमा आबद्ध रहेका जगत छेत्री सरले नेपाली साहित्य सम्मेलन, अखिल भारतीय नेपाली भाषा समिति, गोर्खा दुःख निवारक सम्मेलनदेखि लिएर शिक्षा प्रचारिणी समिति, भारतीय-नेपाली राष्ट्रिय परिषद्, दार्जिलिङ पार्वत्य विकास परिषद्, पश्चिम बङ्गाल माध्यमिक शिक्षा परिषद्सम्मको अनेकौँ सरकारी तथा गैर-सरकारी संघसंस्थाहरूमा आबद्ध भएर तन, मन र धन दिएर सामाजिक, साहित्यिक, शैक्षिक सेवा गरे । सन्त रोबर्ट्स उच्च माध्यामिक विद्यालयमा शिक्षकको जागीर त छँदै थियो त्यो बखत सरको । कहिले सत्य साई केन्द्रमा आध्यात्मिक प्रवचन दिने त कहिले साहित्य गोष्ठीहरूमा साहित्यिक वार्ता, जगत सरको उपस्थिति सधैँ गरिमामय हुन्थ्यो जता गए पनि । जगत सरको साहित्यप्रतिको लगनशीलताबारे प्रवुद्ध लेखक शरद छेत्रीले दियालो-हाँगो १३३/ सेप्टेबर २००० मा “डा. जगत छेत्री- एक कर्मनिष्ठ साहित्यिक” शीर्षक आलेखमा अत्यन्त सुन्दर ढङ्गले वर्णन गरेका छन्, “लगनशील जगत छेत्रीज्यूको कुशल सम्पादनमा निस्किने मासिक–पत्रिका जनदूत खूब लोकप्रिय साहित्यिक पत्रिका मानिएको थियो ।” स्थानीय आर्य समाजको सानो कोठाभित्र कसरी रातभरि खटेर सामान्य हाते – छापाखानामा जनदूत छापिन्थे, त्यसबारेमा छापाखानाभित्र जगत छेत्री सँगसँगै खट्ने अर्का सपूत श्री चन्द्र शर्माबाट सुनेपछि हामी आश्चर्यचकित बनेका थियौँ । त्यसप्रकार अत्यन्त थोरै सहयोगीहरूको निःस्वार्थ अनि कठोर परिश्रममा निस्किने लोकप्रिय पत्रिका जनदूतको नेपाली भाषा र नेपाली साहित्यको संरक्षण र संवर्दनमा महत्वपुुुर्ण योगदान रहेको छ ।
त्यसरी हाम्रो भाषा र साहित्यप्रति निस्वार्थ सेवाभाव राखी प्रकाशित हुने मासिक पत्रिका ‘जनदूत’ भएर धेरै नौला साहित्यिकहरूले पनि साहित्यको मनोरम यात्रामा अग्रसर बन्ने प्रेरणा पाएका थिए । त्यही रमाइलोमा मैले पनि साहित्यमा सामेल बनिने फूर्तिसहित जनदूत मा दुईवटा कथाहरू प्रकाशित गरेपछि सम्पादक जगत छेत्रीज्यू स्वयंले मलाई भेटेर प्रोत्साहित पार्दै भनेका थिए, “शरद भाइ ! तपाईँको लेखाइको ढंग राम्रो रहेछ – लेखिरहनुहवस्, भविष्यमा सफल हुनसक्नु हुनेछ ।” उनी बहुपक्षीय व्यक्तित्व थिए र मानव, भाषा, साहित्य, शिक्षा, संस्कृति र समाजको उत्थान र व्यवस्थासँग सम्बन्धित सम्पूर्ण समाजको सामुहिक हितमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष योगदान छ जुन सामूहिक हितका लागि थियो । उनी सधैँ सक्रिय र ऊर्जावान थिए ।
शिक्षामा एम. ए., पी.एच.डी., बी.टी. कोविद – जगत सर र प्रकाश राईले सँगसँगै सन् १९५७ मा राष्ट्रभाषा प्रचार समिति (वार्दा) बाट ‘कोविद’ उपाधि प्राप्त गरे पनि जगत सरले ‘कोविद’ प्रयोग गरेनन् तर प्रसिद्ध उपन्यासकार प्रकाश राईले प्रकाश कोविदको नामबाट नै प्रसिद्धि कमाए साहित्य जगतमा । मोटो चस्मा, मझ्यौला कद, हँसिलो अनुहार, साहित्यकार भनेपछि हुरूक्कै हुने, अत्यन्त मिलनसार, मृदुभाषी तथा असाधारण व्यक्तित्व – सायद यी विशेषणहरूले जगत सरको विशाल व्यक्तित्वको केही झल्को आवश्य नै दिन्छन् होला । शरद छेत्रीले माथि उल्लेख गरे झैँ जगत सरले नँया पुस्तालाई सधैँ प्रोत्साहन गर्नु हुन्थ्यो । मेरा गुरु उनी, विशेषगरी कक्षा ९ र १० मा । लेख्ने मान्छेलाई सधैँ हौसला दिन्थे, कविता र लेख लेखेपछि चाहिँदो सुधार पनि गरिदिन्थे । त्यो समय हामीलाई जगत सरप्रति गर्व हुनु स्वभाविक थियो किनकि हाम्रा गुरुले लेखेको नेपाली व्याकरण सबैले पढ्थे, उनले लेखेका कथाहरू निकै चर्चित थिए त्योबेला । उनीसँगै अर्का शिक्षक वीर विक्रम गुरूङ अब्बल दर्जाका कथाकार थिए- उनले लेखेको “ट्याइपिस्ट” कथा पाठ्यक्रममा नै थियो । सबै मिलनसार शिक्षकहरू मिलेर सन् १९८२ मा ‘फिलिङ्गो’ गीति क्यासेट (यै क्यासेटमा समावेश भएको गीत ‘भावनाले’-बाट अहिलेको चर्चित गायक उदय सोताङले आफ्नो गीति यात्रा शुरू गरेका थिए, गोविन्द प्रधानको शब्द र पेमा लामाको संगीतमा ) निकाले जसमा जगत सरको ‘पत्थर पनि पग्लिन्छ’ शब्दको गीत पेमा लामा सरको संगीतमा लावण्य गजमेरले गाएकी थिइन् । उनले लेखेको गोर्खाल्यान्डको गीत दीप वाइबाको संगीतमा पेमा लामाले गाएका थिए । त्यसै गरी ‘कोलाहल भरी संसारमा सुनसान कति खोजी हिँडूँ’ जस्तो मर्मस्पर्शी र भावपुर्ण गीत पेमा लामाको स्वर र दीप वाइबाको संगीतमा रेकर्ड भएको थियो ।
कोलाहल भरी संसारमा
सुनसान कति खोजी हिँडूँ
आऊ प्रिय बरु दूर जाऊँ
सुनसान मै बिलाऊँ
कोलाहल भरी संसारमा
नहुन् त्यहाँ कोही अरु
जति दिन बितोस् जति रात बरू
नहुन् त्यहाँ कोही अरु
म तिमी र केवल शुन्य आकाश
कलिला किरण कोमल बतास
आऊ प्रिये बरू दूर जाऊँ
सुनसान मै बिलाऊँ
कोलाहल भरी संसारमा
पाउने इच्छा त थियो
दिने चाहना पनि धेरै थियो
कसरी पुरा गर्ने कामना
विपना नपाउने यो ठाँउमा
आऊ प्रिये बरू दुर जाँऊ
सुनसान मै बिलाऊँ
कोलाहल भरी संसारमा
सुनसान कति खोजी हिँडूँ
आऊ प्रिये बरु दूर जाऊँ
सुनसान मै बिलाऊँ
यो गीत यहाँ हेर्न सक्नुहुनेछ:
जगत सर सितार तथा तवला बादनमा पनि पोख्त थिए । विद्यालयको वार्षिक कार्यक्रममा तबला बजाएको देखेको छु । सन् १९५८ मा बनारसबाट निस्कने दीपक मासिक पत्रिकामा लक्ष्मीप्रसाद देवकोटामाथि लेखिएको एउटा लेखबाट जगत छेत्री सर साहित्यमा प्रवेश गरेका थिए । साहित्यमा होमिनुको पछि उनका गुरु स्व. अगमसिंह गिरीको निकै ठुलो हात छ ( दायित्व साहित्यिक पत्रिकामा अन्तर्वातामा भने अनुसार), गिरी उनको गुरु भएकै कारण उनकै संसर्गबाट जगत सरलाई साहित्यिक प्रेरणा मिलेको थियो । त्यसै समय उनीभन्दा अग्रज इन्द्रबहादुर राई र अच्छा राई ‘रसिक’बाट प्रेरित भएर साहित्य सिर्जना गरे । जगत सरले सन् १९७४ मा त्रि.वि.वि. बाट एम. ए. र १९७६ मा विद्यावारिधिका लागि नाम दर्ता गरेर १९८७ मा “नेपाली भाषा र साहित्यको विकासमा नेपाली साहित्य सम्मेलन दार्जिलिङको भूमिका” विषयक शोधपत्रमा दार्जिलिङ उपाधि प्राप्त गरे । उनले नेपाली साहित्य सम्मेलनको सन् १९७८ देखि १९८३ सम्म अध्यक्ष भएर सबल नेतृत्व पनि प्रदान गरेका थिए । नेपाली साहित्य सम्मेलनको उल्लेखनीय योगदानबारे जगत सर लेख्छन्, “नेपाली साहित्य सम्मेलनका प्रकाशनको प्रवृत्तिगत विवेचना” लेखमा, “सम्मेलनले प्रकाशित गरेका साहित्यिक कृतिमा देखा परेका प्रवृत्ति वास्तवमा त्यस समय सम्पूर्ण नेपाली साहित्यमा देखा पर्न गएका प्रवृत्तिकै प्रत्यक्ष औ परोक्ष झलक हुन् । सम्पूर्ण नेपाली साहित्यमा देखा परेका प्रवृत्तिदेखि सम्मेलन तटस्थ वा अलग्ग रहन सक्तैनथ्यो । त्यसबाहेक सम्मेलनले नेपाली साहित्यको प्रकाशन सम्बन्धमा विशेष प्रवृत्तिलाई प्रोत्साहन दिने र विशेष अर्को प्रवृत्तिलाई उपेक्षा गर्ने जस्तो एकांगी वा पक्षपाती कुनै नीति अंगीकार गरेको थिएन न त्यसो गर्न नै उचित हुन सक्थ्यो । यो संस्था ता सबै उपयोगी प्रवृत्तिको निम्ति ढोका खोलेर बसेको थियो, यदि मूल्यवान् छ भने जस्तो प्रवृत्तिको कृति आए पनि प्रकाशित गर्न सम्मेलन तत्पर थियो । त्यही कारण हो सम्मेलन एकातिर वधूशिक्षा, रामायण, राघव विलाप जस्ता शास्त्रीय प्रवृत्तिका ग्रन्थहरू प्रकाशित गर्नतिर लाग्यो भने अर्कातिर भ्रमर, मुलुक बाहिर र दोषी चस्मा जस्ता स्वच्छन्दतावादका, यथार्थतावादका तथा यौन-प्रधान मनोविश्लेषणात्मकका तिनताकका अत्याधुनिक प्रवृत्तिका ग्रन्थहरू प्रकाशित गर्यो ।”
जगत सरले आफ्नो शोधपत्र छपाउने निकै प्रयत्न गरेता पनि जीवनकालमा सम्भव भएन । सायद अहिले पनि छापिएको छ वा छैन मलाई केही जानकारी छैन । जगत सरले साहित्यको प्रायजसो सबै विधामा चलाएका छन् । गीतहरू लेखेका छन्, कविता कोरेका छन्, निबन्ध र समालोचनामा निपुणता हासिल गरेका छन् । कथा, नाटक, एकाङ्की लेखनमा त सिद्धहस्त नै थिए उनी । उनी मुख्यतया निबन्धकारका रूपमा परिचित भएता पनि उनलाई मनपरेको विधा भने कथा थियो । सरका कथाहरू बी.पी. कोइराला र भिक्षुको नारी मनोविज्ञानबाट उत्प्रेरित भएको सरले स्वीकारेका छन् एक अन्तर्वातामा । नारी विशेषका मनोविकृतिहरू, नारी उत्पीडन र नारीका यौन समस्याहरूको वस्तुतथ्यलाई उदाङ्ग पार्न उनका कथाको विशेषता हो । उनका कथाहरूले मनोविश्लेषणात्मक नारी मनोविज्ञान र यौन मनोविशाल पक्षलाई ग्रहण गरेका हुन्छन् । उनका कथाका मुख्य पात्रहरू पनि नारी नै छन् र तिनीहरूले नारीको अन्तर्वेदनालाई निर्दिष्ट गरेका छन् । त्रिभुवन विश्वविद्यालयको १६औँ दीक्षान्त समारोहमा भाग लिन (विद्यावारिधिको प्रमाण पत्र लिन) काठमाडौँ आउँदा दायित्व-का सम्पादक रामप्रसाद पन्तले जगत सरको लामो अन्तर्वाता लिएका थिए । त्यो अन्तर्वार्ता दायित्व को वर्ष ५, पुर्णाङ्क २१, भारतीय नेपाली साहित्यिक विशेषांक, वि.स.२०५० मा प्रकाशित भएको थियो । उक्त अन्तर्वार्तामा जगत सरले दार्जिलिङे नेपाली साहित्यको विवेचना गरेका थिए । जगत सर भन्छन्,- “नेपाल भित्रका साहित्यकारहरूको बारेमा त्यति अध्ययन गर्न पाएको छैन । जहाँसम्म दार्जिलिङको कुरा छ- सुधपाले रिक्त गरेको स्थान पूर्ति हुन सकेको छैन । धेरै ठूलो अन्तरपछि रूपनारायण सिंह, शिवकुमार राई, इन्द्र सुन्दास, भाइचन्द प्रधान आदि आए तर ठूलो वृक्षको मुनि अरु पौधा मौलाउन नसके जस्तै सुधपाको अभाव पुरा हुन सकेन । केहीपछि इन्द्रबहादुर राई तथा आयामेली आन्दोलनले दार्जिलिङलाई झस्कायो । त्यसपछिको पिढीमा हामी आयौँ । हामीपछि धेरै समयसम्म दार्जिलिङमा आएको राजनैतिक, आर्थिक, शैक्षिक समस्याले युवाहरूलाई दिग्भ्रमित तुल्यायो । अब आएर मनप्रसाद सुब्बा, नोर्जाङ स्याङदेन, संजय बान्तवा, विजय बान्तवा, नरदेन रूम्बा आदि जोशिला युवाहरूले काव्यविधामा आशलाग्दो कलम चलाएका छन् ।”
सन् सत्तरी र असीको दशकमा जगत सरले लेखेको व्याकरण र निबन्ध नपढ्ने बिरलै थिए होलान् दार्जिलिङका विद्यार्थीहरू । कृतिकारको रूपमा जगत सरको पहिलो कृति हो –रवीन्द्रनाथ ठाकुरको जीवनी (सन् १९६३) त्यसपछि अन्तर्द्वन्द्व (कथासङ्ग्रह) सन् १९६५ मा । सन् १९६५ मा जगत सरको सम्पादनमा एकबोट बाह्र थुँगा कथासङ्ग्रह प्रकाशित हुन्छ जसको प्रकाशक थिए गोविन्द शर्मा । दार्जिलिङ निबन्धको पहिलो कृति हो –निबन्ध जगत (सन् १९६८), यो पुस्तक धेरै वर्षसम्म पाठ्यक्रम समावेश थियो । तीन तीयाँ तीन (संयुक्त कथासङ्ग्रह) सन् १९७० मा देखा पर्छ जसमा ग्याव्रियल राणा, बल देवान र जगत छेत्रीको तीन-तीनवटा कथाहरू परेका थिए । पाठ्यपुस्तकको खाँचो टार्न सन् १९७८ मा नेपाली साहित्यको संक्षिप्त इतिहास लेखे । सन् १९८१ मा आफ्नै सहकर्मी शिक्षक वीर विक्रम गुरूङसंग संयुक्त रूपमा कथासङ्ग्रह कथा संगम प्रकाशित गरे । यो कथा सङ्ग्रहको भूमिका लक्खीदेवी सुन्दासले लेखेकी थिइन् । र अन्तमा हारेको मान्छे म (सन् १९९२) को प्रकाशनपछि सन् १९९९ मा ६४ वर्षको उमेरमा सधैँको निम्ति इहलोकबाट बिदा भए । हारेको मान्छे म कथासङ्ग्रहमा चौधवटा कथाहरू संग्रहित छन् । “अब म पढ्दिन आमा”, “कुण्डु सर”, “अनि विश्वास हराए सबैले”, “कृष्ण”, “त्रिकोण”, “चित्र फ्रेम गर्नुपर्दा”, “बुहारी हेर्न जाँदा”, “लट्ठी”, “बाह्र वर्षपछि” आदि कथाहरूले प्रमुखता पाएका छन् । यसमा कतिपय कथाहरू प्रेमका विषयमा छन् भने कतिपय कथाहरूमा दार्शनिक दृष्टि स्पष्ट देखिन्छन् । आत्मपरक र वर्णनात्मक शैलीमा लेखिएको कथाहरू निकै प्रभावकारी छन् । दार्जिलिङमा सामान्य मानिसले भोगेको समस्यालाई जगत सरले कथाहरूमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरेका छन् । सम्पादनमा पनि कुशलता हासिल गरेको जगत सरले सर्वप्रथम जनदूतको सम्पादन गरे । अनि गोर्खाको पनि । नेपाली साहित्य सम्मेलनको दियालोको ५४, ७३-१०१, १२६-१२८ हाँगाहरू पनि सम्पादन गरे । जगत सरको निधनपछि दियालोले सन् २००० मा जगत छेत्री विशेषाङ्क पनि निकालेको थियो । उनको सम्पादनमा भानुभक्त स्मृति ग्रन्थको उत्तरार्द्ध, एक बोट बाह्र थुँगा (कथासङ्ग्रह), दलबहादुर गिरी (स्मृति ग्रन्थ), हिमालचुलीको टिप्पणी भाग १ (सन् १९६४), सूर्यविक्रम ज्ञवालीका पछिल्ला केही लेखहरू (सन् १९९८) आदि प्रकाशित भएका छन् । नेपाली साहित्य सम्मेलनले प्रकाशन गरेको ‘भाषा कुसुम’ को पनि सरले सम्पादन गरेको थिए ।
जगत सरको महत्वपुर्ण समालोचकीय कार्य हो नरेन्द्रप्रसाद कुमाईको रोदन खण्डकाव्यको समीक्षा । कलिलो उमेरमा बितेका प्रतिभावान कवि कुमाईको कृतिमाथि समकालीन र पछिल्लो पुस्ताले पनि कमै लेखेका छन् । नरेन्द्रप्रसाद कुमाईको रोदनको समीक्षा गर्दै जगत छेत्री सर लेख्छन्, “कुनै काल्पनिक प्रेमको आगोमा जलेका कविले यस काव्यमा आफ्नो पीडाको पूर्ण प्रणय वेदना अभिव्यक्त गरेका छन् । यसमा विरहको आँधी चलेको स्पष्टतया देखा पर्दछ । सम्पूर्ण खण्डकाव्यभित्र विरहको छाल उर्लेको छ । प्रणय पीडाले कविको हृदय सल्किरहेछ ।” जगत सर लेखको अन्त्यमा लेख्छन्,- “साहित्यमा स्वच्छन्दतावादी एउटा युग (फेज) आँउछ नै विश्वभरि । नेपालीमा त्यो रूपनारायण सिंह, देवकोटा, सिद्धिचरण, म.बी.बी. शाह, गिरी, भिक्षु, प्रेमराजेश्वरीहरूमा टड्कारो देखिन्छ । र थोरै भए पनि कवि कुमाईको काव्य नेपाली स्वच्छन्दतावादको सुन्दर नमूना भएर साहित्यका इतिहासमा अमर हुनपुगेको छ ।”
जगत सरलाई मन पर्ने लेखकहरूमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौड्याल, विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख हुन् । उनले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु पर्छ भन्ने भाषा आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए । सन् १९९२ जगत सरका निम्ति फलदायी सावित भयोः भारत सरकारले उत्कृष्ट शिक्षकको राष्ट्रिय पुरस्कार प्रदान गर्यो भने बर्षौँदेखिको संघर्षको प्रतिफलका रूपमा नेपाली भाषाले संवैधानिक मान्यता पायो र उनको एक कथासङ्ग्रह ‘हारेको मान्छे म’ पनि प्रकाशित भयो । उनले सन् १९८७ मा रत्नश्री स्वर्ण पदक र सन् १९९३ मा सिक्किमबाट भाषाको निम्ति पदक पाएका थिए । दायित्वमा दिएको एक अन्तर्वातामा नेपालमा सिर्जित नेपाली साहित्य र भारतमा सिर्जित भारतीय-नेपाली साहित्यमा अन्तरको बारेमा जगत सर भन्छन्,- “विशुद्ध नेपाली साहित्यको मूल थलो नेपाल भएको कारण नेपालबाहिर बस्नेहरूले पनि नेपाली साहित्य कै अनुसरण गरिराखेका छन् । बोल्दा र लेख्दा यहाँको भाषा र साहित्यमा अन्तर पर्दैन तर बाहिर भने जतिसुकै ठूला विद्वान र नेताहरूले पनि बोल्दा एउटा शब्द र लेख्दा अर्को शब्द प्रयोग गर्छन् । यति सम्म कि ‘तपाईँ’, ‘हजुर’ जस्तो आदरार्थी शब्द प्रयोगबाट शुरू भएको भाषण, वार्तालाप वा प्रवचनको अन्त्यमा तिमी र तँमा गई टुङ्गिन्छ । कतै कतै नेपालको दृष्टिले दार्जिलिङको भाषालाई उपभाषा भन्ने गरिन्छ तर त्यसो भन्नु मेरो दृष्टिमा त्यति उपयुक्त हुँदैन किनकी देश, काल, परिस्थिति र सीमा आदिको कारण र बङ्गाली भाषाको प्रभावले गर्दा अलिकति फरक हुन गएको मात्र हो । सिक्किम र असमको जस्तो अपभ्रंश भाषा दार्जिलिङको छैन । अतः त्यहाँको भाषालाई साधु भाषा रूपमा लिइनु पर्दछ भन्ने मेरो धारणा छ ।”
लामो समयसम्म जगत सरसँग संगत गरेका शरद छेत्री उनीबारे यसरी आफ्नो कुरा राख्छन्,- “सन् १९६५ तिर नै पढिसकेका थियौँ, त्यसपछि सन् १९६८ मा निबन्ध जगत अन्तर्गत निबन्धहरू पढेपछि फेरि सन् १९६६ तिर श्री ग्याव्रियल राणा र श्री बल देवानसित संयुक्त रूपमा संकलित कथासङ्ग्रह तीन तियाँ तीन अन्तर्गत तीनवटा रोचक कथाहरू पढ्यौँ । त्यस समयमा जगत छेत्रीज्यूको भाषा, साहित्य, शिक्षा, समाज इत्यादि तर्फको अथक गतिशीलता देखेर हामी आश्चर्यचकित बनेका थियौँ । विभिन्न पत्र-पत्रिकातिर उहाँका प्रशस्त रचनाहरू, केही साहित्यिक कृति लगायत अनेकौँ पाठ्य-पुस्तकहरूको लेखनकार्यसहित जनदूत, गोर्खा, दियालो जस्ता पत्रिकाहरूको सम्पादन कार्यमा तिनको अवदान प्रशंसनीय थियो । त्यति मात्रै होइन, तर विभिन्न साहित्यिक-सामाजिक संस्थाहरूमा अनि भाषा-मान्यताको आन्दोलनमा तिनको अथक सक्रियतासहित राजनैतिक संस्था गोर्खालीग र धार्मिक संस्था आर्यसमाज अन्तर्गत पनि तिनको संवद्धतालाई देखेर एउटै व्यक्तिले कसरी यत्ति धेरै कार्यहरू गर्न सकेका हुन् भन्ने आश्चर्यमा सबै परेका थियौँ ।
म सानैदेखि साहित्यानुरागी भएकोले जगत सरलाई शिक्षकको रूपमा पाँउदा आफैँलाई भाग्यमानी ठान्थेँ । सरको मार्गदर्शनले मेरो लेखनमा चुस्तता आयो, नेपाली साहित्यको विशाल भण्डारमा रसस्वादन गर्ने बानी बसाइ दियो । सरको म प्रिय विद्यार्थी त थिएँ नै, विद्यालय छोडेपछि पनि सम्पर्क रहिरह्यो । सरले पठाएको पत्र मैले अहिले पनि जतन गरेर राखेको छु ।
वरिष्ठ कथाकार एंव समालोचक गुप्त प्रधानले जगत सरको प्रायः सबै कथाहरू अध्ययन र विश्लेषण गर्नु भएको छ । उनको केही विषयहरू केही विषेशताहरू नामक पुस्तकमा “कथाहरूमा जगत छेत्री” शीर्षक एउटा लेखमा अत्यन्त सूक्ष्म विवेचना गर्नु भएको छ जगत सरको कथाकारितामाथि । उनी लेख्छन्,- “उनको समग्र कथाहरूका रचनाकाललाई हेर्दा १९६० सालमा लेखिएको “दोष कसको?” उनको प्रथम कथा देखिन्छ भने “कुण्डु सर” र “अनि विश्वास हराए सबैले” अन्तिम कथाहरू । कथा “सुर्के” कुनै सङ्ग्रहमा पनि समावेश नभएको देख्दा र यसको लेखाइको परिमार्जित स्वरूपलाई हेर्दा यो कथा उनको अन्तिम कथासङ्ग्रह हारेको मान्छे म पनि प्रकाशित भएपछि पो लेखिएको हो कि भन्ने लाग्छ । तर किटान गरेर भन्न सकिँदैन – यसको प्रकाशनमा यसको रचना-मिति नै जाहेर गरिएको छैन । उनले आफ्नो जीवनकालमा (मृत्यु २७ मई १९९९) जम्मा ३४ वटा कथाहरू लेखेको थाहा लाग्छ । यद्यपि १९९९ मा उनले कथा लेखेनन् कि ? उनका यी सम्पूर्ण कथाहरूलाई तीन श्रेणीमा विभाजन गर्न सकिन्छ:
(क) नारी मनोविश्लेषणात्मक
(ख) दार्शनिक विचारपरक र
(ग) सामाजिक
नारी विश्लेषणात्मक श्रेणीमा अन्तरद्वन्द्व र तीन तियाँ तीन भित्रका उनका सम्पूर्ण कथाहरूलगायत हारेको मान्छे म का केही कथाहरू पर्छन् । दार्शनिक विचारपरक कथाहरूमा “लट्ठी”, “सुखको खोजी”, “लेख्ने र मेट्ने काम” आदि देखा पर्छन् भने सामाजिक कथाहरूमा “ब्यूँझेपछि”, “कहाँ फेरि अर्को माइला कक्रियो होला”, “अब म पढ्दिनँ आमा”, “अनि विश्वास सबैले हराए” आदि देखिन्छन् ।”
जगत सरको कथा प्रवृतिको अवलोकन गर्दै वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ प्रज्ञा आधुनिक नेपाली कथाकोश मा लेख्छन्,- “जगत छेत्री सामाजिक जीवनका यथार्थवादी चित्रकार पनि हुन् । उनले आफू बसेको समाज (दार्जिलिङ) को सामाजिक जीवनभित्रका विकृतिहरूको चित्रण गरेका छँदै छन्, साथै समाजमा विद्यमान गरिबी र त्यहाँका मान्छेहरूले भोग्न बाध्य नियतिको खेललाई पनि देखाएका छन् । उनले नारीवर्गको करूण अवस्थाको चित्रण गर्नुका साथै स्थानीय बासिन्दाहरूले ठाउँको भौगोलिक बनोटका कारणले प्राकृतिक प्रकोपहरूका विनाशकारी गतिविधि सहनुपरेको दुर्नियतिलाई पनि देखाएका छन् ।”
निबन्ध र समालोचनामा निकै दक्षता हासिल गर्नु भएका जगत सरको कथाहरू पनि त्यतिकै मानक छन् भन्ने प्रश्नको सटिक उत्तर गुप्त प्रधान सरले भन्दा अरू कसले दिन सक्ला र ? गुप्त सर लेख्छन्,- “उनको कथा लेखनको सफलतामाथि विचार्दा उनी दार्शनिक, विचारपरक र सामाजिक कथाहरू लेख्नमा भने धेरै उन्नत देखिन्छन् । थोरै लेखे उनले यस थरीका कथाहरू र यी कथाहरूमा नै उनी खुलेका छन् कथाकार भएर । शायद कसैले भनिदिनुपर्थ्यो उनलाई पहिले नै यी कुराहरू र उनी सतर्क हुन्थे आफ्नो सीप कता ढल्काउनु पर्नेरहेछ भनेर । उनका जम्मा चौँतीसवटा प्रकाशित कथाहरूमध्ये “लट्ठी”, “पैह्रो गएको बेला”, “सुखको खोजी”, “सुर्के”, “लेख्ने र मेट्ने काम”, “चित्र फ्रेम गर्नुपर्दा” कथाहरू नै हुन् उनलाई कथाकारको रूपमा मर्यादा दिलाउने । यसर्थ जगत छेत्रीलाई कथाकारको रूपमा सम्झनु पर्दा यिनै कथाहरूमार्फत सम्झँदा नै न्यायसङ्गत हुन्छ ।”
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।