नेपाली साहित्यको इतिहासलाई विभिन्न कालखण्डमा वरिष्ठ समालोचकहरूको आफ्नै तरिकाले विभाजन गरेको पाउँछौँ । साहित्यकार, समालोचक र अन्वेषकहरूले आफ्नै तरिकाले काल विभाजन गरे पनि अहिलेसम्म निश्चित रूपले कुनै एक विभाजनलाई मानक मान्न सकिरहेको अवस्था छैन । यो कालखण्ड नेपालभित्र सृजना भएको नेपाली साहित्यलाई मात्रै लागू भएको पाउँछौँ । अझै नेपालबाहिरको नेपाली साहित्यलाई पनि नेपाली साहित्यको इतिहासमा जोड्ने हो भने यो अझै जटिल र कठिन हुन जान्छ । भारतमा नेपाली भाषालाई मानकीकरण गर्ने प्रयास अङ्ग्रेजहरूले १९औ शताब्दीको सुरुदेखि नै गरेको प्रमाणहरू भेट्टाउँछौँ जो नेपालभित्रको प्रयासभन्दा निकै पहिले भएको पाउँछौँ । आदिकवि भानुभक्त आचार्य चार वर्षको हुँदा जे.ए. एटनको ए ग्रामर अफ द नेप्लीज ल्याङवेज सन् १८२० मा कलकत्ताबाट प्रकाशित भइसकेको थियो । यो देवनागरीमा नभएर रोमन लिपिमा लेखिएको व्याकरण थियो जो फौजमा भर्ती हुने सिपाहीसँग संवाद गर्न सजिलो होस् भनेर तयार पारिएको थियो । नेपाली व्याकरण लेखन परम्परामा टर्नबुल साहेबको योगदान निकै महत्वपूर्ण मानिन्छ । उनका नेपाली ग्रामर एण्ड इङ्ग्लिश नेपाली, नेपाली इङ्ग्लिश भोकाबुलरी (सन् १८८७), गोर्खाली एण्ड पर्वते ग्रामर एण्ड भोकाबुलरी (सन् १९०४) र नेपाली ग्रामर एण्ड भोकाबुलरी ( सन् १९२३) गरी तीनवटा कृति प्रकाशित पाइन्छन् । नेपाली भाषामै केन्द्रित भई व्याकरण लेख्ने विदेशी विद्वान्हरूमा एटन पछिका टर्नबुल नै हुन् । आर किल्गोरको इङ्ग्लिश-नेपाली शब्दकोश (सन् १९२२), लिलि टरनरको नेपाली-अङ्ग्रेजी शब्दकोश (सन् १९३१) ले पनि नेपाली भाषालाई व्यवहारिक बनाउन ठुलो मद्धत गरे । यो शब्दकोश दार्जिलिङमा बसेर लेखेता पनि त्यसबखत काठमाडौँमा प्रचलित नेपाली भाषालाई मानक मानेर तयार पारेको कुरा टरनर साहेबको सहयोगी धरणीधर कोइराला आफ्नो आत्मकथामा लेख्छन् । “नेपाली व्याकरणको छोटो इतिहास“ शीर्षक लेखमा डा. पारसमणि प्रधान लेख्नछन्, “नेपाली भाषामा विश्वविद्यालयको परीक्षा दिनलाई नेपाली व्याकरणको आवश्यकता पर्यो । विश्वमणि आ. दी.ले सन् १९११ मा एउटा यस्तो व्याकरण हतपत्तामा लेखे र सन् १९१३ मा प्रकाशित पनि गरे । यो व्याकरणको नाउँ थियो गोरखा व्याकरण बोध । सन् १९२० मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित उनको नेपाली व्याकरण विशेषगरी अङ्ग्रेजी व्याकरण र भाषा-भाष्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको थियो । यही सिलसिलामा गंगाप्रसाद प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली आदिले नेपाली भाषालाई सुदृढीकरण गरी साहित्य सेवा गरे । सुधपाको अथक प्रयासमा नेपालबाहिर दार्जिलिङ र वरिपरिको ठाउँहरूमा नेपाली साहित्यको उत्थानमा ठूलो टेवा पुग्यो । पारसमणि प्रधानद्वारा सम्पादित चन्द्रिका-( सन् १९१८) ले कविता र निबन्ध लेखनमा नयाँपन ल्याए पनि कथामा भने रूपनारायण सिंहको देहरादुनबाट प्रकाशित हुने तथा ठाकुर चंदन सिंहद्वारा सम्पादित गोर्खा संसारमा सन् १९२९-मा प्रकाशित ‘परिवर्तन’ र ‘अन्नापूर्ण’ कथाबाट नै आधुनिक नेपाली कथाको सुरुवात दार्जिलिङमा भयो भन्दा अतिशयोक्ति नहोला । सन् १९३६-मा रूपनारायण सिंहको भ्रमर र सन् १९३८-मा नेपाली साहित्य सम्मेलन, दार्जिलिङबाट प्रकाशित कथा कुसुम (यसमा नेपालबाहिरका एकजनाको पनि कथा परेको छैन) -ले नेपाल बाहिरको आख्यानमा नयाँपन दियो । त्यही समय उदय भएका इन्द्र सुन्दास, शिवकुमार राई, लैनसिंह वाङ्देलले दार्जिलिङको मात्रै होइन सम्पूर्ण नेपाली साहित्यको पुरै नक्सा फेरिदिए । सन् चालीसको दशकमा यी सक्रिय लेखकहरू हुँदा खोजी, प्रभात, परिवर्तन, गोर्खा, वनारसबाट उदय, युगवाणी, काठमाडौँको शारदा, साहित्य स्रोत आदि पत्रिकाले नेपाली आख्यानलाई नौलो दिशा र मार्गदर्शन गरे । सन् तीस र चालीसको दशकमा नेपालभित्र र बाहिर उत्कृष्ट कथाकारहरूको पदार्पण भयो जसमध्ये माथि उल्लेखित कथाकारहरूबाहेक पुष्कर शमशेर ज.ब.रा, गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, परशुराम रोका, हृदयचन्द्रसिंह प्रधान, अच्छा राई ‘रसिक’ प्रमुख हुन् ।
सन् पचासको दशकमा दार्जिलिङको नेपाली साहित्यको आख्यान विधामा नँया लहर देखा पर्दछ । गोर्खा, उदय, साथी, भारती, हाम्रो कथा, प्रभातजस्ता स्तरीय पत्रिकाहरूले नविन हस्ताक्षरहरूलाई पनि स्थान दिन थालेको देख्न सक्छौँ । यही समयमा गनुसिंह गुरुङ, जयनारायण गिरी, जी छिरिङ, ग्याब्रियल राणा, देवकुमारी सिंह, चन्द्रदास राई, एम. एम. गुरुङ, रविन्द्र मोक्तान, कृष्णसिंह मोक्तान, अंगमसिंह गिरी, वीरविक्रम गुरुङ, बल देवान, प्रकाश कोबिद, नरबहादुर दाहाल, राधिका राया, जगत छेत्री आदि कथा लेखनमा प्रवेश गर्छन् आआफ्नो छुट्टै पहिचान लिएर । यही समयमा देखा परेका सशक्त कथाकार हुन वीरविक्रम गुरुङ ।
सन् १९४९-मा गोर्खा-मा प्रकाशित ‘वृद्ध भरिया’ कथाबाट साहित्यमा प्रवेश गरेका वीरविक्रम गुरुङले सोही पत्रिकामा ‘नमस्कार’ कथा प्रकाशित गर्छन् । हालसालै भारतीय साहित्य अकादमीले वीरविक्रम गुरुङ नामक पुस्तक निकालेको छ, जीवन लावरको लेखनमा । जीवनी लेख्नमा पोख्त जीवन लावरसँग चार दशकभन्दा लामो यस विधाको अनुभव छ । उक्त पुस्तकमा जीवन लावर लेख्छन्, “आफ्नो कथा लेखनबारे वीरविक्रम गुरुङले एक भेटमा मलाई भन्नुभएथ्यो- ‘मेरो सर्वप्रथम गोर्खा मा प्रकाशित ‘वृद्ध भरिया’ कथापछि दोस्रो कथा हो-‘नमस्कार’ । यो कथा कमल कुमार शर्मा, रामचन्द्र तामाङ एवम् नन्दध्वज राईद्वारा सम्पादित मासिक पत्रिका हाम्रो कथा -मा छापिएथ्यो । सिकारू अवस्थामा लेखिएका यी दुवै कथाहरूमा ‘वृद्ध भरिया’ केही महत्वको लाग्छ किनकी यो यथार्थवादी हुनाको साथै करूणात्मक छ । त्यस समय यसलाई पढेर द्रवित पाठकहरूबाट मैले यस्तै प्रतिक्रिया पाएँ । ‘नमस्कार’ कथाको अन्त्य गराइले मेरा कलेजका साथीहरूलाई खुबै प्रभाव पारेछ । त्यसपछि भुलवश मेरो नामबिना ‘ठेट नेपाली’ कथा प्रकाशित हुन्छ गोर्खा मै । यसै कथामा हाते गाडीलाई मैले गोर्खा जीपको नामकरण गरिदिएको हूँ । कथाको टुङ्ग्याइ अच्छा राई ‘रसिक’ लाई साह्रै घत परेछ तर कथाकारको नाम नदेख्दा तुरून्तै उनले कथाको सराहना गर्दै सम्पादकलाई पत्र पठाइहाल्छन् । तर उल्लेखित यी तीनै कथाहरू मेरो सिकारू कलमको प्रयास सिवाय विशेष महत्वका थिएनन् । नेपाली, भारतीय एवं पाश्चात्य साहित्यका महान् कथाहरूका अमर कथाहरू मनन गर्दै गएँ, कथा साहित्यकलालाई गौड रूपमा बुझ्दै गएँ । सन् १९५०-को दशकभित्र लेखिएका मेरा कथाहरूमा विशेष उल्लेखित छन्- “टाइपिष्ट“ (गोर्खा), “मनोग्राम“ (जनदूत) “बुढाथोकी” (जनदूत), “कुखुराको भाले” (पूर्णिमा) “९५ साल” (पूर्णिमा), “एक्लो“ (अञ्जलि) एवंम् “ढुङ्गे कोठी“ (अञ्जलि) । आफू टाइपिष्ट र टाइप पड्काएर मिशिनसितको द्वन्द्वमा साँच्चै नशा-नशाको रगत सुकेको स्वानुभव “टाइपिष्ट” कथाको मसौदा । युथ फेडरेशन दार्जिलिङद्वारा सञ्चालित साहित्य गोष्ठी प्रतियोगितामा पुरस्कृत भएथ्यो यही कथा । आफ्नी आमा पोथीमाथि गमन गर्ने भालेको पशुवत दृश्यमा कुखुराको भाले । रातको शून्यतामा कोइला गोदामको झराप अघिल्तिर पोखिएका एउटा, दुईटा कोइलाहरू झोलामा हाल्दै गरेका बालकको दयनीय अवस्था “एक्लो“ अनि सहरे बदमास युवकहरूद्वारा यथार्थवादी कथा अञ्जलिमा प्रकाशित गर्नसक्ने आँटी सम्पादक अग्निराज श्रेष्ठको म आभारी छु । १९५०-को पूर्वार्द्धमा नेपालबाट ईश्वरवल्लभ यहाँ आइपुग्छन् । तिलविक्रम नेम्बाङ (वैरागी काँइला), गणेश प्रसाद प्रसाईसित ‘सी’ बिल्डिङमा बसेका उनी । बेलाबेला रातरातभर साहित्यिक चर्चा हुन्थ्यो हामीमाझ । विषय- विविध विधामा नयाँ प्रयोग ल्याउने कसरी ? १९५८ साल जिल्ला परिषदमा टाइपिष्ट छु । नरा गुरुङद्वारा सम्पादित पूर्णिमा मासिक पत्रिका निकाल्छौँ । साथीहरू थिए टी.बी. देवान, शेरबहादुर राई, बी.आर राई, जी. गुरुङ र म । पूर्णिमा प्रथम अंकमा रामकृष्ण शर्माको ‘वीरगतिको धोको’, अगम सिंह गिरीको ‘मोहब्बत गल्ली’ सँग-सँगै मेरो कथा ‘कुखुराको भाले’ निस्कन्छ । दुर्भाग्य हाम्रो शुक्ल पक्षको ६ महिनाभरि उदाएर कृष्णपक्षमा अस्त हुन्छिन्-पूर्णिमा । नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित दियालो-मा छापिन्छ मेरो मनोविश्लेषणात्मक कथा ‘मैतुबाबु’ । पाठकको पत्रमा प्रसिद्ध उपन्यासकार असीत राईको प्रतिक्रियाले मैतुबाबु काँटका अरू कथाहरू लेख्ने हौसला बढ्दै जान्छ । इन्द्रबहादुर राई दाज्युलाई “जोइटिङ्ग्रे” का रामचरण एवं हृदयनाथबीच तुलनात्मक चरित्र चित्रण दर्शाउँदा त्यसमा उहाँको दिलचस्पी देखेर प्रायः तुरिनै लागेको यो कथा पूरा गरेर एकदिन अनि म दाज्यूको घर तुङसुङ पुग्छु । भाउज्यूले बनाउनुभएको स्वादिष्ट खीरको स्वादमा म दाज्यूलाई “जोइटिङ्ग्रे” कथाको खेस्रा सुनाउँछु । उहाँले यो कथा दियालो-को आगामी अंकमा छापिनै पर्छ भन्नुहुन्छ अनि छापिन्छ पनि ।”
मझौला कद, मोटो चस्मा, गोर्खे उचाइ, गँहु गोरो वर्णको मान्छे, अनुहारमा खलिक दाग लागेको देख्छु विद्यालयमा । त्यस बखत म भरखरै सन्त रोबर्ट्स विद्यालय भर्ना भएको थिएँ । विस्तारै मैले चिन्दै गए उनी वीरविक्रम गुरुङ सर रहेछन्, त्यही कदको अरु दुईजनालाई पनि चिन्ने मौका पाएँ –उनीहरू थिए जगत छेत्री र मनबहादुर मुखिया (अनि देवराली रुन्छ नाटकका लेखक र निर्देशक) । तर सरले लिएको कक्षा भने कक्षा ८ देखि मात्र लिने सौभाग्य पाएँ । नौ कक्षामा त उनको ‘टाइपिष्ट’ कथा पाठ्यक्रममा नै थियो । कति गर्व लाग्थ्यो आफ्नो शिक्षकले लेखेको कथा पाठ्यक्रममा पाउँदा । यसले मलाई पनि लेख्न प्रेरित गर्यो । उनी जातैले पाएको सोझोपनको एकमात्र हकदार जस्तो लाग्थ्यो, मधुरभाषी, एकान्तप्रेमी तर कहिलेकाहीँ लाटा रिस विद्याथीहरूप्रति प्रर्दर्शित गर्थे । वीरविक्रम सर विद्यालयको विभिन्न कार्यक्रममा निकै सक्रिय देखिन्थे चाहे नाटक होस् वा गीत । विद्यालयले निकालेको ‘फिलिङ्गो’ गीति क्यासेटमा सरले लेख्नु भएको ‘जीवन सपना हो’ लाई दिपक छेत्रीको स्वरमा चन्द्र किरण छेत्रीले संगीत दिएका छन् । कविता कमै लेखे सरले । टिकाराम शर्माद्वारा सम्पादित गोर्खा-को वर्ष ५, किरण ८ (सन् १९४८) मा ‘कटिबद्ध हौँ’ कविता लेखेर साहित्याकाशमा आए तर कविता लेखन सरको प्राथमिकतामा परेन । अगमसिंह गिरीसँगको संगत र हौसला पाए पनि सर कथा लेखनमा नै तल्लिन भए । विद्यालयमा हुने वार्षिक कार्यक्रममा नाटक लेख्न सधैँ तम्सिने सर । वीरविक्रम गुरुङ सर सन्त रोबर्ट्स विद्यालय प्रवेश गर्नु ५ वर्ष अगाडी गोर्खा दुःख निवारक सम्मेलनको रजत जयन्तीको निम्ति सन् १९५७-मा ज्वारभाटा नाटक लेखे जसको निर्देशन गरेका थिए हरिमदन गुरुङले (त्यस बेला लेबुङछेउ बस्नुहुन्थ्यो र पछि आकाशवाणी दिल्लीमा कार्यरत भए उद्घोषकको रूपमा) । दलसिंह गहतराजको संगीतमा अगमसिंह गिरीको शब्दमा शान्ति ठटाल र नविन बरदेवाले पाश्वगीत गाएका थिए । नाटक निकै चल्यो त्यस बखत । त्यस पछि गोर्खा दुःख निवारक सम्मेलनमा सन् १९५९ सरले लेख्नु भएको जीवम परिदर्शन नाटक मञ्चन भयो हरिमदन गुरुङको निर्देशनमा । वीरविक्रम सर सन् १९६२-मा सन्त रोबर्ट्स विद्यालयमा शिक्षकको रूपमा प्रवेश गरेकै वर्ष विद्यालयको कार्यक्रममा रविन्द्रनाथ ठाकुरद्वारा लिखित सूर्यविक्रम ज्ञवालीद्वारा अनुदित नाटक डाकघर-को निर्देशनमा मञ्चन हुन्छ । सरले विद्यालयमा नै रूपनारायाण सिंहको ‘आमा’ कथालाई नाटकीकरण गरी शरण प्रधानको संगीतमा मञ्चन गरेका थिए । सन् १९८२-मा सिद्धिचरण श्रेष्ठको खण्डकाव्य उर्वशी-लाई सरले नाटकमा रूपान्तरण गरी सन्त रोबर्ट्स विद्यालयमा मञ्चन गरिएको थियो ।
सन् साठीको दशकको सुरुमा इन्द्रबहादुर राई, ईश्वरवल्लभ र वैरागी काँइलाले साहित्यमा सम्पूर्णताको आवश्यकता देखेर तेस्रो आयामको नँया वैचारिक आन्दोलन थालनी गरे । यसले नेपाली साहित्यमा (विशेषगरी दार्जिलिङको) उथलपुथल ल्याए । मन र मुटुभन्दा पनि मस्तिष्कलाई प्राथमिकतामा राखेर लेखिएको त्यो साहित्यले धेरैलाई आफूले लेखेको साहित्यको मूल्याङ्कन गर्न बाध्य गराए । त्यसले अरु धेरै लेखक र कवि जस्तै अगमसिंह गिरी र वीरविक्रम गुरुङमा पनि केही समय शिथिलता ल्याउनु स्वभाविक थियो । सन् १९६९-मा वीरविक्रम सरले बाह्रवटा कथाहरूको संग्रह अमर-क्षण प्रकाशित गर्छन् भानुभक्त कुमाइको व्यक्तिगत लगानीमा । वीरविक्रम सरको सम्पादनमा तीन तीयाँ तीन (संयुक्त कथासंग्रह) सन् १९७०-मा देखा पर्छ जसमा ग्याब्रियल राणा, बल देवान र जगत छेत्रीका तीन-तीनवटा कथाहरू परेका थिए । तर त्यस सङ्ग्रहमा वीरविक्रम सरको पनि तीनवटा कथा परेको देखेर धेरैले उदेक मानेका थिए ।
वीरविक्रम गुरुङका कथाहरूले दार्जिलिङको कथा लेखनमा देखिएको दोस्रो चरणलाई प्रतिनिधित्व गर्छन् । त्यस बेलाका कथाहरू सरल र सरस भए पनि उपदेशमुलक थिएनन् पहिलो पिँढीको जस्तो । इन्द्रबहादुर राईबाहेक अरुको लेखन शैली प्राय एकैनासको देखिन्छ तर विषयवस्तु र कथाको प्रवृति निकै फरक । यसै सन्दर्भमा वीरविक्रम सरको कथा प्रवृतिको विवेचना गर्नु जरुरी छ । सरको कथाहरूमा निम्न तथा मध्यम वर्गीय दार्जिलिङवासीहरूको जीवनशैली, व्यथा, दिन प्रतिदिन भोग्नु परेको समस्याहरू प्रशस्त पाउँछौँ । सरले विद्यालयमा स्थायी रूपमा जागीर खानु अगाडि अरू कार्यालयहरूमा पनि काम गरेको अनुभव उनको कथाहरूमा समाहित भएको पाउँछौँ । प्रसिद्ध कथा ‘टाइपिष्ट,’ ‘मैतुबाबु’ आदि यसको ज्वलन्त उदाहरण हुन् । यौन मनोविज्ञानमा आधारित ‘कुखुराको भाले’ निकै मार्मिक छ ।
सर चाँदवारीमा बस्नुहुन्थ्यो र त्यसको ठ्याक्कै अगाडि सूर्यकला थापा (तत्कालिन बी.टी. कलेजको प्राचार्य) को घर थियो । सूर्यकला थापा दियालो-को सम्पादक हुँदा सरलाई जोड गरेर एउटा कथा मागेपछि सरले लेख्छन् मास्टरपिस कथा ‘तिम्रा बासित पैसा छैन’ । यो कथा दियालो-को हाँगो ८७, वर्ष १८, अक्टुबर १९७८ छापिन्छ अनि सन् १९८२-मा १६८ औँ भानु जयन्तीको अवसर पारी दियालो स्वर्ण पदक प्रदान गरिन्छ । यो कथा अङ्ग्रेजीमा पनि अनुवाद भएको छ । यो कथामा वर्णन गरिएको तितो सत्य धेरैले जीवनमा भोगेको हुनुपर्छ । सरको भाषामा प्रयोग गरेको विम्ब र प्रतिकहरू आफ्नै प्रकारको छ, निजात्मक छ । यो कथाको छोटो समीक्षा गर्दै प्रेम प्रधान “दियालो-मा पुरस्कृत कथाहरू: एक अवलोकन“-मा लेख्छन्, “यस कथामा एउटा गरीब नेपालीले भोगेको वास्तविक स्थिति छ । सामाजिक वस्तु यथार्थबाट मानव मनका मर्मभूमितर्फ प्रवेश गर्दै लेखकले निम्नवर्गीय दार्जीलिङे नेपाली जनजीवनको यथार्थ चित्र उतारेका छन् । सानो घटनाबाट शुरू भएको कथाका कथाशिल्प र भाषा शैली सुन्दर ढंगमा प्रस्तुत भएको छ । दार्जीलिङे मध्यवर्गीय परिवारका प्रायः जस्ता पुरुषहरू मद-मदिरामा लिप्त भएकाले कथा वस्तु पनि त्यसैमा केन्द्रित भएको छ । लेखाइमा सरलपन, सजीव वस्तु विन्यास, चरित्र र घटनाको स्वाभाविकतापूर्ण चित्रण परिपाटी तिनको कथागत वैशिष्ट हुन् ।”
गुमानसिंह चामलिङद्वारा सम्पादित साहित्य-सङ्ग ( वर्ष १, अंक १, आषाढ २०१६) मा प्रकाशित ‘जीवन-यात्रा’ उनको उत्कृष्ट कथाहरू मध्येमा एक हो । सेवानिवृत भएपछि हुने आर्थिक संकट र लोकाचारका निम्ति गरिने खोक्रो विदाइको कार्यक्रममा नमिठो तरिकाले व्यङ्ग्य गरेका छन् । कथामा उनी लेख्छन्, “सभा-भवनको बीचमा सेतो तूलले ढाकिएको टेबूलमाथि जिरिरिरि प्याला- पिरिजहरू सजाएका थिए अनि ठाउँ ठाउँमा मिठाई खानेलाई मिठाई, केक खाने- लाई केकहरूको राश थियो। थापा बाबुलाई माल्यदानको साथ उपहार चढाइयो । यसपछि दफ्तरको टाउके उठेर बोल्यो, “थापा बाबु एक योग्य कारिन्दा हुनुहुन्थ्यो । सधैँ उहाँले तन-मनसँग काम गर्नुभयो । कुनै दिन काम बिग्रँदा आवेशमा मैले उहाँको मन दुखाइदिएँ हुँला । त्यसको माफी चाहन्छु ।” इत्यादि । विदाको बेलामा अफिसरले लोकाचार पारे जस्तो मात्र थापा बाबुलाई लाग्यो । कुनै दिन अफिसरको कडा वचनले पारेको हृदयको चोट फेरि आलो भयो र चसक्क उसको हृदय दुख्यो । जम्मै बाबुहरूका प्रतिनिधित्व गर्दै थापा बाबुभन्दा उमेरमा केही कान्छो रणधोज बाबुले बोल्यो । रणधोज बाबुको भाषणमा जन्मै बाबुहरूको हृदय बोलेको जस्तो थापा बाबुलाई लाग्यो । भाषणादिपछि सबैले खान शुरू गरे । केकको टुकडा मुखमा क्वाप्प हालेर चिया सुरुप्प पिउँदै चपाइरहेको थापा बाबुको दृष्टि भने भित्तामा टाँगिइएका तस्वीरहरूमध्ये त्यो नक्सामा गाडिएको थियो जो पैँतीस वर्षअघि लिइएको थियो । भित्ताको नक्सामा पच्चीस वर्षको जवान थापा बाबुले आफ्नै बूढापालाई अघिल्तिर देखेर खिजाइरहेको जस्तो भान उसलाई पर्यो ।” – जीवन-यात्रा
मानिसको साधारण जीवनको कुनै क्षणलाई टपक्क टिपेर आफ्नै शैलीमा लेख्नु वीरविक्रम सरको विशेषता हो । दार्जिलिङको नेपाली साहित्यमा देखापरेको दोस्रो चरणको महत्वपुर्ण कथाकार हुन् वीरविक्रम गुरुङ तर धेरैजसो समालोचकहरूले अवमूल्यन गरेको छ उनको योगदानलाई । देवकुमारी सिंह, इन्द्रबहादुर राई, जी छिरिङ, शिवकुमार राई, इन्द्र सुन्दासको हाराहारीमा लेखे पनि उनको कृतिहरू माथि त्यति धेरै बहस र विवेचना नहुनु नेपाली साहित्यको दुर्भाग्य हो । एउटा युगको मुख्य प्रतिनिधि पात्र पनि कालान्तरमा उपेक्षित हुनु आफैँमा विडम्बना हो । वीरविक्रम सरको सन् १९९५-मा ६८ वर्षको उमेरमा निधनपछि दियालो पत्रिकाको (सन् १९९६) वीरविक्रम गुरुङ स्मृति विशेषाङ्कमा साहित्यकार शरद छेत्री लेख्छन्, “यस प्रकारको हाँक दिनोदिन प्रबल भइरहेको समाज हाम्रो छ, जहाँ लेखक- कविलाई मर्यादा दिनु त के, सानो ठाउँसमेत राख्न नचाहने हुनाले यहाँ लेखन धर्म लिएर बाँच्न खूबै कठिन छ । तरै पनि यस्ता अनेकौँ कठिनताहरूको कुनै वास्ता नराखी अविराम इमानदारितापूर्वक लेखन धर्ममा लाग्ने स्रष्टाहरूमा श्री वीरविक्रम गुरुङ पनि एक कर्मठ व्यक्तित्वका हुन् भन्ने विश्वास नेपाली साहित्यलाई माया गर्ने सपूतहरूमाझ रहेको सत्य स्वीकार्नै पर्छ । आफ्ना समकालीन मित्रहरू अच्छा राई ‘रसिक’, अगमसिंह गिरी, जी० छिरिङ, टीकाराम शर्मा आदिबाट प्रेरित भएर सन् १९४८ देखि नै साहित्यिक धर्ममा समर्पित बन्ने कथाशिल्पी श्री वीरविक्रम गुरुङबाट कैयौँ उत्कृष्ट कथाहरू लेखिएका छन् । ती कथाहरूमा हाम्रै समाजका विविध पक्षहरू नै खूबै कौशलतापूर्वक टिपिएका पाइन्छन् । ससाना घटनालाई पनि राम्ररी केलाएर त्यसमाथि रोचकता छर्नमा प्रवीण हुनाले तिनको शिल्पकारिता पाठकमा प्रिय थियो । तरै पनि छक्कपर्दो कुरो, हामीले सधै हामीमाझको प्रतिभालाई अवहेलना गरेका छौँ, निर्धक्क सम्मान गर्ने मौलिक साहस नहुनाले सधैँ अरूहरूको सन्दर्भ आयात गर्ने परतन्त्र पो स्वीकार्छौँ । हामी अन्धकार सहेर बसेका हुन्छौँ, तर नजिकैको उन्नत जातिले भन्दै हुन्छन्, ‘स्रष्टाहरू जातिका गौरव हुन्, जसका रचनाहरूबाट उत्पन्न उज्ज्वलताले कुनै पनि जातिको सभ्यता, संस्कृति र गरिमा प्रकाशित हुन्छन्, अर्थात् स्रष्टाहरूको कारण नै समाज र जातिको मान बढेको हुन्छ ।” “मनोग्राम” वीरविक्रम सरको राम्रो कथाहरूको वर्गमा पर्छ । यो कथा भारत सरकारको आई.सि.ए.सी बोडको माध्यमिक स्तरको पाठ्यक्रममा पनि समावेश गरिएको थियो ।
सन् १९८१-मा आफ्नै सहकर्मी शिक्षक जगत छेत्रीसँग वीरविक्रम गुरुङको संयुक्त कथा सङ्ग्रह कथा संगम प्रकाशित हुन्छ ।
साहित्यमा निकै चासो दिने भएकोले म सरको निकै प्रिय विद्यार्थी थिएँ, लेखेको कुरा सरलाई देखाउँथेँ । विद्यालयबाट उतिर्ण भएको धेरै वर्षपछि सरलाई भेट्न उनको निवासमा जाँदा मलाई ‘प्यारो भूतपुर्व छात्र शरद प्रधानमा’ लेखेर सरले लेख्नुभएको तथा वैशालु प्रकाशनले प्रकाशित गरेको गोर्खालीगदेखि गोर्खाल्याण्डसम्म पुस्तक भेंट गरे । उक्त पुस्तकमा सरले गोर्खाहरूले भारतमा बसोबास गरेको इतिहासदेखि स्वअस्तित्वको लडाइँका निम्ति गठित गोर्खालीगको नालिबेली लेखेका छन् । कथा लेख्न पोख्त सरको निम्ति यो अनुसन्धानात्मक लेख लेख्नु चुनौतीपुर्ण थियो । तर कुनै समय सर आफैँ पनि गोर्खालीगको कार्यकर्ता भएको, भाषा आन्दोलनमा सक्रिय भएकोले तथ्यात्मक लेख लेख्न सहज भएको अनुभुत हुन्छ । सरको लेखाइ पुर्ण रूपले अनुसन्धानात्मक भएता पनि भाषामा लचकता पाउँछौँ, कथामा जस्तै प्रतिक र विम्ब पाउँछौँ । भाषा आन्दोलनबारे सर लेख्छन्, “भानुपुत्रहरूको भाषामाथि रवीन्द्रपुत्रहरूको अतिक्रमण विरोधार्थ ३१ मार्च १९६१ को दिन २ बजी जनसभामा गोर्खा दुःख निवारक सम्मेलन भवन श्रोतावर्गले अटाइ-नअटाइ छ । अबेर गरेर आउनेहरू भवन अघिल्तिर मैदानमा उत्तिकै थुप्रो लागेका छन् । स्व० गणेशलाल सुब्बाको सभापतित्वको आरम्भ सभामा इन्द्रबहादुर राई लगायत धेरै वक्ताहरू बोल्नुहुन्छ । स्व० नरबहादुर गुरुङ पनि निमन्त्रित हुनुहुन्थ्यो, जसले १९५७ को चुनाउ जिती कांग्रेसले प्रदान गरेको उपमन्त्री पद ग्रहण गरी गोर्खालीग त्याग्नुहुँदा गोर्खालिगीहरू उहाँसित रूष्ट थिए । यसर्थ जब उहाँ बोल्न मञ्चमा खडा हुनुभयो, लीगभक्त मनबहादुर गुरुङ्गले विरोध जनाउनु हुँदा अरूले पनि त्यसै गरे । नरबहादुर गुरुङ्गले विनम्रतापूर्वक दुई हात जोर्दै सभा-भवन त्याग गर्नुहुन्छ । जे होस् सभा सफलतापूर्वक सञ्चालन भइदिदा जिल्ला भाषा मान्यता कमिटि’ गठन हुन्छन, जसमा पदाधिकारीहरू थिए :-सभापति गणेशलाल सुब्बा, सचिव इन्द्रबहादुर राई, चन्द्रकान्त घिसिङ (गोर्खालीग), स्व. बलबहादुर छेत्री ( काँग्रेस ), आनन्द प्रसाद पाठक (कम्युनिष्ट ), स्व. तारक कुमार कार्की (पी. एस. पी.), तिलविक्रम नेम्बाङ उर्फ वैरागी काँइला (विद्यार्थी), प्रेम थापा, अमीर लामा, स्व. अमगसिंह गिरी, स्व. भानुभक्त कुमाई, पेमा छिरिङ्ग लामा, महानन्द सुब्बा, स्व. गोकुल सिंह गजमेर, मदन कुमार थापा, स्व. आर. टी. अली, श्रीमती लक्ष्मी लोहार, गुमानसिंह चामलिङ, स्व. लाक्पा छिरिङ्ग सेर्पा एवम् टी. गुरुङ ।”
वीरविक्रम सरले निबन्ध लेखनमा पनि कलम चलाएको पाइन्छ । लक्ष्मी प्रसाद देवकोटा र ह्रदयचन्द्रसिंह प्रधानबाट प्रभावित भएर निबन्ध लेखेको सरले नै जीवन लावर दाजुलाई जानकारी गराएको उल्लेख छ । अच्छा राई ‘रसिक’को निधनपछि गोर्खा-मा सन् १९५६ -मा प्रकाशित निबन्ध होस् या धुँवा (सन् १९८३) मा इन्द्र सुन्दासको ‘गाडीमान’-माथिको निबन्धात्मक समीक्षा होस्, वीरविक्रम सरको लेखाइको उत्कृष्टता झलकिन्छ सबैमा । सरको निबन्धहरूमा रसिक, अगमसिंह गिरी, जगत छेत्री, हर्कबहादुर कुमाई, नरेन्द्रप्रसाद कुमाई आदिको जीवनी र कृतिहरूको विवेचना गरेको पाउँछौँ । दियालो-को वर्ष ३८, हाँगो १२८ मा प्रकाशित सरको ‘जीवन गीतः एक समीक्षा’ निकै गहकिलो लेख हो । तर सरको निबन्धहरू सङ्ग्रहका रूपमा भने निस्कन सकेका छैनन् । नयाँ पुस्ताले वीरविक्रम सरजस्तै विस्मृतिमा परेका स्रष्टाको लेखहरू, कथाहरू, नाटकहरू खोजेर प्रकाशित गर्ने छ भन्ने विश्वास राख्नु मुनासिव होला । र उनको सृजनाहरूको यथेष्ट समालोचना हुनेमा म निकै आशावादी छु ।
नेपाली साहित्य सम्मेलन दार्जिलिङले नेपाली साहित्य सम्मेलन पत्रिका बन्द भएको लामो अन्तराल पछि वि.स. २०१६-मा दियालो पत्रिका सुरु गरे । त्यही पत्रिकाको हाँगा १ देखि २१ सम्म इन्द्र बहादुर राई, गणेशलाल सुब्बा, भानुभक्त कुमाई, देवकुमारी सिंह र तुलसीबहादुर छेत्रीको सम्पादक मण्डलमा एक सदस्यको रूपमा सम्पादकीय भूमिका निभाए वीरविक्रम गुरुङ सरले। वीरविक्रम सरले नेपाली साहित्यलाई दिएको योगदानको भारत र नेपालको प्राज्ञिक थलोहरूमा पनि चर्चा हुनु आवश्यक छ । महाविद्यालय र विश्वविद्यालयमा पनि पाठ्यपुस्तकबाहेक यस्ता साहित्यकारहरूको बारेमा समयसमयमा गोष्ठी र विमर्श हुन जरुरी छ ।
(यस लेखका निम्ति स्रोत पुस्तक उपलब्ध गराइदिनुभएकोमा दार्जिलिङ निवासी युवा कवि लुभिना (कृतिका) दाहालप्रति कृतज्ञता ज्ञापन गर्दछु । जीवन लावरद्वारा लिखित वीरविक्रम गुरुङ पुस्तकको सहयोगबिना यो लेख अपूर्ण हुने थियो । धन्यवाद, दाजु जीवन लावर ।)
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।