मान्छेका जीवनका सबै रहर र चाहनाहरू पूरा हुन सक्दैनन् । कुनै न कुनै कुरामा अतृप्त चाहनाहरू बोकेर आशा निराशाको अन्तहीन यात्रामा मानव जीवन रूमलिरहेको हुन्छ भन्छन् जीवन पढेका भोगेका मान्छेहरू । सास र श्रम बेचेर बाँच्ने मजस्तो फुच्चे मान्छे पनि यसको अपवाद हुने कुरा पनि भएन । यही श्रमबाट मुक्ति पाउँदाको फुर्सदिलो समयलाई नयाँ अनुभवसँगै साट्ने एउटा चाहना प्रत्येक वर्षको दसैँसँगै जुर्मुराएर आउने गर्दछ । कहिले समय र परिस्थितिले जित्ने गर्दछ म हार्छु , कहिले मैले पछार्ने गर्छु । अघिल्लो वर्ष पनि नेपालको स्विजरल्यान्ड मानिने दोलखाको जिरी जाने रहर बोकेको टिकट पुरानो बसपार्कमा लावारिसे बन्न पुगेको थियो ।
यसपालिको दसैँ बिदालाई हिमालपारिको जिल्लासँग सामीप्य रहेर अनुभूति साटासाट गर्ने अभीष्ट चाहना बोकेर अप्ठ्याराहरूलाई थाती राखेर म पनि निस्किएँ साथीहरूसँग । बिहान सात बजे काठमाडौँबाट माइक्रो बस चढेर पोखराका लागि हिँडियो र दुई बजे पोखराबाट म्याग्दीको बेनीका लागि अर्को बसमा पाइला राखियो । बसका सञ्चालकहरूको व्यवहार भने त्यति सहज लागेन । सुरूमा जहाँ बसे पनि हुन्छ टिकट काट्नु पर्दैन भनेर मध्य सिटमा बसेका हामीलाई बस हिँडेपछि भने हुत्याएर अन्तिम सिटमा पुराइयो । हामीजस्ता सचेत र पढालेखा भनाउँदाहरूलाई समेत झुक्याउने उनीहरूको असामाजिक क्रियाकलापले अनपढ र सोझा जनताहरू कति सताइएका होलान् जस्तो लाग्यो ।
बस हेम्जा हुँदै नेपालको अत्यधिक पानी पर्ने ठाउँ भनेर चिनिने लुम्लेतर्फ घिस्रिई घिस्रिई उकालो लाग्यो । लुम्ले सकिएपछि ओरालो बाटोसँगै हामीलाई मोदी खोलाले पछ्याइरह्यो । आफ्नो बैँसालु बहावसँगै पर्वतको छातिबाट बगेको मोदी खोलामाथि बनेको सेतो पुलले मेरो नजर तान्यो । पृथ्वी नारायण क्याम्पसमा पढ्ने आडैमा बस्ने एकजना भाइले ‘सर यही पुलबाटै त हो नि परार साल एउटा क्रूर बाबुले आफ्ना अबोध दुई छोरीलाई मध्य रातमा जिउँदै फालेको’भनेपछि म स्तब्ध बन्नपुगेँ र मोदी खोलाप्रति रिस र आक्रोश पोखेँ मनमनै र भनेँ ‘मोदी तिमीले ती निर्दोष शिशुलाई आफ्नो गर्भभित्र विलीन बनाएर के पायौ ? के तिमीले के सजाय दिन सक्दिनौ ?कानुनको सजायले पनि नपुग्ने त्यो पाशविक अपराधीका निर्ममता उपर तिमी किन मूकदर्शक बनेकी ? तिमी त सिर्जनाकर्ता हौ , बिजुलीका रूपमा अँध्यारोलाई चिर्नसक्ने महान शक्ति हौ , बाँझो धर्ति सिञ्चन गरेर अन्न फलाएर जीवनमा चंगा भर्ने गङ्गा हौ । तिमीले किन अकारणको मृत्यु दिएर कसलाई न्याय गर्न खोजेकी हौ?’
मन एक तमासको अमिलो भइ रहेको थियो । बस आफ्नै गतिमा हुँइकिरहेको थियो , फेरि एकपटक त्यही मोदी खोलालाई नियाल्न खोजेँ , लाचार भएर हो कि कता बिलायो कता । अपरान्ह पाँच बजे हामी पर्वत सदरमुकाम कुस्मा आइ पुग्यौँ । भौतिक परिवेश र नामले मलाई मेरै जन्मभूमि गाउँमा पुर्यायो किनकि म जन्मिएको ठाउँको नाम पनि कुस्मा नै थियो तर कपिलवस्तुको , पर्वतको कुस्माले पवित्र आस्था बोकेको काली गण्डकी नदीलाई काखमा राखेको रहेछ । मेरो जन्मथलो कुस्माले पनि धार्मिक र पौराणिक आस्था बोकेको वाणगङ्गा नदीलाई काखमा राखेको देख्दा मनभित्र केही भौतिक र भावनात्मक सामीप्यता जगाइदियो । बसभित्रको असहजताभित्र पनि न्यानो र सुखद अनुभूति सजाउँदै साँझ पर्दै गर्दा बाग्लुङतर्फ लाग्ने माले ढुङ्गाको पुललाई बिदाइका हात हल्लाइयो । म चढेको बस सुइय सुइय सुस्केरा हाल्दै म्यादीतिर लाग्न थाल्यो । बढ्दो साँझ , हिलाम्मे र डरलाग्दो बाटो मन थामेरै अगाडि बढिरहेका थियौँ । दिनभरिको यात्राले थकित हामी पाहुनालाई बेनी बजारले कतिबेला स्वागत गर्ने हो भन्ने प्रतीक्षा गर्दा गर्दैराति नौ बजे हाम्रै काखमा आएर लुटपुटियो बेनी बजार र त्यहीँकै मुक्तिनाथ होटलको १०३ नम्बर कोठाको बेडमा म पनि लुटपुटिएँ त्यस दिनका लागि बेनीको बजारमा मायालुलाई हेर्ने नजरलाई भोलि बिहानका निम्ति थाति राखेर ……बेनीको बजार जता माया उतै छ नजर…..
अर्को दिन बिहान उठेर हातमुख धुँदै थियौँ , होटलवाला साहुजीको फोन आयो कोठामा र उनले भने ‘सरहरू गाडीको टिकट खुलिसकेको छ पछि नपाइएला नि’ हतार हतार चिया खाई हामी टिकट काउन्टरतिर गयौँ , सात बजिसकेको थियो । टिकटको कुनै निश्चित समय हुँदो रहेनछ , मान्छे भर्ने हिँड्ने । टिकट काट्यौँ र एकछिनमा बस हिँड्यो । हाम्रो आजको लक्ष्य कागबेनी थियो ।
असौज महिनाको यो यात्रा त्यति सहज भने रहेन । बेनी तित्तर , तित्तर घाँसा र घाँसा जोमसोम गरी तीनतीनवटा गाडीहरू फेर्दै , पहिरो र छाँगा झरेका ठाउँमा हिँड्दै अनि जिपका तेर्सा परेका सिटमा हल्लिदै यात्रा अगाडि बढिरह्यो । बेनी , गलेश्वर मन्दिर हुँदै अत्यन्तै जोखिमयुक्त ठाउँहरूमा जीवन समाप्तिको क्षणको कल्पना गर्दै अगाडि बढेका थियौँ हामी , बीचमा देखिएका सबै ठाउँ र गाउँको सम्झना रहेन तर नेपालको ठूलो गल्छी भनेर चिनिने काली गण्डकी नदीले बनाएको गल्छीका बारेमा नजिकै बसेका सर्लाहीका चौधरी दाइले बताए अनुसार यही ठाउँमा पोहोर साल जिप खसेर चौध जना यात्रूहरू बेपत्ता भएको खबरले मेरो आङ्ग जिरिङ्ग भयो । यसर्थ कि मृत्यु अकाट्य सत्य हो भनेर जान्दाजान्दै पनि मान्छे हरपल मृत्युदेखि डराउँदो रहेछ । काली गण्डकी नदीको विचित्र रूपले मनलाई कौतूहल बनाइ रहेको थियो । कुनै सिद्धहस्त कलाकारले कुँदेजस्ता शीलाहरू देख्दा यतिबेला मैले राष्ट्रकवि माधव घिमिरेलाई झलझली सम्झिरहेको थिएँ:
माछापुच्छे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा ! भन न कसरी कुँद्छ्यौ शालिग्राम
साँच्चै , कतै फुकेझैँ,कतै सुकेझैँ, कतै नवविवाहिता जोडी एकआपसमा हेर्दा लजाएर लुकेझैँ, यही नदीको आश्चर्यजनीत अनुभूतिलाई मनभरि सजाउँदै केही सजिलो बाटोको स्वाद पाएर हुँइकिरहेको जिपमा अगाडि बढियो , टुकुचे आइपुगिएछ । यो ठाउँ प्रति श्रद्धाले शिर झुकाएँ सुप्रसिद्ध कवि भूपी शेरचनलाई सम्झेर ।
ए जून!तेरोजस्तै पीडा मेरो पनि छ , फरक यतिमात्र हो तँ रोइस् भने शीत बन्छ म रोएँ भने गीत बन्छ ।
यसो सम्झिएँ यो सुदुर उत्तरको भूगोलमा बस्नेहरूको पीडा, यो अभावको जिन्दगी भोग्नेहरूको पीडा भूपीको पीडाजस्तै लाग्यो ।
मार्फाका मनलाई नै लोभ्याउने स्याउको दृश्यावलोकन गर्दै पाँच बजे हामी जोमसोम आइपुग्यौँ । बाबा! गाडीबाट झर्दा त तेजवान् गतिले बहिरहेको बतासले हुत्याउन पो थाल्यो । नेपथ्यको जोमसोमको बजारैमा बाह्र बजे हावा सरर भन्ने गीत सम्झिएँ । हावा त बाह्र बजे मात्रै होइन रहेछ । पाँच बजेको हावाले मन पनि सरर पो बनायो । हत्तपत्त झोलाबाट जाकेट र गलबन्दी झिकेर शरीर र टाउको लपेट्न थालेँ । आज कागबेनी पुग्ने बास बस्ने योजना अनुसार हामी हिँड्यौँ । हामीलाई साथ दिइरहेको थियो हावाले पनि । कागबेनीसम्म दुई घण्टाको बाटो भन्थे मुस्ताङ्गी दाजुभाइले । तीन घण्टा हिँड्दा पनि कागबेनीले हामीलाई स्वागत गरेन । लखतरान थियौँ हामी भोक, प्यास र थकाइले । पानीसम्म खाने ठाउँ भेटिएन । औषधि खानुपर्ने थियो । उपाय केही नभेटिएपछि काली गण्डकी नदीको धमिलो पानीलाई पनि पवित्र जल सम्झेर दुई अञ्जुली पानी खाएँ । सन्ध्याले बिस्तारै बिस्तारै हामीलाई जिस्काउँदै थिइन् । बाटाको केही
मेसो पाइएन । पूरै बगरै बगर मात्रै छ ।करिब आठ बज्नै लाग्यो । कतै पनि बत्तीको उज्यालोसम्म देखिएन । मन सारै आत्तिन थाल्यो । गोजीबाट मोबाइल झिकेँ । अस्ति भर्खर मुस्ताङ्ग घुमेर गएका
स्याङ्जाका एक जना सुशील भाइलाई फोन गरेँ र भनेँ हामी त हरायौँ कागबेनी त आउँदै आउँदैन भाइ उनले नआत्तिन भने र अब नजिकै एक्लेभट्टी भन्ने सानो बगरे बस्ती आउँछ, बसाइ किफायती पनि छ भन्ने कुराको जानकारी पनि गराए । फेरि अलिकति साहस बटुलेर हिँड्यौँ । एकलेभट्टी पुगिएछ । छिरिहालेँ एउटा होटलमा, होटल तिब्बतीयन रहेछ । गास र बासको व्यवस्था हुने नहुने कुरा सोधेँ । सकारात्मक जवाफ पाएपछि साथीहरू बोलाएँ मैले । कोठामा गएर बस्यौँ, हातमुख धोयौँ, कपडा फेर्यौँ । कोठाभरि नियाल्दा अनौठो लाग्यो ।काठमाडौँमा सिमेन्टका पर्खालभित्र बन्दी बनेर बसेको, काठैकाठले बनेको घर र त्यसभित्रको सुन्दर प्राकृतिक सजावट । आहा †कति राम्रो, कति रमाइलो ।भोकाएका हामी एकछिनपछि तल ओर्लियौँ खानाका लागि । खाना दिने एउटी बहिनी थिइन् सम्झना । त्यो हिमाली बगरमा पनि सम्झनाको प्राकृतिक सुन्दरतामा लोभिए साथीहरू । सम्झनाको सौन्दर्यले मभित्र गीत पो उमारिदियो ।
तिम्रो मुहार मनैभरि सजाएर बसेँ
आँखा तिमी जुधाउँदा लजाएर बसेँ
यस्तो लाग्यो तिमलाई देख्दा जूनै झरेजस्तो
यस्तो लाग्यो रित्तिएको मनै भरेजस्तो
औँला समाई सधैँभरि सँगै डुली राख
अजम्बरी फूलजस्तै सधैँ फुली राख ।
साँच्चै कुनै शिल्पकारले कुँदेको जीवित मूर्तिजस्तै लाग्यो । चानेचुने सौन्दर्य थिएन त्यहाँ । रमायौँ हामी असाध्यै, दिनभरिको दुख बिर्सियो । खाना खाइसक्दा अबेर ११ बजिसकेको थियो । शयन कक्षतिर लाग्यौँ र नयाँ अनुभूतिसँगैकतिबेला निदाइयो थाहैभएन ।
बिहान सात बजे हातमुख धोएर कागबेनीका लागि हिँड्यौँ । एक घण्टा हिँडेपछि कागबेनी पुगियो । साथी चक्र र म पितृकर्मका लागि नदी किनारमा रहेको देवालयतर्फ लाग्यौँ । मुक्तिनाथबाट झरेकी गण्डकी र दामोदर कुण्डबाट आएकी काली नदीको सङ्गम रहेछ त्यो ठाउँ । नुहाइधुवाइ गरी एकजना पण्डित खोज्यौँ र पितृकर्म गरियो । त्यहाँको सम्झनास्वरूप पण्डितजीले एकएक ओटा शालिग्राम उपहार दिनुभयो । हामी फेरि नौ बजेतिर मुक्तिनाथतर्फउक्लिन थाल्यौँ । अब दुई तीन घण्टामा मुक्तिनाथ पुगिएला अनि उतै खाउँला भनेका थियौँ । यही अभिलाषा बोकेर बाटो छोट्याउन थाल्यौँ । मुस्ताङ्गी माटोमा पदचाप राख्दै साँचोमा राखेर मिलाएजस्ता चुचुरा र डाँडाहरूतर्फनजर डुलाउँदै निरन्तर उक्लिरहेका थियौँ । यस्तो अनुपम सौन्दर्यमा बग्दै गर्दा मनमा अनेकन प्रश्न जन्मिए । हामीले माल पाएर के गर्नु , चाल नपाएको जस्तो लाग्यो । कतै नाङ्गा डाँडाहरू,कतै टुँडिखेलभन्दा ठुला मैदानी क्षेत्रहरू, कतै स्याउका बगैँचाहरू,हामी अलिअलि हिउँ र बादलहरूसँग खेल्दै प्रफुल्लित मुद्रामा थकाइ र प्यास बिर्सेर हिँडिरहेका थियौँ हामीहरू । बाटो निकै लामो र अत्यासलाग्दो रहेछ । बीचबीचमा स्याउका दाना किनेर टोक्दै कहिले बिस्कुट र पानीले मुख मिठ्याउँदै उकालो र तेर्सो बाटो लागिरह्यौँ लागिरह्यौँ । यस्तो लाग्यो पुलिस देखेर चोर भागेजस्तै हाम्रो पनि गन्तव्य भागिरहेको छ । चिसो चिसो हावासँगै हिमाली डाँडाहरू बीचबाट बगिरहेका हामी करिब छ घण्टा लामो हिँडाइपछि बल्ल मुक्तिनाथ मन्दिर परिसरमा पुग्यौँ ।
बिहान एकपटक नुहाइ सकेका हुनाले र असाध्यै चिसो पानी भएकाले मुक्तिनाथका १०८ धारामा नुहाउन हामीलाई हिम्मत आएन । शरीरमा जलसिञ्चन मात्र गर्यौँ र भित्र पस्यौँ । भगवान विष्णुको प्रतिमूर्ति रहेछ । पुजारीबाट टीकाप्रसाद ग्रहण गर्यौँ । मन्दिरभित्र अखण्ड दीप बलिरहँदो रहेछ र एकजना आनी पनि बस्दा रहेछन् त्यहाँ ।अचम्म लाग्यो, हिन्दूहरूले मान्ने गरेको विष्णु भगवानको मन्दिरभित्र बौद्ध धर्म मान्नेहरूको सुन्दर समीश्रण! यहाँको वरिपरिको वातावरण देख्दा मलाई यस्तो अनुभूति भयो , कसैले स्वर्गका मिठा कुरा गर्दै इन्द्रको नन्दन बगैँचाको कुरा गर्लान् । स्वर्ग कहाँ छ, मैले देखेको छैन । मोक्ष कस्तो हुन्छ, मलाई थाहा छैन । मलाई चित्रगुप्तको बहीखातादेखि पनि कत्ति डर लाग्दैन किनकि म स्वर्गमै जन्मिएको छु । हामी स्वर्गमै जन्मिएका छौँ । हाम्रो स्वर्गमा पनि कोटिकोटि देवताहरू छन् । बख्खु, टोपी र धोती लगाएका मजेत्रो, पाउजु र मेहेन्दी लगाएका देउता यहीँ हाम्रै माटोमा छन् । फूलको आँखामा फूलै संसार भनेजस्तै प्राकृतिक, सांस्कृतिक र सामाजिक सुन्दरतालाई हेर्ने मन पनि सुन्दर हुनैपर्दो रहेछ । नेपाली मनभित्र पनि सुन्दर छटा बोकेर बुद्धकालीन सभ्यताका साथ उभिएको यो ठाउँ , देश हेर्ने सुन्दर ऐना पनि रहेछ ।
केहीबेर पछि होटल खोजेर पेटपूजा गर्यौँ सागको तरकारीसँग । असाध्यै मिठो लाग्यो । एक पाइला हिँड्न सक्ने अवस्था थिएन जोमसोमसम्म गाडीमा फर्कने निधो गरी टिकट काटी गाडी चढ्यौँ । बीच बाटोमा आउँदा एउटा ट्याक्टर बिग्रिएर बाटो नै बन्द गरिदियो ।केहीबेर पछि जोमसोमबाट आएको जिपमा साटियौँ हामी । छ बजे धुलाम्मे बाटोमा हल्लिदै जोमसोम झरियो । त्यहाँ नबसी मार्फामा गएर बास बस्ने योजना बनायौँ । साँझ पर्न थालेको भएपनि फेरि हिँड्यौँ। वास्तवमा मार्फा गएर बस्ने हामीले गलत निर्णय गरेका रहेछौँ । त्यो अपरिचित भूगोलमा काली गण्डकीको तिरैतिर हिँड्नु कम जोखिमको कुरा थिएन । राति नौ बजे मार्फा त पुग्यौँ तर सबै होटल र लजहरू अत्यधिक चिसोका कारण बन्द भैसक्दा रहेछन् । एउटा होटल त बल्लबल्ल भेटायौँ तर त्यहाँ सहज आतिथ्यता र स्वादिलो भोजन पनि भएन । हुन त यात्रा सधैँ एकनासको कहाँ हुन्छ र ? अर्को दिन त्यहाँबाट नमिठो अनुभवसँगै कतै हिँड्दै र कतै गुड्दै राति अबेर पोखरा आइपुगियो र यो भौतिक शरीरलाई विश्रान्ति दिइयो । भोलिपल्ट झिसमिसेमै गाडी चढियो काठमाडौँका लागि अनि दुई बजे काठमाडौँ झर्यौँ मनभरि मुस्ताङ्गी अनुभवका सम्झना बोकेर ……. आहा ती बिर्सनै नसकिने पात्र, बिर्सनै नसकिने सौन्दर्य…………
लेखक परिचय
नियात्राकार पौडेल यात्राका क्रममा देखे भोगेका विषयलाई शब्दमा उतार्न र पाठकलाई यात्रामै सामेल भएको अनुभूती दिलाउन सफल मानिन्छन् ।