मुनाराज शेर्मा
समुद्र छेऊसम्म
घरैमुन्तिरको कचन कवल नहेरी जिन्दगानी सिद्धि जान्छ की भनेर खुब ऐठन हुन्थ्यो । यो पाली साइतै नहेरी पुगियो । खास गरेर कृष्ण बराल दाई र मैले ‘फुर्सदमा स्थानीय क्षेत्र घुम्ने प्रबोधीकरण गर्ने’ भन्ने दुई सदस्यीय घुमन्ते सिद्धान्त प्रतिपादन गरे पछि को यो तेस्रो भिजिट हो । मुनाराज शेर्मा
अन्ठाउन्न मिटर कति नै अग्लो होर ! तथापि यो करिब छ बाँस अग्लो होला । अग्लाईको अनुमान यसको नाप्ने साधनले पनि धेरै फरक पार्दो रहेछ । अन्ठाउन्न मिटरको अग्लो भिरबाट उधोँ हेर्दा त उस्तैको दिमाग कति चियूव हुँदो हो । मूत्रनलीको तन्तु टुप्पीमा पुग्यो जस्तो होला । त्यति अग्लो ठाउँबाट भारत हेरेर फर्केको हामी म, कृष्ण बराल दाई र देवकुमारी शेर्मा । त्यहाँ समुद्र थियो त, भारतीय बलमिच्याईको समुद्र । दशगजा देखि करिब दुई सय मिटर भित्र निर्माण गरेको मेची नदीमाथिको बृहत पुल र पुरानो रेलवे लाइन पुल चाहिँ सन २०१६ मा निर्माण सम्पन्न गरेको थियो सूचना बोर्डले बताउँथ्यो । अन्तराष्ट्रिय सन्धी सम्झौतामा सिमानाबाट करीब दश कि.मी. परमात्र यस्ता स्थायी निर्माणहरू बनाउँनु पाइने प्रावधानको खण्डीकरण हेरेर आइयो । अब त्यो पानी हाम्रो थिएन । सँगै जोडिएर अनन्त फैलिएको जमिन पनि हाम्रो थिएन । विशाल निलो आकाश पर–परसम्म हेरेर घुर्यौं । च्वाट्टै सकिनु सिद्धिनु यस्तै रहेछ । मुनाराज शेर्मा
भद्रपुर केचना सडक
चाराली देखि नै शुरू हुन्छ यो ४० फिटे फोरलेन, धुलाम्मे सडक । कृष्ण सिटौलाले पटक पटक चुनाव जिते पनि सडक नबनेको भनेर पछिल्लो संसदीय चुनावमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । यात्रुहरूले यो मार्गलाई यहि प्रतिकको रूपमा लिन्छन् । चाराली दुहागढी क्षेत्रमा औद्योगिक क्षेत्र भएकाले ‘ओभर लोडेड हेभी’ सवारी साधन गुड्छ । सडकहरू सधैँ मुसाले खाएको झुत्रो लुगा जस्तो हुन्छ । त्यै सडक चन्द्रगढी विमानस्थल जाने हतारोमा कुद्ने सडक हो । यो चुनावको मध्यदेखि चौडाइमा बन्न शुरू भएको हो । गत निर्वाचनमा म आधा रातमा मतपेटिका बुझाएर फर्कँदा धुलोले निसासिएर ऐठन भएको छु । प्रायः आजकल यात्रुहरू यो सडकलाई कुहिरोको नरक यात्रा भन्छन् । हुन सक्छ यो सडकले फेरि नेताहरूको लङ्की लाउने खेलको सामना गरिरहेको होला । पहिले पनि कति वटा पल्सर बाइक पिसी मागेको भनेर नबनेको हल्ला हिमालको चिसो स्याँठ भन्दा तिखो बनेर हामीलाई बिझेको हो । विकासमा हाम्रो कमजोर स्वार्थी मानसिकता पनि जिम्मेवार छ । अर्को हाम्रो नेताहरूको दिमाग नै काइते छ । आफू र आफ्नो पार्टी, गुट भन्दा पर पनि धेरै असल चिज छ, असल मान्छे छ, भन्ने नै बिर्षेका छ्न् । त्यै धुले सडक प्रयोग गरियो । बचपनमा जिपको पछि धुलो खाँदै कुदेको सम्झना ताजा भयो । यो धर्तीको कञ्चन माटो भनेर ग्रहण गरियो ।
महेशपुरको सौदर्य
महेशपुर पुग्न मृत सहर भद्रपुर छोडेर जानु पर्यो नै । भद्रपुरको ठाडो बाटो उबडखाबड सदियौंदेखि धुलोले पुरिएको अपहेलित निम्जो जस्तो घर बुट्यानहरू काटेर महेशपुरपुग्नु अघि बिचको समसानघाट सहितको खोला किनारको फाँट बिछट्ट सुन्दर छ । अति उर्वर भूमि तोरीको सुनौलो फुलको मनमोहक फाँट । सडक बजार क्षेत्रमा केही किलोमिटर कालोपत्रे गरिएको छेउमा पक्की ढल साथमा सडक पेटी पनि । तर ढलको ढकनहरू बेवास्ता पूर्वक पिन्दाङ पारेर पल्टिरहेको । सफा सुन्दर घरहरू ,फूलबारीमा फूलहरू फुलिरहेको , बच्चाहरू विद्यालयबाट हर्षित अनुहारमा फर्किरहेको दृश्यले मन त्यसै शान्त हुने । महेशपुर छोडेर उधो लागेपछि निर्माणाधिन कजवेहरू पुलहरू पनि आउँछन् । सडक भन्दा चौडाइमा आधा छोटो पुल कजवे देख्दा सडकमा दुर्घटना निम्तिने सम्भावना प्रवल देखिन्छ । हाम्रो इन्जिनियरिङ्ग किन यति लघुताभाष राख्छ थाह छैन ।
दक्षिणी भेगका धेरै विद्यालय अपरान्हमा पनि विद्यालय खुल्नु अचम्म हुन्छ सुनिन्छ । सिमाना छेऊकै विद्यालयमा भने आठ दश बच्चा विद्यालयमा खेलिरहेका थिए । अलि उभोका कुनै विद्यालयमा भने पढाई भइरहेको थियो । कुनै सुनसान थियो, सायद विदा थियो होला । म भने बाह्र दिने जाडो विदामा थिएँ । मुनाराज शेर्मा
मधेसको चित्र
घरबाट निक्लदाँ नै बाह्र बजेको थियो । व्यबहारिक झञ्झट माकुराको जाल जस्तो पन्छाई नसक्नुको हुन्छ । फुक्का जीवन मानिसले सोचेर हुनै सक्दैन रहेछ । कृष्ण दाईको ट्याङ्की चुहिने बाइक तीसको गतिमा छ । म पछाडि खेदिरहेको छु, अल्छि लाग्दो तरीकाले । उनले मधेस नजाउँ त्यत्ति रमणीय छैन भनेकै हुन् । रमणीयता भन्दा मधेशको दुःखको अनुभूति र त्यहाँको साँस्कृतिक लगायत विविध पक्षको अवलोकन हाम्रो चैतनिक बिषय हुन सक्छ । दशकौंदेखि राज्यले पनि मधेस उराठ लाग्दो बनाउँन हरतरहले सहयोग गर्यो । मधेश आन्दोलन उठाउँनेहरूले पनि त्यहाँको कुरीति कुसंस्कारको खुलेरै बिरोध गरेनन् । मात्रै केन्द्रिय साशकीय सत्ताको खोइरो खने । यसो गर्दा भोट गुम्छ, आफैले सामन्त सत्ताबाट झर्नुपर्छ भन्ने संकीर्ण मानसिकताले मधेश आन्दोलन पछिको निभेको भुङ्ग्रो जस्तो मात्र भयो । उनीहरूले समाज सुधारको
अग्रगमनको बाटो कहिल्यै लिएनन् । नेताहरू खुलेआम आफू सामन्त वर्गको डिङ हाक्छन् । तमसुक प्रथाले मधेसको आर्थिक पक्षको मुल सातो लिएको छ । सरकार चुपचाप छ । संघीय सरकार यो प्रथा बिरूद्धमा कुनै कार्यक्रम ल्याउँदैन । बोक्सी, हरूवा,चरूवा, कमलरी, कमैया, दाइजो, छुवाछुत आदि प्रथाहरू सामन्त वर्गको अवशेष हो । जो मधेसमा सुनखानी जस्तो हाइहाइ छ । खुल्ला सिमाना र भारतीय हस्तक्षेपले पनि त्यहाँको जनजीवन हामीले सोचेजस्तो भएन । मानसिकतामा परिवर्तन ल्याउँन खास गरेर शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । मधेसीहरू घरमा मातृभाषा बोल्छन् साथै मैथिल, भोजपुरी । विद्यालयमा खस भाषा । यो भाषिक अन्तरले पनि मधेसमा राज्यले भनेको चेतनाहरू कम प्रवेश गर्यो । वैपरित्य संस्कारको आपसी टकराव हुन्छ । राज्यले भनेको सभ्यता र मधेषको सभ्यताको अन्तर्द्वन्द्व भयो । सभ्यताको द्वन्द्वले कुनै निर्दिष्ट निर्देशित सभ्यताको निर्माण हुँदैन । प्रकृतिले पनि मधेसलाई पहाडमा जस्तो विविधता दिएन । कुनै नगदे बालीको विविधता मधेसमा पहाडको तुलनामा कम छ । हामी पुग्दा मानिसहरू बाक्लो गुजुक्क पाराको बस्तीमा परम्परागत पहिरनमा गल्लीमा यत्रतत्र थिए । मुनाराज शेर्मा
पहाडको कुना कुनामा ग्यासको सिलिण्डर पुगी सक्दा पनि त्यहाँ गुईँठाको पहाड थियो । लामो लामो सन्ठीमा गोबर बेरेर बनाएको गुईँठाको कलात्मक सजावट थियो । महिलाहरू गोबर बटुल्न चौर चहारिरहेका थिए । सन्ठी बीटामा बोकेर सुन्दरीहरू खेतबाट घर गइरहेका थिए । कुनै सुन्दरी ग्यास साइकलमा बोकेर घर हिडेको देखिएन । बरू बाक्लो बस्ती बिच घुम्टो ओडेर बसिरहेका महिलाहरू देखिन्थ्यो । यसबाट के देखिन्छ भने उनिहरू आफ्नो परम्परा र संस्कार त धानीरहेका छन् तर आधुनिक बन्न सकिरहेका छैनन् । अहिले मधेसलाई चाहिएको अधिकार र चेतना हो । गोबरलाई बिना सन्ठी जिउँने अधिकार छैन मधेसमा । तब उत्पादन सोचे जस्तो हुँदैन नै । धानका कुनिऊहरू भने अग्लो ठाउँतिर खास गरि सडकको किनारमा बाक्लै लहरै थियो । जुन पहाडमा कम हुन्छ । सायद पानी परी हाल्यो भने डुबेर बिग्रने डरले भयभित थिए उनीहरू । सोलुखुम्बु ,भोजपुरको कुना कुनातिर समेत पुगेको अटो र टेम्पु खासै देखिएन मधेसमा प्राय साइकलमै हुईकिरहेका थिए उनीहरू । टिप्पर भने खेतको धान काटेको ठुटे बोट पेल्दै दौडिरहेको थियो ।
मधेसमा नगदेवाली
चौडा सडक छेउमा गहिरो नाली छ। नालीमा चिस्यान भएकोले धानको बिऊ राखेका छन् । कतै एक दुई गह्रा बैगुन फुल्ने बैसमा छ । अलि भूई चिसो भएतिर मकै हरियो भएर घोगाको आशा किसानलाई समर्पण गरिरहेको छ । झुलले बारेर साग, मुला, आलु, धनियाँ थोरै थोरै रोपेका छन् । धनियाँ फुलिसकेछ । मसला बनाउँन होला । हरियो धनियाँ खाएको भए कति फाइदा हुन्थ्यो ज्यानमा । एक दुई खेप सिलौटामा दलेर अचार खाए होलान् । तर आफ्नै र अर्को राज्यले उनीहरूलाई कतिपल्ट दमनको सिलौटामा दलिसक्यो, पिल्सिएर बाँचेको अनुभव छ । बोर्डर हो यो , जताको पनि दलन सिलौटामा लोहोरो जतासुकै कुदे जस्तो । धनियाँको गेडा तेलमा पढ्काएर सुगन्ध लिदै साटो फेर्ने अव्यक्त इख होला उनीहरूको । मान्छेमा उद्देश्यमाथि उद्देश्य थपिन्छ तर खास उद्देश्य छोडिन्छ । केरा खेती अर्को आकर्षण रहेछ मधेसमा । सुख्खा जमिनमा केराको लिखुरे बिरूवामा ट्रयाक्टर रोकेर मल हालिरहेका थिए दशगजा पारि पटि । वारिपटि लिखुरे लुइरे केराको बोटले कमसल घरी झुण्ड्याई रहेको थियो सिमानाको पिलन्धरे नेपाली जस्तो । तथापि कुनै खेती अलि बृहत रूपमा गरेको पाइएन । साना साना पोखरीहरू थिए । एउटा पोखरीको किनार चै पौवाको साधुटार जस्तो सुन्दर थियो । डिलमा ठूलो घुम जस्तो सानो लिखे छाप्रो थियो । मछुवारको रूङ्गालु कटेरो रहेछ । पाडाहरू वरीपरी चरीरहेका थिए । मैले टाँड मुनि छिरेर सेल्फी लिएँ । देवुले एक दुई सट फोटो खिचिदिइन् । मुनाराज शेर्मा
मलाई ‘द वोल्ड म्यान एण्ड दि सी’ को याद आयो । यो सानो डाँडा र किनारको चउरलाई प्रोमोट गर्दै पनि कति आन्तरिक पर्यटक आउँछन् । मधेसलाई यस्तो अक्कल छैन । गोबर सोर्नु , गुइठा बनाउँनु , छुवाछुत मान्नु, घुम्टो ओढ्नु ,सन्ठी जम्मा पार्नु पर्याय भयो । वर्षामा डुबाउ हुन्छ । कतिखेर पारिका तस्कर र विएसएफ आउँने हो त्रास छ । उठ्नै मान्दैन मधेस । उठ्नै सक्दैन मधेस । यो पोखरी कचन कवल नजिकै छ । त्यसै पनि नाम चलेको ठाउँ । माल पाएर मालको कमाल कहिले गर्छ मधेस ? हामीसँग अघि पछि गर्दै साइकलमा ठूलो सिलाभरे भड्डुमा माछा बोकेर मछुवार अनवरत पाइडल मारिरहयो उभो सहरतिर हामीले त्यताको लोकल माछा ल्याउँन खोज्यौं तर बोक्न गाह्रो हुँदा छोडी दियौं । मधेस साइकलमै छ । कति दुःख गर्छ मधेस । आफू हिलोमा डुबेर भएपनि ताजा माछा ख्वाउँछ देशलाई । हाँसहरू स–सानो पोखरीबाट पखेटा फट्फटाउँदै गोरेटोमा निक्लिरहेका थिए । मधेसले हाँस नै लार्ज स्केलमा पाल्दा हुने । आर्थिक चाला टुहुरे नै छ । कतै हाँस पाइन्छ कि सस्तोमा भनेर कोसिस गरियो । काम लागेन । जाडोमा हाँसको परिकार स्वादिस्ट नै हुन्छ । मन त्यसै अपुरो रहयो । अलिक हिक्मत राखेर फुक्काफाल हुन खोजेको मधेस तर खासमा खुल्नै सकिराखेको छैन मधेस । भने जस्तो छ्याङ्ग घुम्टो उघार्नै सकिराखेको छैन मधेस । मुनाराज शेर्मा
कचन कवलको स्पर्श
पाँच बिघा आठ कट्ठामा फैलिएको कचन कवल सुनसान छ । कचन कवल स्तम्भको रेलिङहरू भाँचेर लडेको छ, छरपष्ट छ । बेवारिसे माया लाग्दो छ । दुईटा वरपरका गेट उभेको छ ह्वाङ्ग टाङ् फारेको जस्तो । स्तम्भको टुप्पो भाँचेको छ । स्तम्भ कछुवाको बेसमा उभेको छ । हेर्दा कछुवालाई विशाल लौरोले थिची राखेको जस्तो देखिन्छ, अई अई हुन्छ । वरीपरी बाख्रा, गाई चरन छ । अनकण्टार छ । कुनै पनि चहलपहल सुन्य ! होटल त कुरै छाडौ पानी खाने ठाउँ पनि छैन ।
बाटो चै कच्ची भएपनि पुगेछ । हामी बाइक हाँकेर हल्का धुलो उडाउँदै पुग्न आँटेको के थियौँ, एउटा रैथाने पछाडिबाट यस्तो हर्न बजाएर आयो सातवटा रेल जसरी । बिना हेलमेट त्यो बाइकरले पृथ्वी उचाल्ला जस्तो गरी हामीलाई ठोकाउला झैं गरी हुरी बतास सरी अलप भयो । पर्यटकहरूलाई गरिने यसखाले अररो व्यवहार पर्यटनमैत्री पक्कै होइन । मधेसमा मैत्रीवत व्यवहार खाँचो छ । कचन कवल गाउँ पालिकाले यसको स्तरोन्नतीको लागि गर्नु पर्ने धेरै देखियो । सम्बन्धित निकाय सरोकारवालाहरू कानमा गृजहालेर बसेका रहेछन् । घेराबारा सरसफाई प्रचारप्रसार सबैको आवश्यक छ । जति सम्झेर गइन्छ, त्यति नै निराश होइन्छ । तथापि पहिलेको भन्दा थोरै काम चै भएको रहेछ । हामीले हावा घरमा नेपालको होचो भूमी समुद्र सतहदेखी ५८ मिटर, क्षेत्रफल ५ बिघा ८ कट्ठा लेखेको आउँने गरी फोटो खिचियो । यो २०४४ सालमा राजा बिरेन्द्रले उद्घाटन गरी घोषणा गरिएको भन्ने छ । त्यसरी नै धनुषाको सहरनिया ५९ मि हो भनिन्छ । कचन कवल ६२.५ मि हो भनेर नारायण न्हुच्छे प्रधानले सन१९९६ मा फिनिडाको सहयोगमा नापी गरेको वकीपिडियाले भन्छ । सत्य के हो? गाह्रो भयो । दोधारमा छ हाम्रो तथ्याङ्कहरू सही के हो ? भन्नै चाहदैन पहिलो या दोस्रो होचो के हो लेख्नु प¥यो । कचन कवल अल्पसङ्ख्यक गनगाई जातिको बसोबास रहेको क्षेत्र पनि हो । अब ५८ मि कि ६२.५ मि समुद्र सतहदेखि कुन ठीक गुगल गर्दा अन्यौल हुन्छ ।
सिमानामा मेची नदीमा पुल
हामी बिहारको घना झुपडबस्ती हुँदै मेची नदीमा पुग्यौँ । सडक कङ्कृट थियो । भारतले नेपालको सिमानामा कङ्कृट सडक बनाउँछ । यस्तो सडक सन्दकपुर जाने सिंहलिला नेसनल पार्कमा पनि डाँडै डाँडा निर्माण गरेको छ । मेची नदीमा मछुवार जाल हानिरहेका थिए । केही भारतीय युवाहरू पौडी खेल्दै थिए । पानी पौडी खेल्न लायक भने थिएन । युवा हुँदा न जाडो, न फोहोरको वास्ता उमेरै अचम्म । मैले मेरै बचपन सम्झें पानी देख्नै हुँदैनथ्यो एक प्रकारको तनाव शुरू हुन्थ्यो पौडी नखेली नहुने । मैले कोशीमा समेत किनारमा पौडी खेलेको छु । अहिले सम्झदाँ झसङ्ग हुन्छु । एकफेर पहाड जाँदै गर्दा बाटोमा खोला देखेँ काकीलाई भनेर म पानीमा पसेँ तर पानी अति चिसो रहेछ । बिचमा पुगेर झण्डै कक्रिएँ माने हाइपर थर्मियाँ । जीवनमा जवानी हरेक पक्षहरूको परिक्षण मात्र गर्दैन प्रयोग गरिरहन्छ । उनीहरू लुगा फेरेर रेलवे पुल हेर्न गए । कृष्ण दाई बाइक स्टाट गरेर हिडिहालेकोले रेलवे पुल हेर्ने धोको अधुरै रह्यो ।
फोटो खिचेर फिरयौं । फिर्नु अघि स्थानीय मोहम्बदसँग भलाकुसारी ग¥यौं । उनी साइकलमा थिए । सेल्फी लिदैं गर्दा उनले हाम्रो प्रश्नको जवाफ दिएका थिए । भारत सरकारले पुल बनाउँन रोकेको दुई बर्ष भएको बताए । धेरै बर्ष पहिले त्यहाँ रेल आउँथ्यो अहिले आउँन छोडेको थाह भयो ।
अर्ग्यानिक बस्ती, रक्सी बार एण्ड रेष्टुरेण्ट
बोडर्रकै छेऊमा गुल्जार बस्ती छ । पारी पटी पनि त्यस्तै बस्ती । बिचमा सानो होली त्यै रछ बोडर, बस्तीको बिचमा नागबेली गल्ली । गल्ली कुनै सिनेमाको अर्ग्यानिक दृश्यजस्तो । लोकल सुगन्धले पोतिएको । पुरानो पृय धोतीको सप्कोले आंशिक रूपमा छोपेका मुजा परेका स्याम वर्णका घाम पर्खिरहेका चेहराहरू । झोलिएका पाखुरामा गुदना लोकल निलो ट्याटुहरू, कतै कल चलाइ रहेका कतै भक्का, कतै प्याजी पोलिरहेको सडक भरी परालका असरल्ल त्यान्द्राहरू बाँसका पोहोर परारका सड्न तयार झिक्राहरू । नवयौवनाहरू पहेलो हरियो कुर्ता सुरूवालमा सजिएका, नथिया लगाएका केही घरायसी व्यस्ततामा अल्झिएका । हतारमा कुदिरहेको हाँस कुखुराहरू गोबरको हार मिलाएको गुइठाहरू । गल्लीको पल्लो डिलमा किला गाडिएर लामो पगाहले गल्लीमा ढाट लाएर पासो थाप्दै वल्लो छेउमा झ्याउ लाग्ने गरी उग्राईरहेको गाईवस्तु, ताल पर्दा डोरी तन्काएर यात्रु पछार्ने सुरका गाईवस्तु । एकफेर बाइकले डोरी चुढायो । वरपर हेरेर टाप ठोकेँ । दोसोपटक ब्रेक गर्दा झण्डै चित खाइयो । बस्तीको बिचमा स्वदेसी विदेसी ब्राण्डका रक्सीले भरिएको भट्टी पसल । बिहारमा रक्सी पिउनु बेचबिखन ओसारपसार गर्नु सबै प्रकारका कृयाकलाप निषेध र दण्डनीय गरेपछि नेपालमा मदिरा कारोबार फस्टायो । तर खाएपछि यतै सुत्नु बस्नु पर्ने भएपछि मदिरा व्यापार पनि पहिले जस्तो उच्च बिन्दुमा छैन । निरासाजनक छ । मधेस सक्ने मदिरा पनि एउटा कारक हो त्यसकारण नेपालमा पनि मदिरा व्यवस्थापन जरूरी छ । निषेध त पक्कै अव्यवहारिक होला । मुनाराज शेर्मा
लेखक परिचय
कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।