के.बि. तुम्बापो (लिलिम)
करिब पन्ध्र वर्षपछि आफू हुर्किएको ठाउँ पुग्ने अवसर माई खोलामा आएको धमिलो बाढीले जुरायो । शिक्षक सेवा
आयोगको अन्तर्वार्ता दिई सकेर बिर्तामोडबाट एकाबिहानै तीन चार पोका झोलाहरू बाईकमा च्यापेर सन्तोष राई
सरसँग दानाबारी र कलकते जोड्ने भत्भतेको झोलुङ्गे पुल तरेर मैले बालापन बिताएको प्रिय ठाउँ महमाईको
बागेचौरी पुग्यौँ । राते खोला तरेपछि साबिक को ८ नम्बर वडा सुरु भयो। सरलाई बाईकको स्पिड कम गर्न भनेँ ।
बाटोको छाती तनक्क तन्किएर फराकिलो भएको रहेछ। असिना परे जस्तै बाटो सेताम्मे गरि बगरको रोडाले पुरिएको
रहेछन् । बिजुलीका पोलहरू सतर्क पोजिसनमा बाटोको छेउमा उभ्याइएका रहेछन् ।घर नजिकै पर्ने चैबिसे होलि
हलक्क बढे पछि छाती अलि चौडा भएको रहेछ । खेतमा एउटा ठूलो अग्लो सिमलको रुख थ्यो, अलिक बूढो भएको
रहेछ। गाउँका घरहरु बुट्टेदार भएछन्। मङगलबारे बजार तरुनी जस्तै हलक्क बढेको रहेछ।
सानोमा स्कुल जाँदा लुकि लुकि चोरेर खाने खिम्बा तामाङको आँगनमा लटरम्म झुन्डिएर उभिने ट्याङ्गाका बोटहरू
देखिएनन्। सानोमा स्कुल जाँदा बसेका चौतारी, चौतारीसँगै कन्या उभिएकी पिपलको रुख देखिएन ।बाटोको छाती
तन्काउदा डोजर हालेछन्। स्कुल छुट्टी भएपछी झोला बिसाएर चोरी खाने बयरका बोटहरू बाटो नजिक आई पुगेका
रहेछन् ।घरबाट भागेर साथीहरूसँग बल्छि खेल्न र पैया माछा समाउने साना साना होलिहरू तरुनो पुगेछन्।
धेरै कुराहरू थिएनन् ।भएकाहरू पनि सोचे जस्ता थिएनन्। के.बि. तुम्बापो (लिलिम)
चौबिसे होलि कटे पछि घर आइपुग्छ। बाइक स्लो मोसन मा छ। पन्ध्र वर्ष अघि छाडेको घर देख्नेबित्तिकै मन कस्तो
कस्तो भएर आयो। बालापन बिताएको आँगनले बालापनको थुप्रै घटनाहरू याद दिलायो।
काठको गाडी बनाएर भुक्के चप्पलको चक्का हालेर आँगन भरी कुदाउथ्यौँ । खोल्साका ढुङ्गाहरू भेला गरेर
भाडाकुट्टी त्यै आँगनमा खेल्थ्यौँ । बालापनमा खेत, कान्ला, खोल्साका ढुङगाहरू हाम्रा आफ्ना आफन्ती हुन्थे ।ढुङ्गा
कै पाहुनाहरू हुन्थे, ढुङ्गासँगै बिहे हुन्थ्यो । ढुङ्गा मै सिन्दुर हालिन्थ्यो । जन्ती, लोकन्दी सबै सबै ढुङ्गा नै हुन्थे
।आमाको मजेत्रो ओडेर ढुङ्गासँगै सुतिन्थ्यो। बिहेमा नेबाराको पातको एक छेउमा अलिकती बालुवा, एक छेउमा थोरै
माटो राखेर भोज खाएको अभिनय गरिन्थ्यो। केराको पात बटारेर पे….पे…. बजाउदै शहनाईको जस्तो आवाज
निकालिन्थ्यो । बिहे सकिन्थ्यो । बिहे सकिएपछी आ-आफ्नो घर गइन्थ्यो । भोलि पल्ट हुन हामी निदाएका
अभिनय गर्थ्यौँ र बिउँझेको अभिनय पछि हाम्रो उज्यालो हुन्थ्यो ।
सबै जनाले निदाएका अभिनय गरियो रात पर्यो ।बिउँझेको अभिनय गरियो उज्यालो भयो । मेरो बिहे सकियो ।
अहिले सम्झी ल्याउँछु मेरो बिहे त सानो मै भैसकेको रहेछ ।
आँगनकै डिलमा निबुवाको बोट थियो। साइँली खोर्सानी र नुन पिसेर दाँत कुडिने गरि खाइन्थ्यो । टाँडे घर थ्यो।
भुइ तला बारेको थिएन। त्यहीँ घरको खम्बामा छुट्टिको दिन दिनभरी डुम खेलिन्थ्यो। मूल घरको छेवैमा भान्सा घर
थियो । भान्साघरले हजुर आमाले अर्ग्यानिक कोदोको खोले पकाएर खुवाएको याद ताजा गरायो।घर उस्तै थियो ।"
आँगन त्यही थियो, बलेसी त्यहिँ थियो, खेत, कान्लाहरु तिनै थिए । थिएनौँ त केवल हामी । करिब पन्ध्र वर्ष अघि
बसाइँ सरिसकेको थियौँ । के.बि. तुम्बापो (लिलिम)
मलाई कता कता विरक्त लागेर आयो। केही केही बाहेक तिनै कुराहरू थिए जो मैले बालापन बिताउदा पनि थिए
।तर सबै फरक पनि थिए। मलाई सानोमा ती खेतका आलीहरू अग्ला अग्ला लाग्थे। नाग्न हम्मे हम्मे हुन्थ्यो।
खेतबारीका सिमानाहरू फराकिला लाग्थे। खेतको छेउमा सिमलको अग्लो रुख छ त्यसले आकाश नै छोएको जस्तो
लग्थ्यो। मेहेल्बोटे जेठा, देना माईला, आम्चोके जेठा, दिपा भाउजू, जय केरुङ दाजु, लकान्द्री बडा आदि छिमेकिहरू
रुख जतिकै अग्ला लाग्थे । अरू थु…….प्रै थु…..प्रै ठुला ठुला, अग्…..ला अग्……ला लाग्थे।
करिब पन्ध्र वर्ष पछि पुग्दा सबै कुराहरू धेरै फरक पाएँ। अग्लो लाग्ने खेतका आलिहरू, कान्लाहरू होचा भएछन्,
फराकिला लाग्ने खेतबारी का सिमानाहरू झन् झन् साँगुरा भएछन् सिमलको रुखले आकाश छोएको होइन रहेछ । म
पनि रुख जतिकै अग्ला लाग्ने छिमेकीहरू जत्रै पो भएछु।
बालापन बिताएको घर गाउँ छोडेको निकै पछि त्यहीँ ठाउँमा पुग्दा मनमा अनौठो रहर पलाउदो रहेछ। मनमा कता
कता त्यहीँ बालापन तिर फर्कन मन लाग्दो रहेछ।
सानोमा भोगेका, देखेका, महसुस गरेका कुराहरू समय सँगैसँगै बदलिँदै जाने रहेछन् ।सानोमा अ……ग्लो लागेका
कुराहरू आफ्नो उचाइ बढेसँगै बिस्तारै बिस्तारै सोचे भन्दा होचो हुँदा रहेछन् । फराकिला लागेका कुराहरू आफ्नो
छातीको चौडाइ बढेसँगै साँघुरो लाग्दो रहेछ ।सानोमा हेरेको आँखाले ठूलो भएपछि तिनै कुराहरू हेर्दा फरक देखिदो
रहेछ । के.बि. तुम्बापो (लिलिम)
लेखक परिचय
इलाम जिल्लाको माङ्सेबुङका तुम्बापो व्यक्तिगत भोगाइ र समसामयिक विषयबस्तुको उठान गरी सरल ढंगले प्रस्तुत गर्न माहिर लेखक हुन् । पेशाले शिक्षक उनी लेखनमा समयको चेतलाई केलाउँदै त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्षम देखिन्छन् ।